coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाईघाटमा अन्तराष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण सुरु

त्रियुगा बसपार्कमा निर्माणाधीन टर्मिनल भवनमा काम गर्दै कामदार। तस्बिरः महेश्वर

उदयपुर- उदयपुरमा १ नं. प्रदेशकै उत्कृष्ट र अन्तराष्ट्रियस्तरको अत्याधुनिक तथा सुविधा सम्पन्न त्रियुगा बसपार्क निर्माण कार्य सुरु भएको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्नेगरी एक महिनाअघि निर्माण सुरु भएको टर्मिटल भवन जग (डिपिसी) तयार भएर भुईतलाको काम धमाधम अघि बढेको छ।

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजको रेखदेखमा निर्माणाधीन बसपार्कको टर्मिनल भवन एक वर्षभित्रै बनाईसक्ने गरी काम अघि बढाइएको कार्यालयले जनाएको छ। सघन सहरी तथा भवन आयोजना प्रमुख (डिई) रमेश थिङका अनुसार अत्याधुनिक सुविधा सम्पन्न र अन्तराष्ट्रिय मापदण्डको यात्रुमैत्री बसपार्क ५ बिगाह क्षेत्रफल जमिनमा निर्माणाधीन छ। बसपार्क भित्रिने, पार्किङमा रहने र बाहिरिने हरेक गाडीको अभिलेख राख्न, नियन्त्रण, नियमन र परिचालन गर्न निगरानी कक्ष त्यहीँ टर्मिनल भवनमा रहनेछन्।

आधुनिक उपकरणयुक्त हुने टर्मिनल भवनमा यातायात व्यवसायी र यात्रुलाई समयसूचक १४ मिटर अग्लो घण्टाघर (क्लक टावर) बन्नेछ। भवनमा बुकिङ काउन्टर, बस छुट्ने तथा आईपुग्ने समय जानकारी गराउने तालिका र माईकिङमार्फत ‘ध्वनी बडापत्र’को सेवासमेत व्यवस्था गरिनेछ।

बसपार्कमा चमेनागृह र व्यवस्थित तथा फुलबारीयुक्त यात्रु प्रतिक्षालय (वेटिङ सेड) बनाइनेछ। बिग्रेका गाडी तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) पनि बसपार्कभित्रै निर्माण गरिनेछ भने यात्रुलाई सुविधाका लागि उपभोग्य सामान किनमेल गर्ने ‘सपिङ कवल’ हरु पनि बसपार्कभित्रै बनाइनेछ ।

बसपार्कलाई फोहोररहित बनाउन महिला–पुरुष र अपाङ्गता भएकालाई छुट्टाछुट्टै सार्वजनिक शौचालय निर्माण गरिनेछ भने शान्ति सुरक्षा र आपराधिक गतिबिधि हुन नदिन  प्रहरी बीटको स्थापना गरिनेछ। चोरी, डकैती हुन नदिन बसपार्कभरी क्लोज सर्किट (सिसी क्यामेरा) जडान गरी टर्मिनल भवनमा नियन्त्रणकक्ष राखिनेछ। दक्षिणतर्फ रहेको त्रियुगा नदी किनारको बाँधसँग जोडेर बसपार्कको आकर्षण थप्न रंगीविरंगी फुलबारी र जडिबुटी रोप्ने कार्यक्रम पनि छ।

बसपार्क निर्माणको जिम्मा रमण÷आईएसएडी जेवीले पाएको छ। २५ करोड लागत इस्टीमेटको उक्त आयोजना घटाघट प्रतिस्पर्धामा जेवीले ३४ प्रतिशत न्यून अर्थात १२ करोड ६१ लाख रुपैंया कम लागतमा निर्माणको जिम्मा लिएको इन्जिनियर ब्रम्हदेव चौधरीले बताए। प्रदेशकै नमूना र व्यवस्थित बसपार्क बनेपछि त्रियुगा नगरपालिकाको मुख्य बजार गाईघाटको प्रमुख आकर्षण थपिने इन्जिनियर चौधरीले बताए।


 

 

प्रकाशित: ५ पुस २०७६ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App