७ वैशाख २०८१ शुक्रबार
समाज

ह्योल्मो र दलित समुदाय मिलेर एकीकृत बस्ती ठड्याउँदै (फोटोसहित)

हेलम्बु (सिन्धुपाल्चोक)- टाकटाक, टुकटुकको आवाज। मेशिनरी औजारको केही चर्को ध्वनी। दुबै आवाज आपसमा मिल्दा बातावरण गुञ्जयमान छ। विभिन्न आवाज र बाजाले संगीतको धुन बने जस्तै। पुसको ठण्डीमा पारिलो घाम लाग्दा दिन यसै पनि घमाइलो छ। त्यही न्यानो घाममा शरीर तताउँदै २४ वर्षीय फिञ्जो शेर्पा छड काटेर रिङ बनाउँदै थिए। अलि पर ढुंगाको काममा खटिरहेका थिए दिलबहादुर बिक पनि।

                शेर्पा र बिक जातपातबाट धेरै माथि उठेर एकै थलोमा बस्ने बाचा गर्दै भूकम्पले तहसनहस बनाएको बस्ती ठड्याउँदै छन्। हेलम्बु गाउँपालिका–२ मा ४० घरधुरीको नोर्बुलिङ एकीकृत बस्ती ठडिइरहेको छ। ह्योल्मो र दलित समुदाय एकीकृत बस्तीमार्फत गाउँको गुमेको चमक फर्काउँन तल्लिन छन्। ह्योल्मो परम्परा कायम राख्दै एकै आकार र डिजाइनका घरहरु ठडिँदै गर्दा बस्तीको मुहार क्रमशः फेरिँदै गएको छ।

                नयाँ घर पाउने भएपछि फिञ्जो खुशी देखिए। ह्योल्मो समुदायसँगै बस्न पाउने हुँदा दिलबहादुर अझ मख्ख देखिन्थे। ‘हेलम्बु क्षेत्रमा दलित भनेर कहिल्यै भेदभाव हुँदैन,’ गाडाबाट ढुंगा खन्याउँदै उनले सुनाए, ‘अब त झन् एकै बस्तीमा बस्दै छौँ।’ बिगत ६० दिनदेखि बस्ती बसाउन खटिएको उनले बताए। ‘दुई–चार घर छरिएर बसेका थियौँ। अब ठूलो बस्तीमा सँगै बस्न पाउने भयौँ,’ रिङको नाप लिँदै फिञ्जोले खुशी छचल्काए।

                काठमाडौँ बस्ने उनी गाउँ आएको बेला बस्ती निर्माणमा निस्किएका हुन्। सातादेखि गाउँका दाजुभाइसँग मिलेर काम गरिरहेका उनी अझै केही दिन बसेर सघाउने बताउँछन्। फिञ्जो काममा निस्किएपछि लामो सयमदेखि बस्ती निर्माणका खटिएका उनका बुबा र दाजु आराममा छन्। काठमाडौँमै बस्ने दावा शेर्पा पनि केही दिनदेखि गाउँमै छन्। बस्ती निर्माणको माहौलले उनलाई घरभित्रै खुम्च्याउन सकेन, बरु हुटहुटी जगायो। ‘गाउँमा बस्ती डठ्याउँने उत्साह छ,’ फिञ्जोले बनाएको रिङ ओसार्दै गर्दा भेटिएका उनले रमिते बन्न मनले नदिएको सुनाए।

                नोर्बुलिङका स्थानीय बिगत चार महिनादेखि जनस्तरबाट एकीकृत बस्ती ठड्याउन जुटेका हुन्। १८ रोपनी क्षेत्रफलमा बस्ती बनिरहेको छ। माथिदेखिका तीन लहरमा १० र अन्तिमका दुई लहरमा पाँचवटाका दरले घर ठडिइरहेका छन्। प्रतिघरले ६ आना क्षेत्रफल ओगटेको छ। एकीकृत बस्ती विकास समितिका अध्यक्ष दावा लामाले बस्तीमा पाँच दलित परिवार बस्ने बताए। उनका अनुसार जोखिममा रहेका गिजे टोलका ११ परिवार, खर्क, कोलामा र पासस गाउँका स्थानीय बस्तीमा बस्ने छन्। बस्तीका निर्माणाधीन १९ घर छाना छाउने चरणमा पुगिसकेका छन् भने १० घरको संरचना निर्माण आधाबाट माथि लागेको छ। बाँकी घरको जग तहसम्मको काम सकिएको छ।

                सरकारले आवास पुनर्निर्माणमा दिने तीन लाख रुपैयाँ अनुदानबाटै स्थानीय एकीकृत बस्ती बसाल्न कस्सिएका हुन्। बस्तीमा बस्ने ३३ परिवार लाभग्राही सूचिमा समेटिएका छन्। बाँकी सात परिवारले गुनासो भरेको हेलम्बु क्षेत्र हेर्ने पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का असिस्टेन्ट सबइन्जिनियर मिलन ढुंगानाले बताए। उनका अनुसार नौ परिवारले दोस्रो किस्ता पाइसकेका छन् भने २६ परिवार पाउने प्रक्रियामा छन्।

                अध्यक्ष दावा दैनिक ६० जनाको समूह निर्माणमा खटिइरहेको बताउँछन्। ‘१० जना मिस्त्री मात्र बाहिरबाट ल्याएका छौँ। अरु सबै बस्तीमा बस्ने स्थानीय हुन्,’ उनले भने। परिवारको एक सदस्य अनिवार्य दैनिक काममा खट्नु पर्ने सर्त भए पनि तीन जनासम्म आउने गरेको उनले बताए। उनका अनुसार ल्होसार एकीकृत बस्तीको नयाँ घरमा मनाउने स्थानीयको चाहना छ। आउँदो माघमा ह्योल्मो समुदायले नयाँ वर्ष (ल्होसार) मनाउँदै छ।

                स्थानीयले गोलाप्रथाद्धारा आफू बस्ने घर छानिसकेका छन्। ह्योल्मो परम्परा कायम राख्दै स्थानीयले सिफारिस गरेको घरको डिजाइन भने प्राविधिकले गरेका हुन्। ढुंगामाटो र स्थानीय काठपात प्रयोग गरी प्रविधि अपनाएर बनाइएका बस्तीका प्रत्येक घरमा ठूला आकारका तीन कोठा छन्। घरभित्रै शौचालय छ। मेशिनले काटेर लगाइएको सुरे ढुंगा गाह्रोले घरको आकर्षण बढाएको छ। एक घर–एक धाराको व्यवस्था मिलाइने बस्ती विकास समितिका सहसचिव जीवन लामाले जानकारी दिए।

                उनका अनुसार निर्माण सम्पन्न हुँदा प्रतिघर लागत १२–१३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। अनुदानबाहेक बाँकी रकम सम्वन्धित परिवारले नै बेहोर्ने उनी बताउँछन्। छानो छाउन सामुदायिक आत्मनिर्भर केन्द्र नामक संस्थाले प्रतिघर ३० हजार रुपैयाँका दरले सघाउने प्रतिवद्धता जनाएको छ। प्रतिरोपनी दुई लाख रुपैयाँ दरले जग्गा किनेर भूकम्प प्रभावितले गएको भदौ ११ गतेदेखि बस्तीको काम अघि बढाएका थिए। ‘बस्तीभित्र पशुचौपाया नपाल्ने सहमति छ,’ बस्ती विकास समितिका सदस्य छेसाङ लामाले भने। पशुचौपाया पालनका लागि बस्ती नजिक छुट्टै जग्गाको व्यवस्था गरी सामूहिक रुपमा आयआर्जनको कार्यक्रम सञ्चालन गर्ने सोच रहेको उनले जानकारी दिए।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App