८ वैशाख २०८१ शनिबार
अर्थ

सहकारीद्वारा घरमै पुगेर दूध संकलन

दूध संकलन केन्द्रमा दूध लिएर आएका किसानसँग दूध लिँदै । तस्विरः योगेश रावल

टीकापुर - टीकापुर नगरपालिका–१ वनगाउँस्थित देउराली भञ्ज्याङ कृषि सहकारी संस्थाले किसानका घरमै पुगेर दूध संकलन गर्न थालेको छ। सहकारीले घरमै पुगेर दूध संकलन गर्न थालेपछि किसान निकै खुसी भएका छन्। सहकारीले किसानको घरमै पुगेर दूध संकलन गर्न २ जना कर्मचारी खटाएको छ।

कर्मचारीद्वय कलम सुनार र असौजी घर्तीमगर दूध संकलन गर्न बिहानै किसानका घरघरमा पुग्छन्। सहकारीले दूध संकलन गरे वाफत आफ्ना कर्मचारीलाई प्रतिलिटर डेढ रुपैयाँ कमिसन दिने गरेको व्यवस्थापक आशा चौधरीले जानकारी दिइन् । उनले टाढाको किसानलाई दूध बेच्न सजिलो होस् भनेर सहकारीले दूध संकलन गर्न कर्मचारी खटाएको बताइन्। ‘कतिपय किसानले उत्पादन गरेको दूध बजारसम्म पुग्न सक्दैन थियो’ उनले भनिन्–‘सहकारीले संकलन गर्न थालेपछि दूधले बजार पाएको छ र किसानलाई आम्दानी भएको छ।’

सहकारीले बजारकै दररेटमा किसानबाट दूध खरिद गरिरहेको छ । उसले दूधको स्तर नापेर मूल्य निर्धारण गर्ने गरेकोे छ। किसानले प्रतिलिटर ३६ देखी ५० रुपैयाँसम्म पाउने गरेका छन्। यो बजारमा रहेका डेरी उद्योगले फुटकर दूध खरिद गर्ने दररेट भएको व्यवस्थापक चौधरीले बताइन्।

सहकारीले किसानको घरमै पुगेर दूध संकलन थालेको मात्रै नभई वनगाउँमा दूध संकलन केन्द्र समेत स्थापना गरेको छ। यसले वनगाउँ आसपासका किसानलाई दूध बेच्नका लागि टीकापुर बजार जानुपर्ने वाध्यता हटेको छ। सहकारीले दूध संकलन केन्द्रमै पुगेर दूध बेच्ने किसानलाई समेत दूधको मूल्य सोही अनुसार निर्धारण गरेको छ।

गाउँमै दूध संकलन हुन थालेपछि किसान दूध बेच्नेतर्फ अग्रसर हुन थालेका छन्। उनीहरुले उत्पादन गरेको दूध यसअघि टाढा बेच्न जानुपर्ने झण्झटले बिक्री हुन सकेको थिएन। ‘२÷३ लिटर दूध बोकेर त्यति टाढा को जाओस् भन्ने हुन्थ्यो। अहिले घर नजिकै दूध संकलन केन्द्र भएर सजिलो भएको छ’ वनगाउँका किसान डम्बर चौधरीले भने–‘गाईवस्तु पाल्ने किसानलाई आम्दानीको स्रोत भेटिएको छ।’

सहकारीले यही मंसिर १ गतेबाट दूध संकलन थालेको हो। उसले अहिले आफ्ना ३९० शेयर सदस्य रहेका किसानबाट मात्रै दूध संकलन गरिरहेको छ। सहकारीका शेयर सदस्य टीकापुर नगरपालिकाको वडा नं. १ र ३ मा रहेका छन्। सहकारीले संकलन गरेको दूध टीकापुरमा रहेको बर्दादेवी डेरी उद्योगलाई बेच्ने गरेको छ। सहकारीका अध्यक्ष सुन्दर भगोरीयाले माग भए अन्य डेरी उद्योगलाई समेत दूध उपलब्ध गराउन सक्ने बताए। ‘माग भयो भने अरुलाई पनि बेच्न सकिन्छ’ उनले भने–‘हामी बढी भन्दा बढी दूध संकलन गरेर किसानको आर्थिक स्तर बढाउन प्रयासरत छौं।’

सहकारीलाई दूध संकलनमा गुड नेवर्स इन्टरनेशनल र सेवक नेपालको साझेदारीमा सञ्चालित सामुदायिक विकास परियोजनाले ३ लाख ३५ हजार ६८८ रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ। संस्थाले २ वटा डिफ्रिज, ५ वटा ल्याक्टोमिटर, २ वटा सेन्टीफयुज मेसिन, एउटा बटरकमेकर मेसिन, एउटा मिल्क प्याकिङ मेसिन, २ वटा ल्याक्टोजार, एउटा क्रिम सेपारेटर मेसिन, २ सेट तराजु, ग्यास, ६ वटा ठूलो मिल्क क्यानल (दूध संकलन गर्ने भाँडो), ६५ वटा सानो मिल्क क्यानल सहयोग गरेको छ। सानो मिल्क क्यानल सहकारीले किसानलाई वितरण गरेको छ।

यसका साथै संस्थाले सहकारीमार्फत किसानलाई पशुपालन सम्बन्धी विभिन्न तालिमहरु प्रदान गर्दै आएको अध्यक्ष भगोरीयाले बताए। उनले गाईभैँसीमा लाग्ने रोगब्याधीमा समेत संस्थाले उपचारको व्यवस्था गरिदिने गरेको जानकारी दिए। संस्थाले निम्न आर्थिक अवस्था भएका किसानलाई दूध बेचेर भएपनि थोरै आर्थिक सहुलियत होस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ। संस्थाकै पहलमा २०७२ पुसमा यो सहकारी स्थापना भएको थियो।

प्रकाशित: ४ पुस २०७६ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App