७ वैशाख २०८१ शुक्रबार
समाज

लक्ष्यबिनाको विकासले जनप्रतिनिधि अन्योलमा

रोल्पा – रोल्पाका स्थानीय तहहरूले विषयगत रूपमा चुस्त र दुरुस्त तथ्यांक राख्न नसक्दा विकास निर्माणमा बाधा सिर्जना भएको छ। विगत र वर्तमान अवस्थाबारे वस्तुगत जानकारी अभाव हुँदा स्थानीय सरकारहरूले कुनै दीर्घकालीन योजना बनाउन सकेका छैनन्। जसका कारण ती स्थानीय तहहरूबाट भएका विकास निर्माणमा लक्ष्यविहीनता देखिएको हो। भइरहेका विकास निर्माणमा पनि कुनै न कुनै खोट भेटिने गरेको स्थानीय सरोकारवालाहरू बताउँछन्।

विकास भनेको सडक मात्र हो भन्ने बुझाइ रहेकाले जताततै सडक निर्माण त भइरहेका छन् तर त्यसबारे कुनै वस्तुपरक तथ्यांक राखिएको पाइँदैन। आफू निर्वाचित भएर आउँदा कति किलोमिटर सडक थियो र अहिले कति बनिसक्यो भन्नेबारे जनप्रतिनिधि बेखबर रहेकाले विकास निर्माणको औचित्यमाथि प्रश्नचिह्न उठ्ने गरेको छ। ‘ओहो ! सडक पहिले कति किलोमिटर थियो र अहिले कति छ, ठ्याक्कै तथ्यांक त छैन,’ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने, ‘सबै ठाउँको खोजेर जोड्ने हो भने त आउला तर अहिलेसम्म यति भन्ने यकिन छैन।’

जिल्लाकै अर्को स्थानीय तह सुनिल स्मृति गाउँपालिकासँग पनि आफ्नो पालिकामा कति किलोमिटर सडक छ भन्ने आधिकारीक तथ्यांक छैन। ‘सडक जम्मा कति भन्ने ठ्याक्कै थाहा भएन,’ उक्त गाउँपालिकाका इन्जिनियर गुरुराज चन्दले भने, ‘पहिला कति थियो र जनप्रतिनिधि आएपछि कति खनियो भन्ने यकिन तथ्यांक छैन।’ सो गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले पनि ‘एक्ज्याक्ट डाटा’ नभएको स्वीकार गर्दै चाँडै तयार पार्ने प्रतिबद्धता जनाए।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा पनि आफ्नो गाउँपालिकाभित्र कति किलोमिटर सडक छ भन्नेमा बेखबर देखिए। ‘तथ्यांक त आउँछ होला तर जोडेर निकाल्न बाँकी छ,’ उनले भने। इन्जिनियरले गर्ने कामको जिम्मा डोजर अपरेटरलाई दिएर सडक खनाइएका कारण परिमाण थाहा हुन नसकेको स्थानीय बताउँछन्। नक्साबिना डोजर अपरेटरको डिजाइनमा खनिएका अधिकांश सडकमा कतै न कतै खोट रहेको प्राविधिकहरू बताउँछन्।

स्थानीय तहहरूसँग सडक मात्र नभई कुनै विषयको तथ्यांक अध्यावधिक छैन। शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, द्वन्द्वपीडितलगायत विषयमा तथ्यांक अभाव हुँदा त्यस्ता विषयबारे जानकारी दिनुपर्दा जनप्रतिनिधिहरू सधैं अलमल पर्ने गर्छन्। जनप्रतिनिधिहरूलाई योजना निर्माण गर्न सघाउने कर्मचारीले पनि तथ्यांक अध्यावधिक गर्न सुझाउने गरेका छैनन्। जनप्रतिनिधिहरूले योजना निर्माण गर्दा आवश्यकताको पहिचानसमेत गरेको पाइँदैन।

‘आधिकारिक तथ्यांक राख्ने कुरामा स्थानीय तहले चासो दिएको पाइँदैन। प्राविधिक कम भएकाले कन्सल्टेन्ट राखेर पनि त्यस्तो काम गर्नैपर्ने पर्ने हो,’ रोल्पा नगरपालिकाका इन्जिनियर मुकेश कुँवरले भने, ‘हामी प्राविधिक काम गर्ने थोरै भएकाले नभ्याउने स्थिति छ तर नगरपालिकाले चाहने हो भने कन्सल्टेन्टको व्यवस्था गरेर सबै तथ्यांक अध्यावधिक गर्न सक्छ।’

चुस्तदुरुस्त रूपमा विषयगत जानकारी नराखेका कारण स्थानीय तहहरूले कसरी योजना बनाउँछन् भन्दै स्थानीय अचम्मित हुने गरेका छन्। ‘स्थानीय तहले यस्ता विषयमा जानकारी राख्नुपर्ने हो। तथ्यांक नभएर त योजना कसरी बन्छ होला। सडक कति थियो, कति खनियो र खन्नुपर्ने कति छ, थाहा त हुनैपर्छ।’ पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी भन्छन्, ‘यो जथाभावी विकास अर्थात् लक्ष्यविनाको विकासले अन्योल निम्त्याउँछ।’

प्रकाशित: ५ पुस २०७६ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App