८ वैशाख २०८१ शनिबार
अर्थ

'भ्रष्टाचार कम गर्न सघाउ'

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणमा लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल चार्टर्ड एकान्टेन्ट संस्थाले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा खतिवडाले कुनै पनि सरकारी, गैरसरकारी तथा निजी कार्यालयको लेखा व्यवस्थित ढंगले गर्ने हो भने भ्रष्टाचार घट्ने बताए।

‘प्रविधिको उपलब्धता र नयाँ प्रविधिको प्रयोगले वित्तीय तथा आर्थिक अपराधमा नयाँ आयाम थपिएको छ,’ खतिवडाले भने, ‘लेखापरीक्षण गर्ने व्यक्तिले आचारसंहिता र नैतिकताको सीमा बिर्सिनु हुँदैन।’ हरेक पेसा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य–मान्यता बाहिरका काम गर्न नहुने उनले बताए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनले भ्रष्टाचार र जालसाजी नियन्त्रणमा लेखापरीक्षणको भूमिका हुने बताए। ‘भ्रष्टाचार समाजको विकास र सामाजिक रुपान्तरणका लागि चुनौतीपूर्ण छ,’ उनले भने। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले लेखा पद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्टले सघाउनुपर्ने बताए। लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुने धारणा राखे। ‘भ्रष्टाचार निवारणमा लेखापरीक्षकले सघाउन सक्छ,’ उनले भने, ‘त्यसका लािग व्यावसायिक र नैतिकको दायराभित्र बसेर काम गर्नुपर्छ।’

लेखापरीक्षकलाई आर्थिक अनियमितता लुकाउने गरी काम नगर्न उनले सुझाए। महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य–मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचार न्यूनीकरण हुने बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेसा र व्यवसायमा नैतिकता क्षयीकरण देखिएको बताए। ‘सदाचार प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने विषयमा सरकारलाई सहयोग गर्न तयार छौं,’ उनले भने।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले नेपालमा आर्थिक, सामाजिक, प्रशासनिक तथा कानुनी र राजनीतिक कारणहरुले भ्रष्टाचार बढाउन सहयोग बताए। ‘संसारभर कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म घुसबापत प्रयोग हुने गरेको छ,’ उनले भने, ‘भ्रष्टाचारले मानिसलाई गरिब बनाउने र जीवनस्तर कमजोर बताउँछ।’

अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले गलत काम र भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउन पारदर्शिता सबैभन्दा महत्वपूर्ण विषय हो,’ ढुंगानाले भने, ‘गलत गतिविधि बढ्दा अर्थतन्त्रमा असर पुग्छ।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समयमा काम नहुनु ठूलो भ्रष्टाचार भएको टिप्पणी गरे। ‘निजी क्षेत्रले भ्रष्टाचार बढाउन सहयोगी भूमिका खेलेको भन्ने कुरा आयो,’ उनले भने, ‘समयमा काम नहुनु झन् ठूलो भ्रष्टाचार हो।’ ढकालले अनुगमनकारी निकायको भूमिका प्रभावकारी हुनुपर्ने बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका उपाध्यक्ष मदनकुमार शर्माले लेखापरीक्षकले कानुन परिपालना गरेको बताए।

प्रकाशित: ७ पुस २०७६ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App