coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चितवनको फराकिलो जित

पोखरा - चितवन राइनोज दोस्रो खेल जित्दै ४ अंकसहित नमस्ते पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा छ। दोस्रो संस्करणको यस प्रतियोगितामा बिहीबार बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले पराजित गर्दै शीर्ष स्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण केसीले उत्कृष्ट बलिङ गरे।

केसीले बुटवलका ब्याट्सम्यानलाई सस्तैमा पवेलियन पठाएपछि फराकिलो जित सम्भव बन्यो। केसीले ३.४ ओभर बलिङ गर्दै ११ रन मात्रै दिएर ४ विकेट लिएपछि बुटवल १८.४ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटियो। अफ्ताबुद्दिन अहमद २, शंकर राना ५, हरिबहादुर चौहान १२ र विपिन खत्रीले १ रनमै क्रिज छाडेपछि बुटवलले २ सय ४ रनको लक्ष्य पछ्याउन निकै सकस प-यो। पोखरा रंगशाला क्रिकेट मैदानमा बुटवल ब्लास्टर्सका बलर र ब्याट्सम्यान दुवैमा कमजोरी प्रस्ट देखियो।

शिवम् सिंहले सर्वाधिक ३३ रन बनाए। ३३ बल नै खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। उनी पनि भुवन कार्कीको हातबाट क्याच भएपछि भीम सार्की आइपुगे। सार्कीले पनि २१ रन बनाउन २१ बल नै खेले। बाँकी ब्याट्सम्यान दोहोरो अंकको रन छुन सकेनन्। चितवनबाहेक अन्य टोलीले भने हार बेहोरिसकेका छन्। पिपिएलको दोस्रो संस्करणमा पोखरा र काठमाडौंले समान तीन खेलमा दुई हार बेहोरेका छन्।

पहिलो विकेटका लागि १ सय १७ रन र तेस्रो विकेटका लागि ६९ रनको साझेदारी निभाएपछि चितवनले नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाइज टी–२० क्रिकेटमा बुटवल ब्लास्टर्सलाई ३ विकेटको क्षतिमा २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चितवनको ओपनिङमा आएका कप्तान पारस खड्का र रोहन मुस्तफाले पिपिएलमै पहिलो विकेटका लागि शतकीय साझेदारी गरे। खड्काले ६३ र मुस्तफाले ३७ रन बनाउँदै १ सय १७ रनको साझेदारी गरेका हुन्। पहिलो विकेट लिन बुटवलले ११.३ ओभर खर्चिएको थियो। महत्वपूर्ण साझेदारी गर्ने क्रममा खड्का अफ्ताबुद्दिनको बलमा सोमपाल कामीको हातबाट क्याच भए। उनले ४० बल खेल्दै ६ चौका र २ छक्का हिर्काए। पारसपछि क्रिज सम्हाल्न आएका बाबर हायात १ रनमै पवेलियनतर्फ फर्किए। रोहनले आरिफ शेखसँगको साझेदारीमै आफ्नो अर्धशतक पूरा गरे।

तेस्रो विकेटका लागि १४ रनको साझेदारी गर्दै रोहनले पोखरा प्रिमियर लिग (पिपिएल) मा आफ्नो पहिलो अर्धशतक पूरा गरे। उनीहरूको जोडीले टुट्दा ६९ रनको साझेदारी भएको थियो। रोहनले अविजित रहने क्रममा ५६ बलमा ७ चौका र दुई छक्का सामेल गराउँदै ७० रन बनाए। आरिफले १९ बलमा ४० रन जोड्ने क्रममा १ चौका र ३ छक्का हिर्काए। सोमपाल कामीको हातबाट अविनाश बोहोराले आरिफलाई क्याच  गराउँदै साझेदारी टुटाए। रोहन र सन्नी पटेल अविजित रहे। सन्नीले दुई बलमा ४ रन बनाए।

हरिबहादुर चौहान एकै ओभरमा १६ रन खर्चिएर महँगा साबित भए। एउटै ओभरमा ६ रन अतिरिक्त दिए। हर्स टंकले पनि एकै ओभरमा १५ रन खर्चिएका थिए। पोखरेली बलर विपिन खत्रीले पनि दुई ओभरमा २४ रन दिएका थिए। अविनाश बोहोराले ४० रन दिएर १ विकेट लिए। शेर मल्लले पनि ४ ओभरमै बिनाविकेट ४० रन खर्चिए। क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित बिहीबारको प्रतिस्पर्धामा म्याच अफ दी म्याच भने अविजित रहेका रोहन मुस्तफा घोषित भए।

प्रकाशित: ४ पुस २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App