coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आठ वर्षमा पनि बनेन सिटीहल

दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सिटीहल। तस्बिर : रमेश/नागरिक

दोलखा – चरिकोटको सातदोबाटो चोकबाट मुख्य बजार क्षेत्र प्रवेश गरेर पशुपति डाँडा निस्किएपछि आइपुग्ने टुँडिखेलमुनि दायाँपट्टि पिलर उठाएर ढलान मात्र गरिएको एउटा ठूलो भवन देखिन्छ। झन्डै एक रोपनी क्षेत्रफलमा ठड्याइएको उक्त भवन देख्दा लाग्छ, ठुलै डिजाइनको बहुउपयोगी भवन बन्दैछ। नजिक पुगपछि देखिन्छ, ती पिलरको रडमा खिया लाग्न थालिसकेको छ। भुइँतलामा झारैझार उम्रिएका छन्।

सरकारले भवन विभागमार्फत आठ वर्षअघि उक्त सिटीहल बनाउन सुरु गरिएको हो। साढे दुई करोड लागतमा टेन्डर भएको सो हल अलपत्र पर्नुमा सरकार र ठेकेदार कम्पनी दुवै दोषी देखिन्छन्। चरिकोट बजारमा सिटीहल निर्माण गर्ने भनेर २०६८ सालमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धुलिखेलले यो भवनको टेन्डर निकालेको थियो। तत्कालीन जिविस सभापतिको सरकारी निवास रहेको यो स्थान खाली भएपछि जिविसले सिटीहल निर्माणका लागि यही ठाउँ उपलब्ध गराएको थियो।

त्यतिबेला सरकारी भवन निर्माण तथा रेखदेखको काम धुलिखेलमा रहेको डिभिजनले नै हेथ्र्यो। यो सिटीहल निर्माणका लागि रौताहा, ओमबुद्ध, सुन्दरीमाई निर्माण सेवा गरेर तीनवटा ठेकेदार कम्पनीले साझेदारीमा दुई करोड ५४ लाख रुपैयाँमा ठेक्का पायो। पाँच सयजना अटाउने क्षमताको यो हल सुरुमा ठेकेदार कम्पनीले दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता विभागसँग गरेको थियो। तर ठेकेदारले काम नसकेपछि दुईपटकसम्म म्याद थप भयो।

२०७२ सालमा भूकम्प गएपछि चरिकोटमै सहरी विकास तथा भवन डिभिजन कार्यालय स्थापना भयो। उक्त डिभिजन मातहत आएको यो हलको ठेकेदार कम्पनीले काम नगरेपछि कारबाहीस्वरूप विभागले उसलाई हर्जना तिराएको थियो। कारबाही थालेपछि ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरेको थियो। मुलुक संघीयतामा गएपछि यो सिटीहलले गति लिने आशा थियो तर झन् अलपत्र प¥यो। भवन विभागअन्तर्गतका निकायहरू फेरबदल हुने क्रममा चरिकोटबाट सहरी विकास तथा भवन डिभिजनको कार्यालय उठ्यो। सिटीहल कुन अड्डामातहत आउने भन्ने अन्योल भयो।

गत वर्ष विभागले रामेछापको मन्थलीमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक हेर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय स्थापना ग¥यो। यो सिटी हल उक्त कार्यालयमातहत त ल्याइयो तर यसको बाँकी काम के हुन्छ भनेर कार्यालय नै नाजवाफ छ। ‘त्यहाँको पुरानो ठेकेदारले पुरानो भुक्तानी पाउन सकेको रहेनछ,’ कार्यालयका प्रमुख अमरबहादुर थापाले भने, ‘उसलाई सीधै भुक्तानी दिन समयावधि सकिएकाले म्याद थप गर्नुपर्छ, त्यसैले पुरानो भुक्तानी र अबको बाँकी काम कसरी गर्ने भन्नेबारे माथिल्लो निकायसँग समन्वय गरिरहेका छौं।’ थापाका अनुसार सुरुमा टेन्डर हुँदा पुरै हलको नभई अहिलेको जस्तै ढलान र पिलर उठाएर पूर्वाधार खडा गर्ने ठेक्का मात्र लागेको थियो।

अब पुरानो कामको फरफारक गरिसकेपछि मात्र हलको संरचना निर्माण गर्ने बाँकी कामका लागि नयाँ ठेक्का लगाइनुपर्ने आयोजना कार्यालयका प्रमुख थापाले जानकारी दिए। ठेकेदार कम्पनीका प्रतिनिधि रामकृष्ण खड्काले आफूले ९० प्रतिशत काम गरे पनि कार्यालयको संरचना फेरबदल भएका कारण भुक्तानी नपाएको गुनासो गरे। ‘भुक्तानीको प्रक्रियाका लागि विभाग धाइरहेको छु,’ खड्काले भने, ‘भुक्तानी प्रक्रियासँगै बाँकी सानातिना काम सिध्याउँछु।’

पुरानो ठेकेदार कम्पनीसँगका कामहरू फरफारक गरेर तत्कालै हलको बाँकी संरचना निर्माणका लागि टेन्डर निकाल्न स्थानीयले माग गरेका छन्। ‘डन्डीमा खिया लागिसकेको छ, सदरमुकामको मुटुमा सरकारी सम्पत्ति अलपत्र परेको छ,’ भीमेश्वर नगरपालिका–३ चरिकोटका वडाध्यक्ष हरिशरण शिवाकोटीले भने, ‘त्यसैले पुरानो काम टुंग्याएर तत्काल बजेट व्यवस्था गरी सिटीहलको काम अगाडि बढाउन केन्द्र सरकारसँग जोडदार माग गर्छाैं।’

चरिकोटमा ठूलाखाले सार्वजनिक सभा–समारोह गर्न हलको व्यवस्था छैन। ‘राम्ररी दुई सयजना अट्ने हल पनि छैन,’ शिवाकोटीले भने, ‘कमसेकम यसको निर्माण कार्य अगाडि बढाउन पाए केही सहज त हुन्थ्यो होला।’ हल अभावका कारण भूकम्पका बेला सामूहिक आश्रयस्थलका रूपमा दातृ निकायले सिमपानीमा बनाइदिएको हलमा सभा–समारोह आयोजना हुँदै आइरहेको छ। यो हलको क्षमतासमेत अधिकतम एक सय ८० देखि दुई सय छ। यस्तै चरिघ्यामा त्यति नै संख्यामा अट्ने एउटा निजी पार्टी प्यालेससमेत सार्वजनिक सभा–समारोहमा प्रयोग हुँदै आइरहेको छ। ससाना गोष्ठी र सेमिनार गर्न भीमेश्वर नगरपालिकाले आफ्नो कार्यालयमा ७० जना अट्ने क्षमताको हल निर्माण गरे पनि ठूला सभासम्मेलनलाई अभाव सधैं झेल्नुपरेको स्थानीय अगुवाले बताउँदै आएका छन्।

प्रकाशित: ७ पुस २०७६ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App