‘देह व्यापार काम होइन’

शनिबार, १८ असार २०७३, ०९ : २४ नागरिक

रुचिरा गुप्ता अन्तर्राष्ट्रिय देह व्यापार र मानव व्यापारविरुद्धकी अभियन्ता हुन् । उनले ‘अपने आप विमन वल्र्डवाइड’ स्थापना यसै अभियानका लागि गरेकी हुन्। देह व्यापारमा लागेका महिलाबारे लेखिएका कथासंग्रहकी सम्पादक रुचिरासँग स्क्रोल डट इनका लागि डा. लिज म्याकिनद्वारा न्युयोर्कमा लिइएको अन्तरवार्ताको अनुदित तथा सम्पादित अंश:

तपाईंको नयाँ पुस्तक ‘रिभर अफ फ्लेसः द प्रस्टिच्युटेड वुमन इन इन्डियन सर्ट फिक्सन’बाटै कुराकानी सुरु गरौँ न !
२१ वटा कथाको संकलन हो । यसलाई आधुनिक भारतीय लेखकले एउटै विषय देह व्यापारमाथि लेखेका छन् । यसमा संलग्न १२ कथाचाहिँ अन्य भाषाबाट अनुवाद गरिएका हुन् । कथा एक शताब्दीयताका छन्। भारतीय प्रायद्विपका कथा बोकेको यस संग्रहले भारतीय आधुनिकता तथा विविधताको प्रयोग गर्न खोजेको छ।
मैले कथाको खोजी गर्दा यो साँच्चिकै बेग्लै काम होला भन्ने महसुस गरेकी थिएँ । संकलन गरिएका कतिपय लेखकमध्ये केहीलाई मैले कहिल्यै भेट्न सकिनँ, कतिसँग उही भाषामा संवाद गर्न सकिनँ, तर पनि देह व्यापार प्रणाली र महिलाका बारेमा तिनको भावना तथा अवस्था उस्तै रहेको पाएँ । लेखकहरू सबैभन्दा बढी पीडित, अधिकारहीन देहव्यापारी महिलाबारे संवेदित पाएँ । पुरुष भएर महिलाका भावलाई सफलतापूर्वक लेख्नु र महिला भएर पुरुषका संवेदना केलाउन सक्नु ठूलो कुरा लाग्यो मलाई ।
कमलेश्वरको कथाले एउटी देहव्यापारी महिलाले पुरुषको गोडाको तीव्र गन्धलाई जसरी मज्जाले व्यक्त गरेका छन्, उसैगरी अर्का लेखक सआदत हसन मन्टोले देहव्यापारी महिलाको गज्जबले निदाउने चाहनाका बारेमा चकित पार्ने तरिकाले लेखेका छन् । त्यस्तै मनीषा कुल श्रेष्ठले नग्न मोडलका रूपमा आफूले अँगालेको पेशाप्रति आफ्नो छोरोको आक्रोशलाई मज्जाले उतारेकी छन् । लेखिकाहरूले देहव्यापारमा सेवाका लागि आएका क्रेता, दलाल र ठूलाठालुको पहिचान कसरी लुप्त हुन्छ भन्ने मज्जाले देखाएका छन् । यी सबै कथामा देहव्यापार असमान प्रणालीको परिणामका रूपमा आएको स्पष्ट देखिन्छ । गरिबी र राज्यबाट विमुख, पुराना जमिनदारी संस्कृति र ब्राह्मणवादी जाति प्रणालीका कुरूपता कथामा देखिन्छन् । कुनै कथामा पनि देहव्यापारलाई रोमान्टिक बनाइएको छैन । देहव्यापारका महिलालाई मानविकीकरण गरिएका छन् । तिनले कसैलाई प्रेम गर्छन्, कसैप्रति लोभिन्छन्, रिसाउँछन् र धोका दिन्छन् । तिनका शोषणलाई तिनका भावनामार्फत् बिनाहिच्किचाहट खुलासा गरिएका छन् ।
कथामा पुरुषहरू अमानवीय छन्, त्यहाँ तिनका अहम् र गहिरोगरी टाँसिएको लिंगीय भूमिका आएका छन्। परिवार पाल्ने क्षमता नभएका पुरुष पनि स्त्रीजन्य कामुकतालाई नियन्त्रण गर्न खोज्छन् । प्रेमचन्दको कथा ‘गर्वको कुरा’मा पुरुषले आफ्नी श्रीमतीलाई कुट्छ, बाँध्छ, एउटी देह व्यापार गर्ने महिलालाई घरैमा ल्याउँछ । अनि जसै श्रीमतीले पनि देह व्यापार अँगाल्छे, उसले आत्महत्या गर्छ । केही कथा भारत स्वतन्त्र हुनुअघिका छन् भने केही विभाजनपछिका । मन्टो जो पाकिस्तान र भारतका ख्यातिप्राप्त उर्दु लेखक हुन्, उनी स्वतन्त्रतापछि पाकिस्तानको लाहोर सहरमा बसाइँ सरे । उनले दिल्ली, मुम्बई र लाहोरका देह व्यापार गर्ने महिलाबारे लेखेका छन् ।
अर्का लेखक कृष्ण चन्दरले ‘एउटी वेश्याको चिठ्ठी’ कथामा पाकिस्तानका प्रधानमन्त्री जिन्ना र भारतका प्रधानमन्त्री नेहरुलाई एउटी हिन्दु र अर्की मुस्लिम देहव्यापार गर्ने महिलाले चिठ्ठी लेख्छन् । कथामा उनीहरू कसरी भारत विभाजनका कारण घरवारविहीन हुन पुगे र अन्त्यमा कसरी कोठीमा पुगे भन्ने मार्मिक कथा छ ।
समग्रमा ‘रिभर अफ फ्लेस’ले महिलाहरूलाई गरिबी र असमानताबाट निकाल्न देह व्यापार एउटा प्रणालीका रूपमा कति निरर्थक छ भन्ने देखाउँछ । देह व्यापारमा भएका महिलाका करुणा देखाएर कथाकारले तिनीहरू कामुक होइनन् बरु देशको प्रणाली बौलाहा हो भन्ने प्रमाणित गरिदिन्छन् । तिनीहरू राजनीतिको असमान प्रणालीका पीडित हुन् ।
कोही किन यो पेसामा लाग्छन् ? किनभने उनीहरू गरिब हुन्छन्, उनीहरू असहाय, नारी, तल्लो जातका र प्रायः किशोरी हुन्छन् । तिनका छनोट हुँदैनन् र वास्तवमा छनोटको अभाव तिनको समस्या हो । उदाहरणका लागि ‘अ डल फर द चाइल्ड प्रस्टिच्युट’ कथामा कमला दासले एउटी बालिका आफ्नै सौतेनी बाउबाट बलात्कृत भएपछि आमाले उसलाई वेश्यालयमा जमानीका लागि छाडिदिन्छे । महिला कति प्रताडित छन् भन्ने अर्को मराठी कथा ‘वुमन अफ दि स्ट्रिट’मा दलित लेखिका बबुराओ बागुलले मार्मिक तरिकाले पेस गरेकी छन् । त्यसमा छोरोको ज्यान जोगाउन सडकमा पुगेकी एउटी स्त्री पैसाका लागि यौन सम्पर्क गर्न तयार हुन्छे, तर पसलेले पैसा दिँदैन, अर्को ग्राहकले ऊसँग यौन सम्पर्कपछि दिएको पैसासँगै अरु पैसा थुतेर, कुटेर, मर्नका लागि छाडी टाप कस्छ । राजनीतिक प्रणालीले यस्तो वृत्तिमा लागेका महिलालाई अझ बढी असमानतामा धकेलेको छ ।
‘अन्तिम ग्राहक’शीर्षकको कन्नड कथाले त सबै हद पार गरिदिन्छ, जब शरीर बेचेर थङथिलो भएकी स्त्री आफूलाई थेग्न नसकेर खेतमै पछारिन्छे र उसको शरीर लुछ्ने अन्तिम ग्राहकका रूपमा गिद्दसमेत तिनको वरिपरि घुम्न थाल्छ । यी सबै कथाले देह व्यापारलाई महिलाको कोणबाट पर्गेल्ने प्रयास गरेका छन् ।
‘रिभर अफ फ्लेस’ संग्रहले तपाईंको नारीवादी र मानव तस्करीविरोधी कार्यकर्ताको कामलाई कसरी सम्बोधित गर्छ त ?
म यौनलाई व्यापारको वस्तु बनाइनु हुँदैन भन्नेमा दृढ छु । यसका लागि बढीभन्दा बढी लड्न चाहन्छु । जब यौन किन्ने कुरालाई सहिँदैन त्यसपछि किन्ने कुराको अन्त्य हुन्छ । यसले देह व्यापारको अन्त्य हुन्छ र यसका लागि कुनै महिला तथा बालबालिकाको तस्करी हुने छैन । अभियानकर्मीका रूपमा २० वर्षभन्दा लामो समयदेखि काम गरिरहँदा मैले भोगेको चुनौती भनेको कसैलाई पनि यसको अन्त्य गर्ने हतारो देख्दिनँ । शोषणको गहिराइ वा विशालता कसैले पनि महसुस नगर्नु दुःखलाग्दो कुरा हो ।
बाहिरबाट देह व्यापारलाई हेर्दा गरिबले यौनवापत पैसा पाइरहेको छ, कसैको खराब वैवाहिक जीवनभन्दा देह व्यापार राम्रो वा कुनै प्रफुल्ल भएको दलालको चित्र देख्नु भनेको यो पेसालाई गलत तरिकाले बुझ्नु हो। तिनले कहिल्यै पनि त्यहाँ भित्रका महिलाको भावना बुझेका छैनन्, तिनको दैनिक जीवनको वास्तविकता बुझेका छैनन् ।
यी कथा संकलन गर्नुको मेरो एउटा उद्देश्यचाहिँ तिनले विवाहको सट्टा आफै यौन व्यापार छनोट गरेका हुन् भन्ने केहीको बुझाइविरुद्ध हो । उनीहरूले कोसँग सुत्ने, कहिले सुत्ने र कमाइको नियन्त्रण आफैसँग हुने विश्वास यो पेसालाई नबुझ्नेहरूको छ । तर, कथामा मज्जाले निदाउने चाहना बोकेकी, आफ्नो मनले चाहेको खान नसक्ने, रोग बोकेका पुरुषलाई अस्वीकार गर्न नसक्ने वा भनौँ क्रूर ग्राहकको पिटाइबाट बच्ने चाहना राख्नेका पीडाचाहिँ कसले भनिदेओस् ! यस्ता महिलाले आफूले कमाएको पनि आफूसँग राख्न सक्तैनन् । दलाल, वेश्यालयका व्यवस्थापकले तिनको पैसा नियन्त्रण गर्छन् ।
यो पेसाका सम्बन्धमा गहिरो चेतना फैलाउने एउटै बाटो तिनका बारेमा लेखिएका कथा हुन सक्छन् भनेर मैले यो संकलन गरेकी हुँ । कहिलेकाहीँ वास्तविक भोक्ताले बोलेका कुराभन्दा कथाले सैयौँ गुणा बढी सन्देश बोल्न सक्छन् ।
कहिलेकाहीँ कथाभन्दा पनि तथ्य–तथ्यांकलाई मानिसले बढी विश्वास गर्लान् नि ?
तथ्यांकले चाहिँ कन्डममात्र बाँड्ने काम गर्छ । गेट्स फाउन्डेसनले एउटा कार्यक्रम ‘स्मार्ट’ सुरु ग¥यो । एड्स नियन्त्रणका लागि यो कार्यक्रम आयोजन गरिएको थियो । तिनले एड्स रोक्नका लागि सर्वसाधारणलाई त्यहाँ नजान कार्यक्रम चलाएन, मात्र उसले कन्डम वितरण गरेर एड्स नियन्त्रण हुन्छ भन्ठान्यो र बाँड्यो । कन्डमले पुरुष ग्राहकलाई मात्र रक्षा गर्छ । तिनले महिला र बालिकाको खतरा कहिल्यै महसुस गरेनन् । किनभने कन्डम वितरण गर्दा संख्या देखिन्छ, तथ्यांक देखिन्छ, तर महिला सशक्तीकरण कहिल्यै तथ्यांकमा देखिँदैनन् । कन्डम वितरणले यौन व्यापार झन् चम्किन्छ, महिला सशक्तीकरण कहिल्यै हुँदैन । कन्डम वितरणको साटो तिनले भोजन, लुगा, बसोबासको थलो र शिक्षा उपलब्ध गराए यसको समाधान हुन्थ्यो होला । मानव समस्यामा व्यवहार गर्दा कुनै विशिष्टताभन्दा पूर्णता चाहिन्छ, गणनाभन्दा अनुभवजन्यता अनि हासिल भएका कुरामा भन्दा आदर्शवादी पक्ष चाहिन्छ । हामीले परिणाममुखी कुरामा मात्रै ध्यान दिनुभन्दा दृष्टिकोणयुक्त तथा समयबद्धताभन्दा दिगो कुरामा जोड दिनुपर्छ। त्यसैले मैले छानेका कथा ‘वस्तु’ होइनन्, ‘अनुभूति’का कुरा हुन् । वेश्यालयमा बाल यौन दूराचार रोक्न ‘चाइल्डलाइन’ भन्ने टेलिफोन सेवा उद्घाटन गरियो, तर बालबालिकाले आफूमाथि भएको दूराचारका बारेमा गुनासो गर्न तिनीहरूसँग फोन हुन्छ त ? पक्कै पनि हुँदैन ।
वास्तवमा देह व्यापारका बारेमा धेरै भ्रम छन् । हामीले कहिलेकाहीँ ‘प्रेटी वुमन’ फिल्म हेरेर वा ‘स्मार्ट’जस्ता अनुसन्धान गरेर मात्रै समस्या ठ्याक्कै पत्ता लगाउनचाहिँ सक्तैनौँ, हैन ?
हो नि, ‘प्रेटी वुमन’ फिल्ममा देखाइएजस्तो अवस्था त देहव्यापारीको हुँदैहुँदैन । त्यस्तै हल्यान्डजस्तो देशमा सशक्त ‘देहव्यापारी’ युवतीको अवस्था सबै ठाउँमा हुन्छ भन्ने छैन । मैले संकलन गरेका कथामा महिलाहरूले ग्राहक आकर्षित पार्न खुसी भएको अभिनय गर्छन् । तिनले कहिल्यै पनि देहव्यापारका माध्यमले शक्ति पाएका छैनन् । बरु उल्टै रोग थपिन्छन्, लागु पदार्थको दलदलमा फस्छन्, गरिबी र हिंसाको चपेटामा पर्छन् । एउटा कथामा थकित युवती थकान मेट्न फुर्सद् पनि पाउँदिन । ग्राहक जतिसुकै मोटे होस्, गन्हाउने, फोहोरी, रोगी र हिंस्रक होस्, उसले तिरेको रकम फिर्ता गर्ने सोच नै आउँदैन । यसको असर त्यो महिलाले दोहो¥याइतेहे¥याइ भोग्नुपर्छ ।
तिनको कमाइ कम्पनी र दलालले नियन्त्रण गर्छन् । कमाउनुको साटो उनीहरू अझै बढी ऋणमा फस्छन्। ऋणका कारण भ्रष्ट प्रहरी, वेश्यालयका मालिक, दलालको चंगुलमा परिरहन्छन् । त्यो चक्रव्यूहबाट उनीहरू निस्कनै सक्तैनन् । पछि त उनीहरूका लागि दुई छाक जुटाउनै धौधौ हुन्छ । त्यसमाथि सन्तानको पढाइ र अन्य कुरा त टाढै हुन्छन् ।

तपाईंको बीस वर्षे अध्ययनमा देह व्यापारले महिलाहरू झनै बढी प्रताडित भएको देख्नु हुन्छ ?
वास्तवमा अध्येताले बाहिरी र बोक्रे अध्ययनमात्र गरेका छन् । कतिपय वेश्यावृत्तिलाई अलिकति शाब्दिक परिवर्तन गरेर देह व्यापार भन्छन् । यस्तै अन्य शाब्दिक जार्गन प्रयोग गर्छन् । त्यसले तिनको जीवनमा रत्तिभर फरक पारेको छैन । यी सबैको अर्थ छैन । अर्थ कहाँनेर छ भने जब हामी आधुनिक युगमा छौँ भने जहाँसुकै हुने अन्यायको अन्त्य हुनुपर्छ । देहव्यापारमा लाग्नेहरूमाथि ठूलो अन्याय भइरहेको छ । किनभने बलात्कार भन्ने चिज भयो भने त्यहाँ कानुन लाग्छ, सजाय हुन्छ तर देह व्यापारमा लाग्नेहरूले अनिच्छितरूपमा यो काम गरिरहनुपरेको छ भने त्यो बलात्कार हो कि होइन भनेर कसैले सोचिदिँदैन । उनीहरूले त्यहाँ ‘सेक्स वर्क’ भनेर काम ठानिदिन्छन् । देह व्यापार काम होइन । बरु त्यो त कामको विकल्प नभएको अवस्था हो । जुनसुकै देहव्यापारकी युवतीलाई सोध्नुस्, उसले देह व्यापारको विकल्प पाउनेबित्तिकै यो काम छाडिदिन्छे ।
तपाईंले पुस्तक पाकिस्तान र भारतमा सार्वजनिक गर्नुभयो । तेस्रो पटक न्युयोर्क सहरमा गर्नुभयो । आफ्नो अभियानको २०औँ वर्षको उपलक्ष्यमा तिनका समस्यालाई साहित्यमार्फत् बाहिर ल्याउन खोज्नु भयो । देह व्यापार वा महिला तथा बालिका बेचविखनविरुद्धको अभियानको महŒवपूर्ण क्षण केलाई मान्नुहुन्छ ?
मार्च महिनाभरि संयुक्त राष्ट्रसंघले महिलाको अवस्थाबारे छलफल चलायो । त्यो छलफलमा संसारका धेरैजसो मुलुक र महिलासम्बन्धी काम गर्ने गैरसरकारी संस्थाका सदस्यको सहभागिता थियो । त्यहीँ यो पुस्तकको प्रकाशनलाई उनीहरूले महत्वपूर्ण कदम माने । मेरा लागि यो ठूलो पुरस्कार नै भयो ।

तपाईंको कथासंग्रहलाई त हलिउडका सेलिब्रिटीले पनि सराहना गरे नि ?
त्यै त । यसलाई मलाई भारतीय कथा भूमण्डलीकृत भएछ भन्ने बुझायो । मेरो अभियान पनि विश्वस्तरमै पुग्न सकेकामा सन्तोष लाग्यो । एस्ली जुड, केरी लोवेल, जेसिका मिन्हास, यस्मिन हसनजस्ता अभियानकर्मीले यसलाई रूचाउनु राम्रो कुरा हो ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad