coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बढ्दो व्यापार

मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारको विषय पेचिलो बनेको छ। करिब दशकयतानिर्यातको तुलनामा उच्च आयात सिर्जित व्यापार घाटाले अर्थतन्त्रलाई नराम्रोसँग गिजोलेको छ। पछिल्लो वर्ष मुलुकले खर्ब हाराहारीका सामान निर्यात गर्दा करिब १३ खर्ब रुपैयाँका सामान आयात गरेको छ। यस अर्थमा १ रुपैयाँको सामान विदेश पठाउँदा १३ रुपैयाँ बराबरका सामान हामी किनिरहेका छौं। ३५ खर्ब हाराहारीको सानो अर्थतन्त्र भएको मुलुकमा करिब १२ खर्ब रुपैयाँ व्यापार घाटा हुनु कुनै पनि अर्थतन्त्रका लागि राम्रो होइन। उच्च व्यापार घाटा समस्यामा अहिलेसम्म रेमिटेन्सले भरथेग गरिरहेको छ। नेपाली युवाले विभिन्न विदेशी भूमिमा काम गरेर करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स पठाएका छन्। यत्तिको परिमाणमा रेमिटेन्स नआएको भए अहिलेको पाकिस्तानजस्तै नेपाल पनि समस्या भोग्न बाध्य हुने थियो। विदेशी विनिमय सञ्चितिमा आएको कमीले पाकिस्तान अहिले आयातित सामानको भुक्तानी गर्न नसक्ने अवस्थामा छ। रेमिटेन्सको भरथेग नभएको भए हामी पनि आयातित वस्तुको भुक्तानी गर्न नसकेर समस्यामा हुने थियौं। निर्यात र आयातको यही असजिलो अवस्थामा परेको अर्थतन्त्रमा चालु वर्ष भने केही शुभ संकेत लिएर आएको छ।साउनदेखि नै आयात कम र निर्यात बढ्न थालेको छ। वर्षको पहिलो ४ महिना कात्तिकसम्म पनि आयात निरन्तर घटिरहेको छ र निर्यात क्रमशः बढिरहेको छ। यही कारण व्यापार घाटा पनि कम हुँदै गएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको अंश ज्यादै कम भएका कारण निर्यातमा भएको  सुधारले व्यापार घाटा धेरै घटाउन विशेष भूमिका खेल्न सक्दैन। यही बेला आयातसमेत घटेका कारण उच्च व्यापार घाटा समस्यामा केही मलम भने लगाएको छ।

सरकारी तथ्यांकले यो वर्षको कात्तिकसम्म ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको देखाएको छ। अहिलेसम्म नेपालले ३६ अर्ब २८ करोड रुपैयाँ बराबरका सामान निर्यात गरेको छ  भने ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँका सामान आयात गरेको छ।

सरकारी तथ्यांकले यो वर्षको कात्तिकसम्म ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको देखाएको छ। अहिलेसम्म नेपालले ३६ अर्ब २८ करोड रुपैयाँ बराबरका सामान निर्यात गरेको छ  भने ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँका सामान आयात गरेको छ।यो वर्ष व्यापार घाटा कम हुनुमा पहिलो कारण आयात घटनु र दोस्रो निर्यात बढनु हो। अघिल्लो वर्षसँग तुलना गर्दा गतवर्ष ३५.८ प्रतिशतले बढेको आयात यो वर्ष उल्टै ६.९ प्रतिशतले घटेको छ। यस्तै निर्यात पनि २३.९ प्रतिशतले बढेको छ। आयात निर्यातको यही तथ्यांकले कूल व्यापार घाटा पनि ८.९ प्रतिशतले कम भएको छ। गतवर्ष व्यापार घाटा ३७.८ प्रतिशतले उल्टै बढेको थियो। व्यापार घाटा कम भएका बेला अर्थतन्त्रका अरू सूचकहरू पनि त्यत्ति नराम्रा छैनन्। विदेशी विनिमय सञ्चिति बढेको छ भने शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा छ। सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सकेको छैन। अर्कातिर यही बेला अर्थतन्त्रलाई भरथेग गरिरहेको रेमिटेन्स आय भने यो वर्ष लगातार घटेको छ। अहिलेसम्म ३ खर्ब ४ अर्ब ९७ करोड रेमिटेन्स आएको छ। व्यापार घाटा कम भएका बेला रेमिटेन्स बढ्न सके अर्थतन्त्रलाई थप राहत मिल्ने थियो।

नेपालको वैदेशिक व्यापार भारतकेन्द्रित बनिरहेको छ। आयात–निर्यात दुवै भारतसँग बढी छ। यो वर्ष नेपालको निर्यात भारतसँग मात्र बढेको छ। छिमेकी मुलुक चीन र अधिकतर तेस्रो मुलुकमा निर्यात घटेका छन्। सरकारले भारतमा जस्तै चीन र तेस्रो मुलुकमा पनि निर्यात बढाउने पहल गर्न जरुरी छ।सरकारले डेढ दशकअघि नै निर्यात बढाउन विभिन्न पहल गरिरहेको छ। निर्यातको सम्भावना भएका वस्तुको सूची तयार गरेर त्यस्ता वस्तु उत्पादन गर्ने व्यवसायीलाई विभिन्न सुविधा पनि दिइरहेको छ। निर्यातयोग्य वस्तुलाई कर छुट र निर्यात गर्दा लाग्ने करमा पनि छुट दिइरहेको छ। तर पनि सरकारले राखेको लक्ष्यअनुसार निर्यात बढ्न सकेको छैन। एक खर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भनेको खासै ठूलो कुरा होइन। निर्यात बढाउन सकिँदैन भने आयात कम गरेर पनि व्यापार घाटा घटाउन सकिन्छ। आयातमा उच्च अंश रहेका पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, मेसिनरी सामान, सवारीसाधनलगायतको आयात तत्कालै कम गर्न सम्भव नहोला। तर ५ खर्ब रुपैयाँभन्दा माथिको आयात हुने कृषिजन्य पदार्थको आयात घटाउन भने त्यति गाह्रो विषय होइन। हामीले आफ्नो भान्सा आफ्नै उत्पादनबाट तयार ग¥यो भने यो सम्भव छ। सरकारले हरेक वर्षको बजेटमार्फत मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउने गरेको छ। तिनै कार्यक्रमलक्ष्यअनुसार सञ्चालन गरेर नतिजा ल्याउन सके मात्र पनि तत्काललाई व्यापार घाटाबाट तर्सिनुपर्ने अवस्था रहँदैन। त्यसैलेनिर्यातमा सुधार आएका बेला कृषिजन्य वस्तु उत्पादनमा जोड दिन सरकारले पहल गर्नुपर्छ। 

प्रकाशित: ४ पुस २०७६ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App