८ वैशाख २०८१ शनिबार
समाज

‘लेनदेन’ निहुँमा बालबालिका अपहरण

काठमाडौं – सामाखुसी बस्ने सीता (नाम परिवर्तन) दुई छोरी र एक छोरालाई कोठामा छाडेर ससुराको श्राद्ध गर्न शनिबार पोखरा हिँडिन्। आइतबार, सोमबार र मंगलबार बिहानसम्म छोराछोरीसँग उनको फोनमा राम्रै कुराकानी भयो। तर चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन्। हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं।’

सीतालाई फोन गर्ने व्यक्ति वानेश्वरका २४ वर्षीय आशिष सिँजापति थिए। उनी समयसमयमा सीताको कोठामा आउँथे, सीतालाई दिदी भन्थे, छोराछोरीलाई भान्जाभान्जी। आफूले चिनेको व्यक्तिले फोन गरेर त्यसो भन्दा सीतालाई ठट्टाजस्तै लाग्यो, साँचो होला भन्ने कल्पनासमेत भएन। बुधबार उनी पोखराबाट सामाखुसी फर्किन्। कोठामा पुग्दा छोराछोरी देखिएनन्। कोठाको ढोकामा चुकुलमात्रै लगाइएको थियो। आफू नभएको बेला छोराछोरीसँग कुराकानी गर्न उनले एउटा मोबाइल छाडेर गएकी थिइन्। कोठामा कोही नदेखेपछि उनले फोन गरिन्। मोबाइल अफ थियो। फेसबुक खोलिन्, छोरीको आइडीबाट ‘मामाले नचिनेको ठाउँमा ल्याएर राख्नुभएको छ’ भन्ने म्यासेज आएको रहेछ। त्यसपछि उनलाई छटपटी भयो, अत्तालिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी होबिन्द्र बोगटीलाई फोन गरिन् र छोराछोरी हराएको जानकारी गराइन्।

जानकारी पाएलगत्तै परिसरबाट टोली परिचालन भयो। गोंगबु, सामाखुसी र टोखाका होटलमा प्रहरीले खानतलासी थाल्यो। टोखा क्षेत्रमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली पुग्यो। सूचनाका आधारमा प्रहरीले त्यस क्षेत्रका होटलमा खोज्न थाल्यो। त्यसै क्रममा ब्लु स्टार होटलको कोठा नं. ४०४ मा तीन बालबालिका भेटिए। प्रहरीले उनीहरुलाई उद्धार ग-यो। सँगसँगै प्रहरीले होटलबाट चारजनालाई नियन्त्रणमा लियो। तीमध्ये बालबालिकाको कुरुवाका रुपमा रहेका गोरखाका २८ वर्षीय विनोद थापा मगर पनि थिए। प्रहरीले उनीसँग सोधपुछ ग-यो। घटनाको खास नाइके आशिष सिँजापति भएको उनले प्रहरीलाई बताए। सिँजापति हेटौंडा गएको सूचना पनि उनले दिए। प्रहरीले तत्कालै हेटौंडा प्रहरीसँग सम्पर्क राख्यो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस्तै घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई यसअघि नै पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा धादिङका आशिक लामा र किसन गुरुङ, कञ्चनपुरकी सुनीता धामी तथा मकवानपुरकी सरस्वती तामाङ थिए। सिँजापतिको उनीहरुसँग पनि कनेक्सन रहेको प्रहरीले पत्ता लगायो। तीन बालबालिका अपहरण गरेको एक दिनपछि मंगलबार सिँजापतिले टोखामा बस्ने रामेछाप दोरम्बाका २१ वर्षीय नरेश थापा मगरलाई अपहरण गरेर हेटौंडा पु-याएका थिए। सो समूहले काभ्रेका सरोज सापकोटालाई पनि अपहरण गरी हेटौंडा पु-याएको थियो। नरेश र सरोज भागेर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगी खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान थालेको थियो। त्यसक्रममा सिँजापति पक्राउ परिसकेका थिए। उनी पक्राउ परेको जानकारी हेटौंडा प्रहरीले काठमाडौं प्रहरीलाई गरायो। दुवैतिरको प्रहरी टोलीले अनुसन्धान गरेपछि अपहरणको मुख्य कारण आर्थिक लेनदेन देखिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

‘अपहरणका दुईवटै घटना लेनदेनका कारण भएको देखिएको छ,’ परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भने, ‘बच्चाहरुलाई बन्धक बनाएर राख्नु सामान्य होइन। अपहरणमा संलग्नमाथि अपहरण र शरीर बन्धक मुद्दामा कारबाही हुन्छ।’ प्रहरीले बालबालिकालाई परामर्श दिएर अभिभावकको जिम्मा लगाएको छ। अपहरण आरोपमा पक्राउ परेका सबैलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

प्रकाशित: ५ पुस २०७६ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App