पुष्पा विसी
कक्षा–८,शुभकामना एकेडेमी कीर्तिपुर काठमाडौं।
आहा ! कति रमाइलो भयो हिजोे मंसिर १८ गते। हाम्रो विद्यालयमा पहिलो पटक नुवागी कार्यक्रम भयो। नुवागीकोे १ दिन पहिले ‘पेशा र व्यावसायिक शिक्षा’ पढाउने मोतिलाल चौधरी सरले सूचना दिनुभएको थियो। नुवागी भनेको मलाई थाहा पनि थिएन अनि मैले मेरा साथीहरूलाई सोधें। कसैले थाहा छैन भने, कसैले नुवागी भनेको होम गरेपछि प्रसादको रूपमा खान्छन् रे भने। मलाई खुलदुली भइरहेको थियो।
अनि अर्को दिन हामी बिहानै उठेर विद्यालय आयौँ अनि नुवागी बनाउन लाग्यौँ। नुवागीमा त दही, चामल, काजु, किसमिस, केरा, ल्वाङ, सुकमेल, चिनी, नरिवल जस्ता चीजरू मिसाउँदा रहेछन्। विद्यार्थी र शिक्षकहरू मिलेर नुवागी बनायौँ। हामीले नुवागी कार्यक्रममा अभिभावकहरूलाई पनि बोलाएका थियौँ। यस्तो नयाँ काम गरेकोमा अभिभावकहरूले हामीलाई स्याबासी पनि दिनुभयो। त्यहाँ मिसाइएको चामल हामी आफैँले रोपेका, गोडेका र काटेका थियौँ। हामीले सबै गरेर झन्डै २०० केजी धान फलाएका रहेछौं।
त्यसमध्ये १० केजी चामल नुवागी बनाउन प्रयोग ग¥यौँ। बाँकी चामल प्रयोग गरेर हामीले चिउरा र महोत्सवमा विभिन्न थरीका रोटी ( मारे, सेल, अनर्सा) बनाएर विक्री गर्ने योजना बनाएका छौँ। हामीले परालको गुन्द्री, पिरा, चकटी आदि बनाएर महोत्सवमा प्रदर्शन गर्ने छौँ। हामीले यो कुराहरू सिकेर व्यावहारिक शिक्षा पायौँ।
हाम्रो विद्यालय आएसए प्रोजेक्टमा छनौट भएको छ। यो कार्यक्रम आइएसए प्रोजेक्ट अन्तर्गत पर्छ। यो प्रोजेक्टले विभिन्न विषयहरू समेटेको छ। जसले गर्दा हामीले प्रयोगात्मक शिक्षा पाउँछौँ। अब आउँदो वर्षमा पनि त्यस्तै विभिन्न कार्यहरू गर्ने छौँ।
प्रकाशित: ५ पुस २०७६ ०२:४६ शनिबार