coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुली नदीमा निर्मानाधिन पुल अलपत्र

पुल निर्माणका लागि काम गरिँदै।

धादिङ - एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण भइरहेको पक्की पुल अलपत्र परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु र सिद्धलेक गाउँपालिका– ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेशनल जेभीले लिएको थियो। समयमै काम नगर्दा पुल निर्माण अलपत्र भएको स्थानीयको भनाइ छ।

पुलका लागि ल्याइएको सामग्रीहरू यत्रतत्र छरिएका छन् भने छडलगायतका फलामका सामग्री खिया लाग्नथालेको छ। पुल निर्माण स्थलको बेनिघाट रोराङ तर्फमा एउट पिल्लरको डिपिसी बाहेक कुनै काम हुन सकेको छैन। केहीसमय पहिलेसम्म पुल निर्माणस्थलमा कहिलेकही १०÷१२ जना कामदार देखिने गरेपछि पछिल्लो समय कामदार नै नआएको स्थानीयको भनाइ छ। पुल निर्माणका लागि पटक÷पटक डोजर चल्छ तर डिपीसी गरेको स्थानमा हिलो र पानी मात्रै जम्ने गरेको छ।

यहाँ पक्की पुल नहुदाँ भूकम्पपछिको पुननिर्माणका लागि आवश्यक सामग्रीहरू लैजान समस्या झेल्नुपरेको छ। गाउँमा उत्पादन भएका तरकारी बजारसम्म ल्याउन निकै समस्या भइरहेको सिद्धलेकका स्थानीय पशुपतिनाथ थपलियाले बताए। ‘पक्कि पुल बन्ला र निर्माण सामग्री ढुवानी गर्न सहज होला भन्ने लागेको थियो, तर हाम्रो आश पुरा हुने कुनै संकेत छैन,’ उनले भने, ‘बारीमा फलाएको तरकारी बजारसम्म लैजान पनि घण्टौं बोकेर पु¥याउनुपर्ने बाध्यता रहेकोछ।’ त्रिशुली नदीमाथि पक्की पुल नहुदाँ कालुपाण्डे मार्गको मलेखु हुँदै निर्माण सामग्री ओसार्नुपर्ने यहाँका स्थानीको बाध्यता छ।

पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु माछा बजारको रूपमा परिचित छ। राजधानी काठमाडौं आवातजावत गर्ने मुख्य सडक भएपनि छेवैमा निर्माण सुरु गरिएको पुलको कामले भने गति लिन सकेको छैन। नदीको वारि छेउँमै ठूलो बजार भएपनि नदीपारि उत्पादन भएका खाद्यन्न तथा तरकारी बजारसम्म ल्याउन समस्या भोग्दै आइरहेका छन्। सरकारले काममा लापरबाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भनिएपनि यस्ता कम्पनीलाई सरकारले कारबाही अघि नबढाएको स्थानीयको आक्रोस रहेको छ।

स्थानीयहरू आवातजावतका लागि झोलुंगे पुलको प्रयोग गर्छन्। पक्की पुल निर्माण भएपछि गाउँबाट बजारमा आवतजावत र उत्पादित तरकारीहरू बजारसम्म ल्याएर आम्दानी समेत गर्न सहज हुने स्थानीयको भनाइ छ। पुल निर्माणका विषयमा स्थानीयले चासो राख्दै निर्माण कम्पनीलाई सम्पर्क गर्दा ‘सरकारी कामको गति नै यस्तै हो’ भन्ने जवाफ दिने गरेको सिद्धलेकका स्थानीय चेतनाथ सिलवालले बताए। ‘त्रिशुली नदीमाथि पुल बन्यो भने हामीलाई एकदमै सहज हुन्छ, त्यसैले हामीले पनि चासो राखेर पुल निर्माणको अवस्था बुझ्ने गरेका छौँ,’ उनले भने, ‘दुई वर्षमा सक्नुपर्ने काम सुरु नै भएको छैन, कहिले पो बन्ने हो।’

पुल निर्माणको शिलान्यासमा ठेकेदार कम्पनी प्रतिनिधि युवराज डाँगीले निर्माणका क्रममा कुनै विवाद र अवरोध नआए दुई वषभित्र काम सक्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। अहिले काममा ढिलासुस्ती भएको स्वीकार गर्दै उनले डाँगीले भने, ‘वर्षायाममा त्रिशुली नदीको ठूलो हुने भएकाले काम गर्न सकिएन, निर्माण सामग्री पनि बगाएको थियो, अहिले काम भइरहेको छ।’ सिद्धलेक गाउँपालिका– ४ का वडाध्यक्ष रामहरी बराकोटीले पुल निर्माण कार्यमा ठेकेदारले अत्यन्तै ढिलासुस्ती गरेको बताए। ‘एक वर्षअघिदेखि सुरु गरेको भएपनि वर्षायामको कारण देखाउँदै अहिले सुरु गरेका छन’्, उनले भने, ‘वडाको तर्फबाट पटक÷पटक निर्माण कार्य तिव्र बनाउन दवाव दिएका छौं।’

पुल निर्माण कार्यको अनुगमन र सुपरीवेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं २ का इन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो। पटक÷पटक निर्माण कार्यलाई तिव्रता दिने मौखिक निर्देशन दिँदै आएको उनले बताए। अहिलेसम्म १० प्रतिशत मात्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ। कुल १४ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुल एक सय ४० मिटर लामो रहेको छ। पुलको गत वर्षको पुस महिनामा प्रतिनिधिसभाका सांसद भूमी त्रिपाठीले शिलान्यास गरेका थिए।

प्रकाशित: ६ पुस २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App