coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

थारू इतिहास खोज्दै कला

काठमाडौं - सन् १९५० को दशकमा नेपालको तराई क्षेत्रमा मलेरिया उन्मूलनका निम्ति प्रयोग गरिएको डिडिटी रमायनले वातावरणमा प्रभाव प¥यो। फलस्वरूप यस क्षेत्रमा बसाइसराइ ह्वात्तै बढ्यो। नक्कली कागजपत्र बनाएर बसाइसराई गर्नेहरुको संख्या बढेसँगै तराई क्षेत्रका स्थानीय थारू समुदायलाई प्रत्यक्ष असर पुग्यो। लेखपढ गर्न नजान्ने उनीहरु भूमिहिन हुन पुगे।

थारू समुदायको इतिहासलाई खोजेर अनुसन्धानपछि चित्रकार लवकान्त चौधरीले डिडिटीका कारण थारूहरुमा परेको प्रभाव चित्रमार्फत् प्रस्तुत गरेका छन्। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको चित्रकार चौधरीको ‘मासिन्या दस्तुर’ शीर्षकको कला प्रदर्शनीमा विभिन्न चित्रकला, प्रतिस्थापन कला र टिकापुर घटनामाथि केन्द्रित भिडियो प्रस्तुत भइरहेका छन्। डिडिटीले वातावरणमात्र नभएर वन्यजन्तुलाई समेत असर गरेको थियो। यसलाई उनले मानिसको जीवनचक्रको बीचमा ठूलो आकारको लामखुट्टे बनाएर प्रस्तुत गरेका छन्।

जंगबहादुर राणाको पालामा थारू तथा तामाङ समुदायका लगायतका आदिवासीलाई ‘मासिन्या (मास्न मिल्ने)’ वर्गका रुपमा वर्गिकृत गरिएको थियो। त्यसबेला थारू समुदायले औषधी उपचारदेखि घाँस दाउरा र जमिनमा हलो जोत्दा सरकारलाई कर तिर्नुपर्ने बाध्यता थियो। थारू समुदायका चित्रकारले बल्ल पुर्खाहरुको विभिन्न इतिहासबारे जानकारी संकलन गरिरहेका छन्। इतिहास खोज्नेक्रममा उनी दाङ, कैलाली, बर्दिया र चितवन पुगेर संकलन गरिएको दुई सय वर्षअघिको तमसुकलाई पेपरमा प्रिन्ट गरेर प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा थारू समुदायले भोग्नुपरेको समस्या र संघर्षको कथा समेटिएको छ।

त्यस्तै उनले प्रदर्शनीमा बाँच्नको निम्ति गर्नुपरेको विभिन्न पीडादायी अवस्थालाई चित्रण गरेका छन्। जसमा उनले २४ वटा गोली र मकै, तोरी, चामल, दाल र मेथी लगायतका अन्नहरुलाई प्रयोग गरिएको छ। ‘अन्नले हामीलाई बचाउँछ। तर, गोलीले हामीलाई विनाश गर्छ,’ चित्रकार चौधरी भन्छन्, ‘मैले जीवन दिने र लिनेको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु।’

उनले चित्रकलामार्फत् टिकापुर घटनालाई प्रस्तुत गरेका छन्। दुधे बालक च्यापेर हातमा कालो झण्डा लिएर हिड्दै गरेकी महिलाको तस्बिरले कैलालीमा टिकापुर घटना र महिला सशक्तको कथा प्रस्तुत गरेका छन्। टिकापुर घटनामा ८८ वटा घर आगोले खरानी भएको दृश्यलाई उनले भिडियोमार्फत् प्रस्तुत गरेका छन्।

उनले प्रतिस्थापन कलाअन्तर्गत थारू समुदायमा कृष्ण अष्टमीका दिन माटोले बनाइने कलात्मक थारू अष्टमीकीलाई समेटेका छन्। संसारको सृष्टि र प्रकृतिसँगको निकटता अष्टमीकीले समेटिएकाले थारू संस्कारमा यो महत्वपूर्ण मानिन्छ। ‘द फिसिङ हुमन’ शीर्षकको चित्रमा उनले हराउँदै गएको संस्कृतिमाथि चिन्ता व्यक्त गरेका छन्। खोला सुक्दै गएका कारण माछा भेट्न नसकिने अवस्थालाई उनले प्रस्तुत गरेका छन्। डिडिटि रमायनको असरदेखि टिकापुर घटना हुँदै थारू समुदायको संस्कार, संस्कृतिलाई समेटेर गरिएको उनको प्रदर्शनीले थारूहरुको इतिहासलाई प्रष्टाएको छ। प्रदर्शनी पुस २४ सम्म चल्नेछ।

प्रकाशित: ६ पुस २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App