८ वैशाख २०८१ शनिबार
अन्य

गाउँ फर्केका ‘हिप्पी’

हिप्पी युग अर्थात् सन् १९६० को दशकदेखि सन् १९८० को दशक। युद्धमा होइन, प्रेममा विश्वास गर्ने पश्चिमेली युवा शान्तिको गीत गाउँदै संसारभर घुम्थे। तिनताका काठमाडौं, वसन्तपुर क्षेत्रको झोछें पनि हिप्पीको अखडा बनेको थियो।

तिनै बिन्दास ‘गोरा’हरूको आनीबानी बेहोरेका मेघराज नहर्की समयसँगै पर्यटनकर्ममा स्थापित बने। उनी हिप्पीहरूले झैं गाँजा र चरेस खाएर बरालिएनन् बरु हिप्पीहरूको घुमन्ते बानी अनुकरण गरेर घुमन्ते बने। स्वदेश तथा विदेशका धेरै ठाउँ पुगे।   

उनले हिप्पी युगमै झोछेंमा होटल तथा रेष्टुराँ चलाए। पछि सौराहामा रिसोर्ट चलाए। यतिबेला भने ‘आफ्नै गाउँ फर्की आएँ’ भन्ने गीत गुनगुनाउँदै जन्मथलो नलाङमा पर्यटनमा जुटिरहेका छन्।

जीवनका ४५ वर्ष पर्यटनमा बिताइसकेका नहर्की ५८ वर्षका भए। उनले सन् २००१ मै नलाङ डाँडामा श्रीवन नेचर क्याम्प खोलेका थिए।  त्यसबेला सौराहामा पनि उनको रिसोर्ट थियो। विसं २०७० देखि अरू व्यवसाय छाडेर उनी नलाङमै बस्न थाले।

उनकै प्रयासले सिद्धलेक गाउँपालिका–२, धादिङमा अवस्थित सिद्ध लेक र नलाङ स्वदेश तथा विदेशमा प्रख्यात बनिसक्यो। उनले खोलेको श्रीवन नेचर क्याम्पमा २० कोठा छन्। त्यहाँ ३५ सय रुपैयाँको प्याकेजमा लन्च, बेड, ब्रेकफास्ट र डिनर सुविधा पाइन्छ।

काठमाडौंबाट ८९ किमि दूरीको नलाङमा पारिवारिक जमघट गर्न, हनिमुन मनाउन र पारिवारिक भ्रमण गर्नु राम्रो हुन्छ। नलाङ (१,५५० मिटर) बाट २२० डिग्रीमा हिमश्रृङ्खला देखिन्छ, धौलागिरिदेखि अन्नपूर्ण, लाङटाङदेखि गौरीशङ्कर हिमालसम्म। तिनै हिमालको उज्यालोमा मुस्कुराउँदैछन् उनी। पर्यटनकर्मसँगै सामाजिक काममा समेत उनको योगदान अतुलनीय छ। उनी भन्छन्, ‘बाँकी जिन्दगी आफ्नै गाउँमा बिताइदिन्छु।’
सम्पर्क : मेघराज नहर्की– ९८५१०२९८७४

प्रकाशित: ५ पुस २०७६ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App