६ वैशाख २०८१ बिहीबार
अर्थ

आलु खेतीमा डढुवा रोगको प्रकोप बढ्दो

डढुवा रोगको संक्रमण देखिएको आलुमा बिरुवा। बाली उपचार शिविरमा आलुमा देखिएको डढुवा रोगको नमुदा ल्याई पुगेका किसान।

डडेल्धुरा- आलु खेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान गहुँ खेती गरि रहेका छन्। भदौ महिनामा लगाईएको आलुमा कात्तिक महिनामै डढुवा लागेर सखाप भएपछि किसानले गहुँ, जौँ खेती गर्न थालेका हुन्।

व्यवसायिक रुपमा चक्लामा आलु खेती गर्दै आएका परशुराम नगरपालिकाका चार जना किसानको पुरै आलु डढुवाले सखाप पारेको प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशीले बताए।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो। चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको उनले बताए। अमरगढी नगरपालिका–७ पोखराका प्राय सबै किसानले लगाएको आलु खेतीमा डढुवाको संक्रमण फैलिएको छ।
आधा बढी किसानले आलु नष्ट भएपछि गहुँ खेती गरेको किसान गणेश बोहराले बताए। उनले करिब दुई कुन्टल आलु लगाएका थिए। यस्तै अनुदानमा आलुको बिउँ बाँडिएपछि यस वर्ष यहाँका अधिकांश किसानले एक कुन्टलदेखि १० कुन्टलसम्म आलु लगाएका थिए।

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने केही किसानको बारिमा मात्रै आलु बाँकी रहेको कृषि विकास अधिकृत जोशीले बताए।

व्यवसायिक रुपमा एक सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ। आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले एक हजार कुन्टल आलुको बिउँ लगाईएको उनले बताए। आलु सुपरजोनले चक्लाबन्दिमा दिने अनुदानमा किसानले ६५ हेक्टर क्षेत्रफलमा आलु लगाईएको उनको भनाई छ। करिब दुई हप्तासम्म गरिएको बाली उपचार घुम्ति शिविर मा ९० प्रतिशत आलुमा लाग्ने पछौटे डढुवाका मात्रै नमुनाहरु आएको बाली संरक्षण प्रयोगशालाको तथ्यांक छ।

जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउपालिकाका दुई/दुई वडा गरी चार वटा वडामा सञ्चालित शिविरमा आलुको पछौटे डढुवाको समस्या देखिएको प्रयोगशालाका नायव प्राबिधिक सहायक सत्यराज जोशीले बताए।
यो रोग आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग हो। उनले भने, यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ। पहाडी जिल्लाहरुमा पनि वर्षेनी यो रोगको प्रकोप बढीरहेको छ भने तराइका जिल्लामा महामारीको रुपमा फैली सकेको छ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन्। अनुकुलत वातावरण पाईरहेमा थोप्लाहरुको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ। ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने उनी बताउँछन्।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन्। यस प्रजातिका ढुसीहरु मध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाती नेपालमा पाईएका छन्। यस रोगको अनुकुल विकासको लागि बायुमण्डलको सापेक्षिक आद्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाई छ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बिउँलाई भिजाएर छाँयामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर २–३ रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिने बित्तिकै कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोटहरु तुरुन्तै हटाइ दिने सुझाव विशेषज्ञहरुको छ।

प्रकाशित: ३ पुस २०७६ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App