७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेवि संघबारे अझै असहमति

काठमाडौं – नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनमा सहमति जुट्न सकेन। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकको अजेन्डा नबनेको भन्दै असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेका थिए। असन्तुष्ट पक्षको बैठक बहिस्कारपछि सहमतिका लागि संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र इतर समूहबाट पूर्व महामन्त्री प्रकाशमान सिंह नेतृत्वमा दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी रहेको वार्ता टोली नेपाल विद्यार्थी संघको कार्यसमितिको भागबन्डामा अल्झिन पुगेका हुन्।

पार्टीको १४औं महाधिवेशन २०७७ फागुनमा गर्ने गरी कार्यतालिका निर्माण, विभाग संख्या वृद्धिसहितका विषयमा दुई पक्षबीच समझदारी बनिसकेको छ। तर, संघको नेतृत्व संस्थापन पक्षलाई दिन असन्तुष्ट पक्ष तयार भए पनि कार्यसमितिका अन्य पदाधिकारी र सदस्यको भागबन्डामा सहमति जुट्न नसकेको हो। सहमतिका लागि दुवै पक्षबीच बिहीबार साँझ पनि सिंहनिवास चाक्सीबारीमा भएको छलफलमा संघको महामन्त्री कतिजना बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन। संस्थापन पक्षले संघको अध्यक्ष, महामन्त्रीसहित बहुमत कार्यसमिति आफ्नो पक्षमा राख्ने प्रस्ताव गरेका छन्। साथै थप तीन संघको महामन्त्री रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छेदारलाई दिने प्रस्ताव गरेका छन्। तर पौडेल पक्ष एक महामन्त्री बनाउनुपर्नेमा छन्। त्यसको विकल्पमा सात महामन्त्रीको प्रस्ताव गरेको असन्तुष्ट पक्षले तीन आफ्नो पक्षलाई दिनुपर्ने अडान राखेका छन् भने बाँकी चार महामन्त्री संस्थापनसहित सिटौला र गच्छेदार पक्षलाई बाँड्न प्रस्ताव गरेका छन्।

संघको विषयमा सहमति जुट्न नसकेपछि छलफलाई निरन्तरता दिने भन्दै दुवै पक्ष उठेका छन्। संस्थापन पक्षले भने ७ महामन्त्री बनाउनुभन्दा उपाध्यक्ष र सहमहामन्त्रीमा मिलाएर जाने प्रस्ताव गरेका छन्। शुक्रबारका लागि सारीएको केन्द्रीय समिति बैठक अघि पार्टी केन्द्रीय कार्यालय सानेपामै छलफल गर्न संस्थापन पक्षले आग्रह गरेको छ। तर, इतर पक्षले सहमति नजुटी केन्द्रीय समिति बैठकमा सहभागि नहुने अडान दोहो-याएका छन्।

प्रकाशित: ४ पुस २०७६ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App