८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा तीन जनाको नाम सिफारिस

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रतिष्ठानका एशोसियट प्रोफेसर डा.निरेश थापासहित तीनजनाको नाम सिफारिस भएको छ।

प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी पाइसकेका एशोसियट प्रोफेसर डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै प्रतिष्ठानले शिक्षाध्यक्ष पदमा डा. थापालाई नियुक्ति गर्ने आन्तरिक गृहकार्य गरिसकेको छ। निवर्तमान रेक्टर डा.धर्मराज श्रेष्ठको कार्य अवधि जेठ २५ गते सकिएपछि सात महीनादेखि प्रतिष्ठान रेक्टरविहीन छ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा.थापाको नाम पहिलो नम्बरमा सिफारिस गरेका हुन्। दोस्रोमा प्रा.डा.भरतमणि पोखरेल र तेस्रोमा प्रा.डा.बद्री बडु सिफारिस भएको उपकुलपति वाग्लेले जानकारी दिए। उपकुलपति वाग्लेले भने,‘प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने उर्जा मिल्ने भएकोले डा.थापालाई पहिलो नम्बरमा सिफारिस गरेको हुँ। यो सिफारिसले कर्णालीको स्वास्थ्य क्षेत्रको हित गर्ने निश्चित छ।’

‘प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार शिक्षाध्यक्ष नियुक्तिको सिफारिस गरिसकिएको छ,’ उपकुलपति वाग्ले भन्छन्, ‘अब केही दिनभित्र सहकूलपतिले शिक्षाध्यक्ष नियुक्ति गरेसँगै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता आउनेछ। लामो समयदेखि रिक्त शिक्षाध्यक्ष पदले पूर्णता पाउनेछ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा प्रतिष्ठानका सिनेट सदस्य लालबहादुर सार्कीले प्रतिष्ठानमा रहेर कर्णालीका नागरिकहरुको स्वास्थ्यमा दिल दिएर काम गर्ने डा.थापाको जिम्मेवारी बढाउने प्रतिष्ठानको योजना प्रशंसनीय रहेको बताउँछन्। काठमाडौंमा बसेर कर्णाली दोहन गर्ने संस्कार र पात्रलाई पूर्ण निरुत्साहित गर्ने भन्दै यहाँका नागरिकको स्वास्थ्य क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्तित्वलाई सो पदका लागि जोड दिईएको बताए। उनका अनुसार कर्णालीको हित चाहने र यहाँको स्वास्थ्य क्षेत्रमा सुधार चाहाने व्यक्तिलाई नै शिक्षाध्यक्ष बनाउन वकालत सुरु भइसकेको छ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारी र पूर्व पर्यटन राज्यमन्त्री एवं प्रतिष्ठानका सहसंयोजक बलबहादुर महत र प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतसमेत डा.थापालाई रेक्टर बनाउँदा प्रतिष्ठानको विकासमा सहयोग पुग्ने बताउँदै आएका छन्। उनीहरुले डा. निरेश थापाको पक्षमा वकालत गरिराखेका छन्। डा. थापालाई शिक्षाध्यक्ष बनाउदा प्रतिष्ठानको आर्थिक भारसमेत कम हुने देखिएको छ।

लामो समयदेखि कर्णाली प्रतिष्ठानमै रहेर काम गरिराखेकोले यहाँका कर्मचारी पनि शिक्षाध्यक्षमा डा. थापा नै आउनु पर्नेमा जोड दिइरहेका छन्।   
 

प्रकाशित: ४ पुस २०७६ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App