८ वैशाख २०८१ शनिबार
समाज

‘न न्याय न राहत’

वीरेन्द्रनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै रत्नबहादुर, शान्ति सुनारलगायत। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत – २०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठजना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको वन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए। बेलुका आठ बजेतिर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती त्यहाँ पुग्यो। सेनाको गस्ती आएको थाहा पाएपछि रत्नबहादुरसहित केही भागे। गस्तीका सैनिकले १३ वर्षीया चन्द्रकला सुनार, ३५ वर्षीया देवीसरा र २८ वर्षीया अमृताको हत्या गरे। उनीहरूसँगै रहेका कृष्णबहादुर सुनारलाई पक्राउ गरियो। घटना भएको १० वर्ष पुग्न लाग्दा पनि पीडितले न न्याय पाएका छन्, न सरकारबाट राहत नै।

छोरी चन्द्रकला, पत्नी देवीसरा र भाउजु अमृता गुमाएका रत्नबहादुर न्यायको खोजीमा वीरेन्द्रनगर धाइरहेका छन्। रत्नबहादुरलगायत पीडित परिवार नेपाली सेनाको तत्कालीन ज्वाला दल गणका उपसेनानी सुबोध कुँवरसहित १७ जनालाई कारबाही माग गर्दै विभिन्न निकाय धाइरहेका छन्। ‘घटना भएको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न्याय मिलेको छैन्,’ रत्नबहादुरले भने, ‘पत्नी र फूलजस्ती छोरी अनि भाउजू गुमाउँदाको पीडा अहिलेसम्म कसैले पनि बुझिदिएनन्।’

सो घटनाका पीडितहरूले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे। पीडित परिवारले अहिलेसम्म सरकारबाट किरिया खर्चबापत तीन लाख रुपैयाँ मात्रै पाएका छन्।

रत्नबहादुर वनमा काउलो काट्न गएर फर्कंदा निकुञ्ज क्षेत्रमा पानी खान र काउलो सुकाउन मिल्ने ठाउँ भएकाले आफूहरु त्यहाँ बसेको बताउँछन्। ‘जंगलबाट काउलो र झाडु ल्याएर बजारमा बिक्री गरी वर्षौंदेखि जीविकोपार्जन गर्दै आएका थियौं,’ उनले भने, ‘बिनागल्ती आफन्त मार्नेलाई कारबाही माग गर्न थालेको १० वर्ष हुन लाग्यो तर अहिलेसम्म न्याय पाएका छैनौं।’

घटना छानबिन गर्न गठित संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत संघसंस्थाले मारिएका ती महिला निर्दोष र निहत्था रहेको निष्कर्ष निकालेका थिए। तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वमा गठित १० सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरेर मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो। संसदीय समितिको निर्देशन पनि राज्यले पालना गरेको छैन्। ‘हाम्रो नाममा आएको क्षतिपूर्ति अरु कसैले पो खाए कि’, सेनाको गोलीबाट आमा गुमाएकी शान्ति सुनारले भनिन्, ‘न राज्यले दिने भनेको क्षतिपूर्ति पाइयो न दोषीमाथि कारबाही भयो।’

घटनापछि नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जले मृतकका छोराछोरीलाई उच्च शिक्षासम्म पढाउने र जागिरको व्यवस्था गरिदिने बाचा गरेका थिए। त्यो बाचा पनि पूरा नभएको पीडित परिवारका सदस्य बताउँछन्। ‘मरेका फेरि फर्केर आउने त होइनन् तर उनीहरूको मृत्युले बेसहारा भएकालाई जीवन निर्वाहका लागि क्षतिपूर्ति र निहत्था मानिस मार्नेलाई कारबाही भइदिए पुग्थ्यो,’ शान्तिले भनिन्, ‘हाम्रो आवाज अहिलेसम्म सरोकारवालाले सुनेनन्।’ पीडित परिवारहरुले २०६६ यताका सबै प्रधानमन्त्रीलाई भेटेर हत्यारालाई कारबाहीको माग राखे पनि उदासिन बनेको आरोप लगाएका छन्।

प्रकाशित: ४ पुस २०७६ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App