coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शितलहरले हवाई उडान ठप्प

विराटनगर- शितलहर चलेर  बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको  हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।

हुस्सुका कारण विराटनगर विमानस्थलको भिजिविलिटी न्यून भएकाले आइतबार हवाई सेवा ठप्प भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबारदेखि सुरू भएको शितलहरका कारण  विराटनगर विमानस्थलको हवाई सेवा प्रभावित हुँदै आएको थियो।

हरेक दिन दिउ“सो मात्रै विमानस्थल खुल्दै आएकोमा आइतबार सम्पूर्ण हवाई सेवा ठप्प भयो। विराटनगरबाट विभिन्न विमान कम्पनीहरूले दैनिक १८ वटा उडान गर्दै आएका छन्। ‘बाक्लो हुस्सुले भिजीविलिटी कम भएका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा पूर्ण रुपमा ठप्प भयो’ सिटौलालले भने। दिनहुँ शितलहरका कारण जाडो बढ्दै जादा प्रदेश १ को राजधानी विराटनगरलगायत तराई क्षेत्रको जनजीवन  प्रभावित भएको छ। हावापानी कार्यालय विराटनगरका अनुसार आइतबार विराटनगरको न्यूनतम तापक्रम ९.३ डिग्रीमा झरेको छ।

सरकारी तथा गैरसरकारी संस्थाहरूले जाडो प्रभावितहरूलाई दाउरा, कम्बल न्यानो कपडालगायतका समाग्री वितरण थालेका छन्। मोरङका स्थानीय तहहरूलाई जाडोबाट प्रभावितहरूलाई न्यानो कपडा, दाउरा वितरण गर्न साथै जाडोबाट जोगिने जनचेतना अभिवृद्धि गर्न आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

जाडोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला प्रहरी कार्यालय मोरङले पनि  जिल्लाका विभिन्न स्थानमा आगो बाल्न थालेको छ। जिल्लाका १ सय ८५ स्थानमा आगो बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विश्वराज ढकालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मोरङले नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाउरा वितरण गरेर आगो बाल्दै आएको ढकालले बताए।

यता विराटनगर महानगरपालिकाले पनि वडा समिति मार्फत जाडो प्रभावितलाई न्यानो कपडा र दाउरा वितरण गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। पराजुलीले भने ‘जाडोका कारण समस्यामा परेकाहरूलाई वडा कार्यालय मार्फत राहतको व्यवस्था गर्ने प्रबन्ध मिलाईएको छ।’

प्रकाशित: ६ पुस २०७६ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App