७ वैशाख २०८१ शुक्रबार
समाज

माविका प्रअमाथि अनियमितताको आरोप

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविका प्रअमाथि अनियमितताको आरोप लागेको छ। स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै कालिका माविका प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन्।

विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा जम्मा भएको रकमको हिसाव पारदर्शी नराखिएको, विद्यालयको पठन–पाठन नियमित नभएको, प्रशासन चुस्तदुरुस्त सञ्चालन नगरिएको लगायतका आरोप लगाउँदै अभिभावकले प्रअमाथि प्रश्न उठाएका हुन्। आर्थिक पारदर्शीता तथा नियमित पठन–पाठनको अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएकाले प्रश्न उठाउनु परेको अभिभावक एलबी मगरले बताए।

अभिभावकले विद्यालयका लागि कम्प्यूटर खरिद गर्नेक्रममा भएको आयव्याय सार्वजनिक गर्न, पूर्वप्रअ युद्धबहादुर राईले विद्यालयको कोषमा छाडेको १० लाखको आय–व्यायका बारेमा सार्वजनिक सुनुवाई गर्न, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा बनेको नयाँ भवनमा विद्यालयको साझेदारी लागत प्रतिशत खुलाउन माग गरेका छन्।

७ बुँदे विज्ञाप्तीमा शिक्षकको नियमित उपस्थिति नहुँदा पठन–पाठन प्रभावित भएको तथा सोको कारण अधुरो रहेको पठन–पाठनलाई बाँकी समयभित्र पूर्णता दिने लिखित प्रतिवद्धता आउनुपर्ने, प्रअको इ–हाजिरीको विवरण सार्वजनिक गरिनुपर्ने, विद्यालय समयमा शिक्षक–विद्यार्थी मनोमानी घुमिरहेको देखिएकाले लिखितरुपमा कारण सार्वजनिक गर्न, एसइईको नतिजा लज्जास्पद भए पनि सुधारका कार्यक्रम तय नगर्नु र सरोकारवालाको भेला नबोलाउनुको कारण बारे जवाफ दिन, व्यावस्थापन समिति गठन प्रकृयामा भइरहेको आलटालको विषय स्पष्ट बनाउन र हाल शिक्षक अभिभावक संघमा काम गरिरहेका अध्यक्ष लगायत सदस्यको नामावली सार्वजनिक गर्न माग गरिएको छ।

पुस ७ गतेसम्ममा चित्त बुझ्दो जवाफ नआए चरणवद्ध आन्दोलन सुरु गर्ने अभिभावक मगरले बताए। आरोपका विषयमा प्रतिक्रिया लिनका लागि फोन गर्दा प्रअ राईसँग सम्पर्क हुन सकेन।

प्रकाशित: ४ पुस २०७६ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App