७ वैशाख २०८१ शुक्रबार
विचार

दुर्घटनै दुर्घटना

एकपल्ट फेरि प्रधानमन्त्रीले सम्बन्धित कर्मचारीलाई बढ्दो सवारी दुर्घटनाप्रति सचेत गराएका छन्। यातायात मन्त्रालय तथा विभागका सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीले यसअघि पनि यस्तो ध्यानाकर्षण गराएका छन्। तर जति भने पनि  नसुन्ने बानी भएका मन्त्रालयका अधिकारीले ध्यानै दिएनन्। केही दिनअघि सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाले त प्रधानमन्त्रीलाई निद्रै लागेन। दुर्घटनामा आमाको मृत्युभएपछि दुधे बालक बेवारिसे भएको घटनाले प्रधानमन्त्रीलाई निकै भावुक बनायो। १५ जनाको मृत्यु भएको यो दुर्घटनाले प्रधानमन्त्रीले खाना खान पनि सकेनन्। झन् ती मृतकका परिवारको हालत के भएको होलो ?

विकासको पूर्वाधार सडक हो, यो बन्नुपर्छ। तर नेपालमा सडक निर्माण ठेकेदार र राजनीतिक दलका नेतालाई कमाउने भाँडो बनेको छ। उनीहरू सडक निर्माण ठेक्काबाट कसरी र कति खाने भन्ने योजना बनाउँछन्। पप्पुजस्ता ठूला ठेकेदार कम्पनीका कर्तुत त सार्वजनिक भएकै छन्। सडक बन्नै लामो समय लाग्छ। बने पनि केही महिनामै मर्मत गर्नुपर्ने हुन्छ। म सम्झन्छु– इलामको मेचीमार्ग बनेको तिथिमिति इलामेले बिर्सिसके, तर सडक अझै कहीं सानो कोतरिएको पनि छैन। झापाको बुधबारेबाट फिक्कल हुँदै इलाम जाने र दारजिलिङको फाटकसम्म जाने सडक बेलायत सरकारले निर्माण गरिदिएको हो।

४०–५० वर्ष भइसक्दा पनि त्यो सडक जस्ताको तस्तै छ। मर्मतसमेत गर्नुपरेको छैन। त्यो सडक निर्माणपछि अस्टे«लिया फर्केका ब्रिटिस इन्जिनियर वेदरअलको निधन भइसक्यो, तर सडक उस्तै छ। सम्झनुहोस्, नेपाली ठेकेदारले निर्माण गरेका भए त्यो सडकमा अहिलेसम्म कति दुर्घटना भइसक्थे होलान् ! हामी काम गर्छौं, तर हामीभित्रको लोभलालचले हामीलाई राम्रो काम गर्ने जाँगरै आउँदैन। सरकारी काम भनेर लटरपटर गर्ने र अर्को योजना हात पार्नेतिर लाग्छौं। अनि कसरी राम्रो सडक बन्छ ?

विकासको पूर्वाधार सडक हो, यो बन्नुपर्छ। तर नेपालमा सडक निर्माण ठेकेदार र राजनीतिक दलका नेतालाई कमाउने भाँडो बनेको छ।

भर्खरै सिन्धुपाल्चोकमा भएको बस दुर्घटना घुम्तीनजिक भएको थियो। सडकमा चालकलाई घुम्ती आउँदै छ भनेर सचेत गराउने एउटा बोर्ड राखिएको भए, त्यति ठूलो दुर्घटना हुने थिएन कि ? सूचना बोर्डले पनि धेरै दुर्घटना रोक्न सकिन्छ। पहाडको टुप्पोतिरका बाटामा तल नदीमा बस खस्न नपाओस् भनेर स्टिलबार राख्नुपर्छ। यस्तो युरोपलगायत अन्य देशमा देख्न सकिन्छ।

मेरो एउटा अनुभव ः काठमाडौं पुरानो बानेश्वरको हाइटमा पुरानो सडक मर्मत क्रममा थियो। नयाँ सडकमा पिच हुँदै थियो। बाटोको छेउमा स्थानीय  रमिता हेरेर बसेका थिए। एउटा इन्जिनियर पनि त्यहाँ आफ्ना कामदारलाई काम लगाउँदै थिए। चासो लागेर मैले ती इन्जिनियरलाई सोधेंं– ‘तपार्इंहरू बाटो त बनाउनुहुन्छ, तर ३ महिनामा अलकत्रा उप्किएर खाल्डो पर्छ किन होला इन्जिनियर साब ?’ उनले जवाफ दिए, ‘शर्माजी मैले यसको कटु यथार्थ बताइदिएँ भने तपाईं अचम्मित बन्नुहुन्छ।’ मैले आग्रह गरें, ‘कृपया मलाई अचम्मित पारी कृतार्थ गर्नुहोस् !’ उनले भने, ‘शर्माजी हामीले बाटो बनाउन, तल्लो रकम दरको ठेक्का हाल्नुपर्छ। नभए, बढाएर हाल्नेले नै पाउँछन्।’

उनी खुल्दै गए– ‘हामीले ठेक्का पाइहाले पनि त्यो काम हात पार्न निकै कठिन हुन्छ। पिउनदेखि हाकिमसम्म हाम्रा फाइल पुगिसक्दा ठेक्काको झन्डै आधा रकम सकिन्छ। अनि कुन पैसाले राम्रो बाटो बनाउने ? त्यसपछि पनि सडक निर्माणका क्रममा स्थानीय राजनीतिक कार्यकर्ता आएर धम्क्याउने र पैसा खाने कुरा त बेग्लै छ। अनि कसरी बन्छ नेपालमा राम्रो सडक ?’

उनको उल्टै प्रतिप्रश्नले मेरो चित्त बुझ्यो। एकछिन ती युवा इन्जिनियरसँग यस्तै केही कथा सुनेर बाटो बनेको हेरिरहें। त्यसको केही महिनापछि बर्खा लाग्यो, सडकका ठाउँठाउँमा खाल्डो, पिच त त्यहाँबाट हराइसकेछ। यस्तै छ– हाम्रो बाटोको कथा !

अहिले नेपालमा योग्य र उचित मान्छेले भन्दा राजनीतिक दलका समर्थक र अझ भनौं सत्ताधारी दलका अयोग्यले नै सडक निर्माणको ठेक्का पाउँछन्। यो नेपालमा देखिएको एउटा राजनीतिक विकृति भनौं वा समस्या हो। बाटो बनाउने ठेक्का लिने मालिकका आफ्नै मान्छे हुन्छन्, कामै नजान्नेले गरेको काम कच्चा हुनु त स्वभाविकै हो। त्यसैले अहिले नै हेर्नुहोस् न– दुर्घटना नभएको दिन हुँदैन। लामो दूरीमा  चालक दुईजना राख्नुपर्ने नियम पनि बनाइयो। तर कैयौं यातायातमा यस्तो व्यवस्थै छैन। चालकको जबर्जस्तीले पनि दुर्घटना भएका छन्।

भर्खरै सिन्धुपाल्चोकमा भएको दुर्घटना चालकको जबर्जस्तीकै कारण भएको तथ्य उजागर भएको छ। लामोसाँघु जिरी सडकको स्वाँरा मोडमा पुगेपछि बस घ्याचघ्याच गर्दै थियो। यो देखेर यात्रुले चालकलाई एकछिन बस रोकेर हेरौं न भने तर उनले मानेनन्। एकछिनपछि चालकले स्टेयरिङ नियन्त्रण गर्न सकेनन्। ब्रेक फेल भयो र अन्ततः बस सडकबाट खस्यो। प्रधानमन्त्रीले जतिसुकै कराए पनि सम्बन्धितको कानमा पुग्दैन र दुर्घटना हुन्छ। त्यसैले यातायात मन्त्रालयका मन्त्रीदेखि सचिव, निर्देशक र वरिष्ठ कर्मचारीसम्म यो सन्देश पुग्नुपर्छ। पुगेर मात्र हुँदैन, कार्यान्वयन पनि गर्न सक्नुपर्छ। होइन भने खोला तर्दा वा पहाडको भिरबाट गाडी गुड्दा यसरी नै मानिसको मृत्यु भइरहन्छ र प्रधानमन्त्रीलाई भोक नलाग्ने र निन्द्रा नलाग्ने भइरहन्छ।

एक तथ्यांकका अनुसार अहिले देशमा हरेक दिन ३७ वटा सवारी दुर्घटना हुन्छन् र त्यसमा ७ जनाको मृत्यु हुन्छ। ४७ जना घाइते हुन्छन्। एक दैनिक पत्रिकाको सम्पादकीयमा उल्लेख छ– मंसिरमा मात्र १ हजार ५ सय १६ सवारी दुर्घटना भएका छन्। जसमा २ सय ३० नेपालीले ज्यान गुमाए। १ हजार ४२६ जना घाइते भए। हालैको सिन्धुपाल्चोक दुर्घटनामा १५ जनाको मृत्यु भयो भने १८ जना घाइते भए। संसारको कुन देशमा यति धेरै दुर्घटना हुन्छ ?

प्रकाशित: ४ पुस २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App