७ वैशाख २०८१ शुक्रबार
समाज

चार मृतक एकै गाउँका, नेपाल घुम्न आएका ३ भारतीयसहित ४ घाइते

उदयपुर- वर्षौंअघि छाडेको गाउँको माया उदयपुरगढी गाउँपालिका ३ बर्रेका ६१ वर्षीय टीकनारायण श्रेष्ठलाई लाग्नु स्वभाविक थियो। उसो त बसाई सरे पनि जग्गा जमिन, पुरानो भए पनि घर गोठ र खायलपायल गाउँमै थियो। मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा श्रेष्ठसँगै बर्रेकै ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठ पनि बसाई सरी गएका थिए।

जन्मे हुर्केको गाउँघरको माया लाग्नु स्वभाविकै हो। उनीहरुलाई यो पालि गाउँ घुम्न आउने रहर जाग्यो, बाँझो जमिन र थोत्रो घर हेर्ने अनि आफन्त र गाउँलेसँग भलाकुसारी गर्ने मुड चल्यो। भारत सिक्कीमको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जीप भाडामा लिएर उनीहरु केही दिनअघि गाउँ आए। दुई/चार दिनको बसाई र भेटघाटपछि बिहीबार विहान उनीहरु मोरङ फर्कन हिडेका थिए। कटारी जान गाडीको पर्खाइमा रहेका बर्रेकै ४७ वर्षीय ढकबहादुर मगरले गाउँबाट जीप आउँदै गरेको देखेपछि आफुलाई पनि लगिदिन ‘लिफ्ट’ मागे।

गाउँकै चिनेजानेका मान्छे, गाडी पनि खाली, कटारीसम्म लगिदिने भन्दै मगरलाई जीप चढाए। ‘हुनहार दैव नटार’ भने झैं भयो, सोही वडाको जरुवा तामलडाँडास्थित सडकमा जीप अनियन्त्रित भएर विहान ९ बजेर ३० मिनेटमा पल्टन पुग्यो।

सडकबाट २ सय मिटर तल खसेको जीपमा सवार ८ मध्ये ४ जनाको घटनास्थलमै मृत्यु भयो। श्रेष्ठद्वय टिकनारायण र मीननारायण तथा मगरको घटनास्थलमा र गम्भीर घाइते भई उपचारका लागि लगिएका टीकारामको कटारी अस्पतालमा २ घण्टापछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घटनाबारे जानकारीमा आएलगत्तै इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी उदयपुरगढी र अस्थायी प्रहरी चौकी नेपालटारबाट गएको टोलीले घाइतेहरुको उद्धार गरी उपचारार्थ कटारी पुर्‍याएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। दुर्घटनामा चालकसहित गम्भीर घाइते ४ जना सबैलाई कटारीमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ।

घाइते हुनेहरुमा पथरी शनिश्चरे ४ कै ५५ वर्षीय लक्ष्मीप्रसाद राई, भारत दार्जिलिङका २८ वर्षीय पवन राई र भारत सिक्कीमका २५ वर्षीय आाशिस लिम्बु र चालक सिक्कीमकै ४५ वर्षीय भुपाल राई रहेका छन्। उनीहरु सबैको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ।

चिनजानको नाताले भारतीय नागरिकहरु नेपालको गाउँ हेर्न भनी श्रेष्ठ परिवारसँग आएको बताइएको छ। दुर्घटनामा श्रेष्ठ परिवारका ३ सहित एकै गाउँका ४ जनाको मृत्यु र सँगै आएका ४ जना घाइते भएपछि बर्रे पुरै शोकमग्न भएको गाउँपालिकाले जनाएको छ। श्रेष्ठ परिवार पुख्र्यौली गाउँबाट मोरङ फर्कने क्रममा दुर्घटनामा परेर दुःखद मृत्यु भएको एसपी मगरले बताएका छन्। प्रहरी चौकी उदयपुरगढीका अनुसार चालकका लागि नयाँ र साँघुरो सडक तथा विहानको हुस्सुले राम्ररी देख्न नसक्दा दुर्घटना भएको चालकले बताएका छन्।

प्रहरी चौकी उदयपुरगढीभन्दा २३ किलोमिट टाढा भएको दुर्घटनामा मृतक सबैको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। क्षतविक्षत भएको जीप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३ पुस २०७६ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App