coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आफ्ना सेवा जनता केन्द्रित बनाऊ

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन छलफल गरिँदै। तस्बिर : नागरिक

काठमाडौं- वैदेशिक रोजगार विभाग र बोर्डलाई आफ्ना सेवा जनताकेन्द्रित बनाउन सरोकारवालाले सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा विनरकको सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले कामदारका लागि अहिलेका सेवा पर्याप्त नभएको समेत बताए ।

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये साढे एक प्रतिशत कामदार मात्र दक्ष हुने गरेका छन् ।

रोजगारीका लागि विदेश जानेलाई आवश्यक पर्ने सम्पूर्ण सेवा पुर्‍याउने निकाय विभाग र बोर्ड मात्र हुन् । कानुन कार्यान्वयन हुँदामात्र विभाग र बोर्डले दिने सेवा पर्याप्त हुने भए पनि व्यहारमा भने त्यस्ता सेवा प्रवाह हुन नसकेको गुनासो गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक भीष्मकुमार भुसालले सेवालाई थप प्रभावकारी बनाउन सूचना प्रणालीलाई जोड दिइरहेको बताए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने दायित्व विभागको मात्र नभई सबैको हुनुपर्ने बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विभागले मात्र डण्डी चलाउन सक्दैन,’ उनले भने ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पछिल्लो दुई वर्षमा बोर्डको ध्यान ऐन, कानुन संशोधनमा केन्द्रित भएको उल्लेख गर्दै यस अवधिमा ११ ऐनलाई परिमार्जन गर्नुपरेको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले वैदेशिक रोजगारीको क्षेत्रमा सुधार आउन नसक्नुमा व्यवसायी मात्र जिम्मेवार नभएको बताए । आफूले युवालाई कोरिया पठाउँदा पैसा लिने सरकारले व्यवसायीलाई शून्य लागतको निर्णय लाद्न नसुहाउने उनको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै अनुसन्धानकर्मी रामेश्वर नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले गर्ने निर्णयमा एकरुपता हुनुको साथै कार्यान्वयन हुन पनि उत्तिकै आवश्यक रहेको बताए । विनरक हाम्रो सम्मान कार्यक्रमकी डेपुटी चिफ अफ मिसन सविना प्रधानले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सम्बद्ध निकायसँग सहकार्य गर्ने बताइन् । सञ्जालका अध्यक्ष अशोक रानाले वैदेशिक रोजगारीका सेवालाई स्थानीयकरण गर्न पनि उत्तिकै जरूरी रहेको बताए ।

केही वर्षयता वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै समस्यामा पर्ने क्रम पनि बढेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनुु पर्ने आवाज उठ्दै आए पनि व्यवहारमा त्यस्तो नहुँदा हजारौं युवा वैदेशिक रोजगारीको मोहले ठगीमा पर्ने गरेका छन् । विभागमा बर्सेनि दुई हजार बढीले ठगीमा परेको भन्दै उजुरी गर्छन् ।

सम्झौता अनुसार पारिश्रमिक र काम नपाउनेको संख्या ठूलो छ । त्यस्तै अधिकांश युवा सीप नसिकेर विदेश जाँदा न्यून पारिश्रमिक पाउने गर्छन् । सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा राम्रो पारिश्रमिक पाइने भए पनि अहिलेसम्म न सरकारले युवालाई सीप सिकाउन सकेको छ न त युवा नै सीप सिकेर वैदेशिक रोजगारीमा जान्छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जानेमध्ये साढे एक प्रतिशत कामदार मात्र दक्ष हुने गरेका छन् । ७५ प्रतिशत कामदार कुनै पनि सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर न्यून पारिश्रमिक र अर्कोतर्फ जोखिममा पर्ने गरेका तमाम उदाहरण छन् ।

 

प्रकाशित: ६ पुस २०७६ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App