coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्णालीमा जहाजबाटै लागुऔषध ओसारपसार !

लागुऔषधको अवस्थाका बारेमा जानकारी दिदै डिएसपी लालबहादुर धामी। तस्बिर : नागरिक

जुम्ला- कर्णाली राजमार्गबाट लुकिछिपि ओसारपसार भइरहेको लागुऔषध पछिल्लो समयमा हवाइ मार्गबाट पनि ओसार पसार भइरहेको पाइएको छ। यहि पुस २ गते  जुम्ला बिमानस्थलको टर्मिनल भवन भित्र प्रहरीले ६ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेपछि जहाजबाट पनि लागुऔषध ओसारपसार भइरहेको प्रमाणित भएको हो।

 तारा एयरको उडानमा सुन्तला र स्याम्पुको डिब्बामा बिर्को लगाइ कण्डमको टुक्रा भित्र लुकाएर ल्याइएको  लागुऔषध भेटिएको थियो।  कण्डमको टुक्रा भित्र ८ वटा कालो प्लाष्टिकको पुरीया बनाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले जानकारी दिए। उनले भने,‘जहाजबाट लागुऔषध ओसारपसार भइरहेको सुनेका थियौँ, तर प्रमाण नहुँदा भेटाएका थिएनौ। यो पटक विशेष सूचनाका आधारमा लागुऔषध नै भेटियो। अब जहाजमा पनि कडा निगरानी गछौँ। ’

जहाजमा लागुऔषध ओसारपसार गर्ने ब्यक्तिको नामा गोप्य राखेको प्रहरीले जनाएको छ। भिजिट कम्पनीका दुई जना कर्मचारी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ। स्याम्पुको डिब्बा भित्र ६ ग्राम लागु औषध थियो। त्यो कार्टुन भित्र १२ दाना सुन्तला, र साबुन पनि राखिएको थियो। यो संगै लागुऔषध ओसारपसार गर्ने नयाँ रुट पत्ता लागेको हो।

जुम्लामा आर्थिक बर्ष २०७३।०७४ मा लागुऔषधका ७ वटा मुद्धा चलेका थिए। गत आर्थिक वर्षमा ५ वटा मद्धा चलेका छन्। १० जना लागुऔषध कारोबार र सेवन गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा छन्।  चालु आर्थिक बर्षमा लागुऔषधका ३ वटा मुद्धा चलेका छन्। १० जना प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिरहेको छ।

लागुऔषध  प्रयोग, बिक्रि वितरण तथा ओसारपसारमा एक जना महिलालाई प्रतिवादी बनाएर मुद्धा चलाईएको डिएसपी धामी बताउँछन्। यहाँ १५ देखि माथि र ३० वर्ष मुनिका व्यक्तिले लागुऔषधको प्रयोग, विक्रि वितरण तथा ओसार पसार गर्ने गरेको प्रहरीले जनाएको छ।  अभिभावकले  आफ्ना छोराछोरी कस्तो संगत र रहन सहनमा छन् भन्ने कुरा समयमै ख्याल गर्न नसक्दा पछिल्लो पुस्ता बढी लागुऔषध दुर्व्यसनको सिकार बनि रहेको छ।

यहि पुस ६ गते जिल्ला प्रहरी कार्यालय जुम्लाले एकग्राम लागु औषधसहित एक नाबालक लगायत अन्य तीन जनालाई पक्राउ गर्‍यो। तिला गाउँपालिका ३ कुडारी सडक खण्डमा लागुऔषध ओसारपसार, विक्रि वितरण तथा सवन गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो।   उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप दश जना पत्ता लागेका छन्। उनीहरुको खोजी कार्य भइरहेको छ। फरार रहेका व्यक्तिलाई प्रहरीले खोजी कार्य जारी राखेकोले पक्राउ परेका नाबालकको गोपनियता कायम राख्नका लागि प्रहरीले नाम सार्वजनिक गरेको छैन्।

   भारतीय सिमानासगँ जोडिएको रुपैडिया नाका लागुऔषधको ओसार पसारको ट्रान्जिट प्वाईन्टका रुपमा प्रयोग हुने गरेको जुम्ला प्रहरी बताउँछ। रुपैडिया नाका प्रयोग गरि प्रयोगकर्ताले हवाइ तथा सडक मार्गबाट जुम्लामा लागुऔषध ओसार पसार गर्दे आएको डिएसपी धामी बताउँछन्।  गाँजा उत्पादन, तयारी, खरीद, विक्रि वितरण, निकासी वा पैठारी ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई पचास ग्रामसम्म भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन्छ। पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महिनादेखि एक वर्षसम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

  गाजाकै हकमा पाँच सय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए ६ महिना देखि दुई वर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दस हजार रुपैयाँसम्म जरिवाना तथा दुई किलोग्रामदेखि दस किलो ग्रामसम्मको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्ने ब्यवस्था छ।  अफिम, कोकिन वा सोबाट बनेका लागुऔषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गरि पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखी पच्चसी हजार रुपैयाँसम्म जरिवना, पच्चीस ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना, एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था रहेको डिएसपी धामी बताउँछन्।

 

प्रकाशित: ७ पुस २०७६ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App