४ वैशाख २०८१ मंगलबार
समाज

न्याय कुदाकुर्दै १७ महिना

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तभन्दा एक महिनाअघि कैलाली गौरीगंगा नगरपालिका–११ की २१ वर्षीय माया विकको सामूहिक बलात्कारपछि हत्या भएको थियो। तर घटना भएको १७ महिना बिते पनि न निर्मला पन्त, न माया विकका आफन्तले न्याय पाएका छन्। उल्टै दोषीले उन्मुक्ति पाउँछन् कि भनेर पीडितका आफन्तहरू चिन्तत बनेका छन्।

२०७५ असार १२ गते घरबाट नगरपालिका कार्यालय जान हिँडेकी माया बेपत्ता भएकी थिइन्। असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका–११ चपरथली सामुदायिक वनमा सलले घाँटी तथा सुरुवालले दुवै हात पिठ्युमा बाँधेको, मुखमा सल कोचेको अवस्थामा वीभत्स रूपमा उनको शव फेला परेको थियो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले असार २२ गते गौरीगंगा नगरपालिका–११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भुवन खाती, १९ वर्षीय तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षीय सुरज चौधरीलाई पक्राउ ग-यो। उनीहरूले बलात्कार र हत्या गरेको स्वीकारेको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक पनि ग-यो।

साउन १३ गते सरकारका तर्फबाट ती पाँचजनाविरुद्ध कैलाली जिल्ला अदालतमा अपहरण, जबरजस्ती करणी तथा कर्तव्य–ज्यानसम्बन्धी मुद्दा दर्ता भयो। जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

बलात्कारजस्तो जघन्य अपराधको मुद्दालाई जतिसक्दो छिटो फैसला गरेर टुंग्याउने भनिए पनि अहिलेसम्म कहिले पेसी सार्ने र कहिले स्थगित गराउने गरेर यो मुद्दालाई लम्ब्याइँदै आएको छ। ‘अनेक बहाना गरेर फैसला लम्ब्याएकोले यो कतै दोषीलाई उम्काउने षडयन्त्र त होइन भनेर हामी पीडित चिन्तित भएको छौं,’ मायाका बुबा हर्कबहादुर विकले भने, ‘अनावश्यक समय लम्ब्याइराखेकाले दोषीले उन्मुक्ति पाएर न्याय पाइँदैन कि भन्ने लागेको छ।’

बलात्कारजस्तो जघन्य अपराधको मुद्दालाई जतिसक्दो छिटो फैसला गरेर टुंग्याउने भनिए पनि अहिलेसम्म कहिले पेसी सार्ने र कहिले स्थगित गराउने गरेर यो मुद्दालाई लम्ब्याइँदै आएको छ।

आफू गरिब भएकाले र आफ्नो पहुँच नभएकाले छोरीको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा न्यायका लागि १७ महिनासम्म कुर्नुपरेको उनको गुनासो छ। ‘मेरो छोरीलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको घामजस्तै छर्लंग भएको घटनाको फैसलामा यो ढिलासुस्ती किन हुँदैछ ?,’ उनले भने, ‘मनमा चिसो पसेको छ, दोषीलाई सजाय नभएसम्म मेरो छोरीको आत्माले शान्ति पाउँदैन, मेरो मन पनि शान्त हुँदैन।’

पुर्पक्षका लागि थुनामा पठाइएका प्रतिवादीले उच्चअदालतमा निवेदन दिएकाले तीन÷चार महिनापछि कहिले सरकारी वकिलको आग्रह त कहिले प्रतिवादीतर्फको कानुन व्यवसायीको आग्रहमा पेसी सारिएकाले मुद्दा किनारा लाग्न ढिलाइ भएको कैलाली जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीले बताए। ‘सरकारी वकिल र प्रतिवादी वकिलको आग्रहमा पेसी सरेकोस-यै भएकाले ढिलो भएको हो,’ उनले भने,‘सरकारी वकिल र प्रतिवादी वकिलको बहस नोट र कल डिटेल माग गरेका छौं, एकजना प्रतिवादी वकिलको बहस नोट र एनसेलको कल डिटेल आउन बाँकी छ, त्यो आएपछि पेसीमा चढ्छ।’

नौ पटक स्थगित
कैलाली जिल्ला अदालतमा अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी दर्ता भएको पीडित माया विकको मुद्दाको पेसी अहिलेसम्म नौ पटक स्थगित भएको छ भने एक पटक आदेश जारी भएको छ। २०७५ कात्तिक १५ गते तोकिएको पहिलो पेसी सरकारी वकिल कार्यालयको आग्रहमा नै स्थगित गरिएको थियो।

सरकारी वकिल कार्यालयको निवेदनमा ‘बयान, कागजपत्रलगायत नक्कल कागज ल्याउन बाँकी’ उल्लेख छ। त्यसपछि अदालतले मंसिर १९ गतेको पेसी तोक्यो, यो पेसी पनि सरकारी वकिलकै आग्रहमा स्थगित गरियो। यो बेला ‘नक्कल मिसिल उच्चअदालतको सरकारी वकिल कार्यालयमा रहेको’ कारण देखाइयो। अदालतले पुस २५ गते पेसी तोक्दासमेत सरकारी वकिल कार्यालयले मिसिल नआएको भन्दै स्थगित गर्न आग्रह ग-यो।

फागुन २३ गतेको पेसीमा प्रतिवादीको कानुन व्यवसायीको आग्रहमा स्थगित गरियो। निवेदनमा ‘मिसिल अध्ययन गर्न नपाएको’ उल्लेख थियो। कैलाली जिल्ला अदालतले चैत २१ गते तोकेको पेसी सो दिन इजलास नबस्दा स्थगित भयो। जेठ १६ गते तोकिएको अर्को पेसी कानुन व्यवसायीको अनुरोधमा स्थगित गरियो। दिपायल जानुपरेको भन्दै कानुन व्यवसायीले स्थगनको अनुरोध गरेका थिए। असार १२ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहमा सो मुद्दाको सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ। भदौ ५ गते पनि प्रतिवादी कानुन व्यवसायीकै आग्रहबाट स्थगित गरिएको सो मुद्दामा असोज ७ गते बहस नोट पेस गरिएको थियो।

जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले असोज ७ गते ‘बहस नोट र कल डिटेल झिकाउनू’ भन्ने आदेश जारी गरेको स्रेस्तेदार गिरीले बताए।

घटना यस्तो थियो
माया विकले नगरपालिका कार्यालयमा काम गर्न थालेको तेस्रो दिन असार ८ गते नगरपालिका कार्यालयमा काम गर्ने ३० वर्षीय गणेश बडुवालले उनलाई यौन प्रस्ताव गरे। उनले अस्वीकार गरिन्। असार ११ गते पुनः यौन सम्पर्कका लागि प्रस्ताव गरे। उनले अस्वीकार गरेपछि हातपात गरे। बडुवालले २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटीलाई बोलाएर योजना बनाए।

असार १२ गते बिहान साढे नौ बजे बाटो ढुकेर बसेका बडुवालसहित पाँचजना युवाले मायालाई समातेर मुख थुन्दै कैलालीको गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनको जंगलमा लगे। उनको हात पछाडितर्फ फर्काएर बाँधे। मुखमा सल र पात कोचेर कराउन नसक्ने बनाए। त्यसपछि निर्वस्त्र बनाएर सामूहिक बलात्कार गरे। बलात्कार गर्ने क्रममै मायाको ज्यान गयो। बलात्कार गरेपछि मुखमा सलको फासो हालेर आत्महत्या गरेको बनाउने योजना उनीहरूको थियो। बलात्कारपछि हत्यालाई आत्महत्या गरेको देखाउने उनीहरूको योजना रहेको तत्कालीन कैलालीका तत्कालीन प्रहरी प्रमुख उपरीक्षक विनोद घिमिरेले बताएका थिए। प्रहरीसँगको बयानमा पाँचजनाले बलात्कार गरेर हत्या गरेको स्वीकारेको उनले भनाइ थियो।

बलात्कारपछि हत्या गरिएकी माया विकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख र गौरीगंगा नगरपालिकाले एक लाख रुपैयाँ राहतस्वरूप सहयोग गर्ने घोषणा गरेका थिए। तर पीडित परिवार छोरीले न्याय नपाएसम्म राहत रकम नबुझ्ने अडानमा छन्। ‘छोरीले न्याय पाइन भने हामीले त्यो पैसा बुझेको के अर्थ भो,’ मायाका ठुलोबुबा खडकसिंह विकले भने, ‘जबसम्म न्याय मिल्दैन तबसम्म त्यो बुझ्दैनौं।’

प्रकाशित: ४ पुस २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App