८ वैशाख २०८१ शनिबार
खेल

पाकिस्तान जितनजिक

कराची (एएफपी) – श्रीलंकाका ओपनर ओसदा फर्नान्डोको मेडन शतकका बावजुद शीर्ष चार ब्याट्सम्यानको शतकप्रेरित पाकिस्तान घरेलु मैदानमा जारी दोस्रो टेस्टमा जितनजिक पुगेको छ।

कराचीमा जारी टेस्टमा ४ सय ७६ रनको लक्ष्य पछ्याएको श्रीलंका एक समय ९७–५ विकेटको नाजुक अवस्थामा हुँदा ओसादा र निरोसन डिकवेलाले शतकीय साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए। यो जोडीले छैटौं विकेटका लागि १ सय ६ रनको साझेदारी गरेको थियो। तर, आइतबार चौथो दिन समाप्त हुन तीन ओभर बाँकी छँदा डिकवेला पवेलियन फर्किएपछि श्रीलंकाको इनिङ कमजोर बन्न पुग्यो।

स्पिनर हेरिस सोहेलको बलमा रिभर्स स्विप प्रहार गर्ने चक्करमा डिकवेला क्लिन बोल्ड भएका थिए। ११ चौकाको मद्दतमा डिकवेलाले ६५ रनको योगदान दिए। त्यसपछि ब्याटिङ गर्न आएका दिलरुवान परेरा ५ रनमै पवेलियन फर्किएपछि श्रीलंका हारको संघारमा पुगेको हो। परेरालाई पाकिस्तानी युवा बलर नसिम साहले विकेटककिपर मोहम्मद रिजवानद्वारा क्याच गराएका थिए।

नसिमले तीन विकेट लिँदा ३१ रन खर्चिएका छन्। चौथो दिनको खेल सकिँदा श्रीलंका सात विकेटको क्षतिमा २ सय १२ रनको स्थितिमा छ। ओसिदा १ सय २ रनमा नटआउट छन्। अन्तिम दिन श्रीलंकाले तीन विकेट जोगाउँदै २ सय ६४ रन बनाउनुपर्नेछ। यता सोमबार पाकिस्तानलाई भने जितका लागि तीन विकेट आवश्यक छ। सन् २००९ मा श्रीलंका टोलीमाथि भएको आतकंवादी हमलापछि पाकिस्तान पहिलो पटक शृंखलानजिक पुगेको छ।

दोस्रो इनिङमा ५ सय ५५ रनमा तीन विकेट गुमाएपछि पाकिस्तानले इनिङ समाप्तिको घोषणा गर्दै श्रीलंकालाई ब्याटिङका लागि बोलाएको थियो। अजहर अलीले लयमा फर्किदै शतक बनाउँदा बाबर आजम १ सय रनमा नटआउट थिए। अलीले १ सय १८ रन बनाउँदा ओपनरद्वय सान मसुद १ सय ३५ रन र अबिद अलीले १ सय ७४ रनको योगदान दिएका थिए।

श्रीलंकाका ओपनर एवम् कप्तान दिमुथ करुनारत्ने १६ रनमा पवेलियन फर्किंदा लगत्तै कुशल मेन्डिस पनि डकआउट भए। एन्जेलो म्याथ्युज १९ रनमा आउट भएपछि चिया सत्रअगाडि नै श्रीलंकाको तीन विकेट पतन भएको थियो। त्यसपछि ओपनर ओसदा फर्नान्डोले एक छेउबाट इनिङ सम्हाल्दा अर्को छेउबाट श्रीलंकाको लगातार विकेट पतन भएको थियो।

प्रकाशित: ७ पुस २०७६ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App