७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुललाई पछि पार्छाैं : मेन्डी

बेन्जामिन मेन्डी(निलाे)

लन्डन (एएफपी) – म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्डीले शीर्ष टोली लिभरपुलसँग ११ अंकको दूरी भए पनि आफूहरूले इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यबाट पछि नहटेको प्रतिक्रिया दिएका छन्।

शनिबार प्रिमियर लिगअन्तर्गत घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले लेस्टर सिटीमाथि पुनरागमनमा ३–१ को सुखद नतिजा ल्याएको हो। यद्यपि लिभरपुलले लेस्टर सिटी र म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको छ।

लिभरपुलले जारी सिजन लिगका १७ मध्ये १६ खेलमा जित हात पारेको छ। तर मेन्डीले बक्सिङ डेमा लिभरपुलको सामना गर्दा दोस्रो स्थानको लेस्टरले आफूलाई उपाधि दाबेदारको रूपमा उभ्याउन सक्ने बताए।

‘पक्कै पनि। सक्दैनाैँ भने हामीले खेल्न छोड्दै अहिलेबाटै लिभरपुललाई प्रिमियर लिगको उपाधि सुम्पिए हुन्छ,’ के लिभरपुललाई अझै भेट्टाउन सकिन्छ भन्ने प्रश्नमा मेन्डीले भने, ‘हामीले सिजनको अन्तिमसम्म हार मान्नु हुँदैन। त्यसपछि मात्र के हुन्छ भन्न सकिन्छ। लेस्टर सिटी पनि राम्रो टोली हो। उनीहरूविरुद्ध खेल्न निकै कठिन हुन्छ। उनीहरूसँग राम्रा खेलाडी पनि छन्। उनीहरूले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। त्यसैले आशा छ उनीहरूले लिभरपुलविरुद्ध पनि जित हात पार्नेछन्। जसका कारण अंकदूरी घट्नेछ।’

‘म म्यानचेस्टर सिटीको खेलाडी हुँ, तर पनि लेस्टरले प्रिमियर लिगको उपाधि जितेमा मलाई कुनै गुनासो हुनेछैन,’ मेन्डीले थपे।

२२औं मिनेटमा जेमी भार्डेको गोलमा लेस्टरले अग्रता लिएका थियो। त्यसको ८ मिनेटपछि नै रियाद महारेजले सिटीलाई खेलमा फर्काएका थिए। मध्यान्तर हुनु २ मिनेट बाँकी हुँदा एल्के गुन्डोगानले पेनाल्टीको सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

६९औं मिनेटमा ग्याब्रिंयल जिजसले बललाई पोस्टको दिशा दिँदै सिटीको अग्रता ३–१ मा पु-याएका थिए।

सिटी ३८ अंकका साथ तेस्रो स्थानमा छ भने एक अंक बढी जोेडेको लेस्टर दोस्रो स्थानमा छ। लेस्टर र सिटी शीर्ष स्थानको लिभरपुलभन्दा क्रमशः १० र ११ अंकले पछि छन्। २९ अंकका साथ चेल्सी चौथो र २८ अंकका साथ सेफिल्ड युनाइडेड पाँचाैँ स्थानमा छ।

सिटीले यसै महिनाको सुरुआतमा म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडलाई २–१ को नतिजा सुम्पिएको थियो। तर लेस्टरविरुद्ध भने पेप ग्वार्डिओलाको टोलीले उत्कृष्ट प्रदर्शन गरेको हो।

सिटीले डिसेम्बर २७ मा उल्भरह्यामटन र त्यसको दुई दिनपछि सेफिल्ड युनाइटेडको सामना गर्नेछ । ‘हामीले जितको लयलाई निरन्तरता दिन महŒवपूर्ण छ,’ मेन्डीले भने, ‘प्रिमियर लिगमा हामीसँग सबेै खेलमा स्पष्ट ३ अंक जोड्नुको विकल्प छैन। हामीले गत सिजन पनि यसै समयमा धेरै अंक गुमाएका थियौं। त्यसैे यो हाम्रा लागि महत्वपूर्ण समय हो।’

प्रकाशित: ७ पुस २०७६ ०४:२६ सोमबार

बेन्जामिन_मेन्डी फुटबल