coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'खानबस्नै गाह्रो भयो, अन्तै सारिदिनुस्'

धादिङ- दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरूको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौँदेखि खानेपानीको चरम अभाव झेल्दै आएको र भूकम्पपछि जमिन भासिएका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकाले पानी भएको ठाउँमा बस्ती सारिदिन उनीहरूले सांसद राजेन्द्र पाण्डेलाई आग्रह गरेका हुन्।

भूकम्पपछिको अवस्था बुझ्न एक साताअघि गाउँ पुगेका पाण्डेलाई ब्रुसबाङवासीले भने, 'हामी यहाँ बस्न सक्दैनौँ, अन्तै सारिदिनुस्।'

पानी र खेती गर्ने जमिन नभएकाले गाउँमा बस्न नसकिने अवस्था आएको गाउँका अगुवा टेकबहादुर चेपाङले बताए।

उब्जनीले तीन महिना नधान्ने भएकाले यहाँ चेपाङले वनमा गिठा, भ्याकुर खोजेर खान्छन्। ब्रुसबाङदेखि अर्को गाउँ टाढा भएकाले ज्याला मजदुरी गर्ने ठाउँ पनि छैन। 'अर्काे गाउँ पुग्न दिनभरजस्तो हिँड्नुपर्छ। कुनबेला जाने, कुन बेला काम गर्ने। बिहान–बेलुका बालबच्चालाई पेटभरि खुवाउन गाह्रो छ,' जुनीमायाले भनिन्। गाउँमा पानी नभएका कारण खाद्यान्न संकट भोग्नुपरेको छ। उत्पादन भएको अन्नबालीले तीन महिनासम्म जेनतेन पुग्छ। बाँकी नौ महिना सिस्नु, गिठा, च्याउ, टाँकी र सिस्नु खोजेर पेट भर्ने गरेको जुनीमायाले सुनाइन्।

यहाँका चेपाङले हरेक वर्ष कात्तिकदेखि पुससम्म नयाँ खोरिया खनेर मकैखेती लगाउँछन्। 'खोरिया खनेर मकै लगायो, पाक्न आठ महिना लाग्छ, खान तीन महिना पुग्छ, म अपांगले कसरी बालबच्चा पालौँ,' गैचबहादुरले गुनासो पोखे। गैचबहादुर अरुसरह हिँड्न सक्दैनन्।

जिल्लाको महादेवस्थान गाविसमा पर्ने ब्रुसवाङ गाउँ समुद्री सतहदेखि एक हजार आठ सय ४५ मिटर उचाईमा पर्छ। यहाँ ३५ घरधुरी चेपाङ छन्। गाउँमा खानेपानीको समस्या त छँदै छ, उब्जनीले यहाँका चेपाङलाई मुस्किलले तीन महिना खान पुग्दैन। पानीको एक मात्र मुहान गाउँदेखि दुई घन्टा तल बाङ्कुतिर्को भीरमा छ।

गाउँमा विद्यालय छ तर पढाउने शिक्षक छैन। बिरामी पर्दा उपचार गर्ने स्वास्थ्य चौकी छैन। टाउको दुख्ने, पखाला लाग्ने जस्ता सामान्य बिरामी घरेलु जडीबुटीले निको पार्ने गरेको स्थानीयले बताए।

भीरमा गिठा खोज्न जाँदा लडेर हात भाँचियो भने पनि कतिपय त अझै लोक्ताले बेरेर उपचार गर्न बाध्य छन्, ब्रुसबाङका चेपाङ। अगुवा चेपाङ टेकबहादुर भन्छन्, 'सुविधा नभएकै कारण हाम्रो ज्यान अकालमा जाने भयो, त्यसैले काम गरेर खान मिल्ने र छोराछोरी पढाउन मिल्ने ठाउँमा हामीलाई सारिदिनुस्।'

राम्रोसँग अक्षर फोर्न सक्ने गाउँमा कोही छैन। जेनतेन ३ कक्षा पढेकाले राम्रोसँग लेखपढ गर्न सक्दैनन्।

स्थानीयको कुरा सुनिरहेका सांसद पाण्डेलाई पूर्वजनप्रतिनिधि सिद्धिबहादुरले ब्रुसबाङको विकल्पमा सुविधायुक्त ठाउँ खोजिदिन आग्रह गर्दै भने, 'हाम्रो गाउँ सार्न माननीयज्यूले सहयोग गरिदिनुपर्‍यो।'

बु्रसबाङवासीले धादिङका सांसदलाई बस्ती सारिदिन माग गर्दै सातबुँदे मागपत्र बुझाएका छन्। ब्रुसबाङवासीको मागपत्र बुझेका पाण्डेले केही जग्गासहित आवास, शौचालय, खानेपानी, बिजुली बत्ती, स्कुल र स्वास्थ्य सेवाको व्यवस्थासहित बस्ती स्थानान्तरणको पहल गर्ने बताए। ब्रुसबाङ गाउँमा पानी पुर्‍याउने खर्चले सबै सुविधायुक्त ठाउँमा बस्ती बसाउन सकिने पाण्डेले आश्वासन दिए। 'ब्रुसबाङवासीको समस्या र बस्ती स्थानान्तरण गर्ने विषयमा संसद्मा कुरा राख्छु,' उनले भने।

सरकारले उपलब्ध गराउने सेवासुविधाबाट वञ्चित भइरहेका ब्रुसबाङवासीले ढुक्कसँग काम गरेर खान सकिने, बिरामी भएका बेला उपचार पाउने र बालबच्चालाई पढाउन मिल्ने सुविधायुक्त ठाउँमा बस्ती सारिदिन गुहार गरिरहेका छन्।

प्रकाशित: ३ पुस २०७३ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App