coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मृगतृष्णा

ज्ञानेन्द्र विवश

थाहा नपाएको कुरा थाहा पाउँदा साँच्चै मान्छेका आँखा खुल्छन्। तर, केही थाहा नपाएको वा नदेख्नेलाई 'यो त कस्तो उल्लु रहेछ' भनिन्छ। यसरी आँखाले मानिसको पहिचानलाई नै पृथक किसिमले परिभाषित गरिदिन्छ। आँखाले मानिस चिनाउँछ। आँखाले नै मानिस चिनिन्छ। आँखामा आँखा लगाउँदा मैले देख्ने दृश्य अर्कै छ। अरूले हेर्ने आँखामा फरक देखिन्छ। यही कारण पनि आँखा सबैभन्दा महŒवपूर्ण र प्यारो अंग। आँखा सबैका निम्ति आवश्यक दृश्य–शक्ति हो। तसर्थ आँखाले नै जीवनको 'मार्गदर्शन' गर्छ। आँखाले नै 'सही मार्ग' देखाउँछ। त्यसैले आँखा 'जीवनको ज्योति' हो। आँखा जीवनको सबैभन्दा 'महŒवपूर्ण अंग' हो। आँखाको संवेदनशीलता तीव्र हुन्छ। अलिकति खुसीमा पनि आँखा रसाउन थाल्छ। अलिकति दुःखमा आँखाबाट आँसु झरिहाल्छ। आँखाले देख्न सकेन भने मानिसको जीवन निरर्थक हुन्छ। आँखा भएकैले रमाइलो संसार छ। बिनाआँखा अँध्यारोको उपस्थितिमा के गर्न सक्नु!

आँखा जीवनको सौन्दर्य हो। आँखा मानिसको 'ज्योति' हो। आँखा 'भरोसा'  हो। आँखा 'पूजा' र 'प्रार्थना' हो। 'आस्था–आराधना' सबै हो। एउटा सत्य हो आँखाले नै हेर्नुको। अन्धकार हटाएर उज्यालोसँग साक्षात्कार हुनुको। त्यसैले संसार देखाउने 'सारथि' हो आँखा। संसार चिनाउने 'माध्यम' हो आँखा।

आँखाका प्रकारहरू धेरै छन्, रूप अनेक छन् । आँखाका परिभाषा फरक छन्। आँखा एक। तर, यसका रूप अनेक छन्। कर्के र छड्के नजर। मायालु र नशालु आँखा। मिनाक्षी र मृगनयनी! आखिर आँखाकै छ सुन्दर, शान्त, सुमधुर संसार। अनेक आयाम आँखाकै। जस्तै– 'छिल्लिएका' आँखाहरू बैँसका। 'जिल्लिएका' आँखाहरू पर्खाइका।

'झुक्याउने' र 'छक्याउने' पनि आँखै हुन्। 'लठ्याउने' र 'लजाउने' पनि आँखै। समाजमा पृथक चरित्र आँखाका। देखिन्छ समाजमा छट्टु आँखाका अनेक तमासाहरू!

आँखा न हो! 'नशा' लगाउने र 'दशा' निम्त्याउने। 'व्यथा' बढाउने र 'कथा' बनाउने। 'शंका' गराउने र लंका पुर्‍याउने। 'भोग' जगाउने र 'भोक' भगाउने। बेग्लै स्वाद चखाउने र अर्कै लोक पुर्‍याउने। यही हो कि आँखाको 'भोक'! आँखाको 'रोग' र आँखाको 'चोट'। आँखाको 'खोट' सायद! आँखामा आँखाको आकर्षण। आँखाले 'राम्रो' र 'नराम्रो' देखाउँछ। 'टाढा' र 'नजिक' देखाउने पनि आँखा नै हो। 'आफन्त' र 'पराइ' छुट्याउने आँखैले हो। 'तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडेँ म' को गीति भावले आँखा र प्रेमको समर्पित गहिराइ दर्शाउँछ।

आँखाले नै 'लोभी–पापी' बनाउँछ। आँखाले नै 'प्रेम' र 'घृणा' गराउँछ। आँखाले नै बाटो देखाएर पाइला अगाडि बढाउँछ। गन्तव्यसम्म पुर्‍याउँछ। 'हर्ष' र 'विष्मात्' को आँखा हुन्छ। 'अवसरवादी' आँखै हुन्छ। 'अवसाद' का आँखा हुन्छ। लोलाउने, टोलाउने र बोलाउने आँखै हुन्छ।

आँखा शर्माएर कहिले अनुहार अर्कै हुन्छ। आँखामा त्यसले सौन्दर्य ल्याउँछ। ओठमा लाली छाउँछ। क्षणभरमै लज्जाबोध गराउँछ। आँखाले अनुहारको रूप बदल्छ। आँखा गम्भीर बनेर कहिले चुपचाप टोलाइरहन्छ। कहिले विचारको गहिराइमा डुब्छ। चिन्तनको खेती गर्न थाल्छ। हेराइ अनन्त हुन्छ। उही चरित्रमा हुँदैन। फरक–फरक हुन्छ, भइरहन्छ। आँखाको आफ्नै 'आशा' र आफ्नै 'नशा' हुन्छ। आँखाको आफ्नै 'व्यथा' र 'कथा' पनि हुन्छ। आफ्नै 'भाषा', 'परिभाषा' र 'परिवेश' हुन्छ।

आखिर आँखा देख्न सकिने सीमासम्मको 'शुभारम्भ' हो। 'समाप्त' होइन, 'प्रारम्भ' हो। 'पूर्णविराम' होइन, 'प्राप्ति' हो, 'हात लाग्यो शून्य' होइन। अन्ततः सार्थक र सकारात्मक दृष्टिकोण हुन्छ आँखाको। 'जहाँ छन् बुद्धका आँखा' गीत लेखकले त्यत्तिकै रचेका होइनन्। शान्ति, सद्भाव, करुणा र कर्तव्यको बोध गराउँछ बुद्धका आँखाले।

बोली हुँदैन मौन भाषा आँखाको। कस्तै भीडमा पनि आँखाको दृष्टि तीखो हुन्छ, बोली सुनिँदैन। मौन संवादमा आँखाको चञ्चलता कस्तो? कैयौँ संवाद हुन्छ। एक निमेषमै संसार नियाल्न सक्छ। आँखाको मृगतृष्णा अचम्मकै हुन्छ।

आँखा साँच्चै 'लोभी' हुन्छ। हेरेर कहिल्यै अघाउँदैन। आँखा साँच्चै 'भोगी' हुन्छ। राम्रो चीजलाई त 'चोरी–चोरी' हेर्छ। 'लुकी–लुकी' हेर्न खोज्छ। तर, त्यस्तो हेराइ कुनै बेला 'कामुक' हुन्छ। 'ईर्ष्यालु' बन्छ र 'बिषालु' त्यत्तिकै हुन्छ। त्यो आँखाको हेराइले 'डस्न' सक्छ। अनायासै 'फस्न र फसाउन' सक्छ। चनाखो पनि हुनुपर्छ 'पराइ आँखासँग'। पराइ आँखाको 'हेराइसँग'। बच्नुपर्छ आँखासँग र बचाउनुपर्छ आँखालाई।

'आँखा लाग्ला' भनिन्छ नि। हो, आँखा कुनै बेला त्यस्तो 'दुष्ट' पनि बन्न सक्छ। आँखाको एक नजरले कसैलाई 'विसञ्चो' पार्न सक्छ। आँखाको हेराइ न हो त्यसको अनेक अर्थ लाग्न सक्छ। 'राम्रो' पनि 'नराम्रो' पनि। आँखाको हेराइबाट बच्नुपर्छ कहिले। 'होसियार' रहनुपर्छ त्यसैले। आँखासँग आँखा जुधाएर मस्तले कहिले प्रणय–प्रलापमा विलीन हुन पुग्छ।

फुटेका आँखाले पनि देखिनसहने रौद्र रूपी आँखेहरू पनि यहाँ तैनाथ छन्। कुदृष्टि र कटाक्षपूर्ण दृष्टिले हेर्नेहरू पनि यहीँ छन्। 'आँखा छैन तेरो। आँखा केका लागि हेर्न होइन? अन्धो भइस् कि क्या हो?' यसरी सत्तोसराप गर्ने पनि हाम्रै समाजमा छन्।

आँखाले व्यक्तिको व्यक्तित्व झल्काउँछ र सुन्दरता बढाउँछ। आँखाले प्रेम गर्न सिकाउँछ। त्यस्तै कायल गर्ने र घायल पार्ने 'मादक' आँखाहरू। यहीँ छन् आँखाका अनेक 'चित्र' र 'चरित्र'। 'अर्थ' र 'अभिप्रायहरू'। आखिर केही शक्ति अवश्य छ आँखाको। एउटै कुरामा एकोहोरो आँखा अडिरहँदा त्यसको असत्य उदांगिन्छ। सत्य खुल्छ र उद्घाटित हुन्छ तथ्य कुराको।

रिसले मुर्मुरिने 'आँखा तरुवाहरू' हाम्रै समाजमा छन्। ऋण तिर्नुपर्छ भनी तर्किने 'आँखा छलुवाहरू' यहीँ छन्। मन पराएर हेर्ने 'आँखा सन्कुवाहरू' छन्। आँखा दान गर्ने 'दाताहरू' छन्। आँखै फुटाइदिने बेवकुफ 'फटाहाहरू' पनि यहीँ छन्। आँखा नदेख्ने मात्र होइन आँखा देख्ने नक्कली 'अन्धाहरू' छन्।

तथापि, सौन्दर्यको 'सम्मान' गर्ने आँखाले नै हो। सुन्दरताको 'प्रशंसा' गर्ने पनि आँखै हो। त्यसकारण सौन्दर्यलाई 'आत्मसात्' गर्छ आँखाले। आँखाले राम्रोपनलाई 'ग्रहण' गर्छ। आँखाले राम्रो पहिचानलाई 'स्वीकार्छ', असल स्वभावलाई सधैँ 'स्वागत' गर्दछ।

संसार देखाइदिने आमाप्रति आँखा सधैँ 'नतमस्तक' हुन्छ। आँखाले आमाजस्ता आदरणीय आत्माहरूलाई सदैव 'आदर' गर्छ। प्रथमतः अभिवादन आँखाले नै गर्छ। त्यसैले आँखा आदर–सत्कारको 'पर्याय' पनि हो। सौन्दर्य र सत्कर्मको 'उपासक' हो। सद्भाव र संस्कारको 'अनुयायी' हो।

'नयनोत्सव' अर्थात् आँखालाई आनन्दित पार्ने वस्तु, सुन्दर वस्तु हामीकहाँ धेरै छन्। हेरेर धित नमर्ने हेरिरहँूजस्तो लाग्ने 'आँखा लाग्दो' ठाउँ छन्। 'नयनाभिराम' दृश्य पनि यहीँ छन्। जस्तो कि, हेर्दा राम्रो देखिने। आँखालाई आनन्द दिने। अर्थात् ज्यादै सुन्दर, मनोहर भनौँ चन्द्रमा जस्तै शान्त, शीतल र सुन्दर। यस्ता दृश्य प्राकृतिक सौन्दर्यका साक्षात खानी हुन्। तिनलाई 'प्यासी' आँखाले तन्तनी पिउन मन लाग्छ। त्यसलाई जति हेरे पनि धित मर्दैन आँखाको। त्यही हो मृगतृष्णा आँखाको। त्यसैले प्रकृतिसँग आँखा जुधाएर अघाउन सकिँदैन। भीरपाखा, पाइलै टेक्न नसकिने अप्ठ्यारा बाटाघाटा पनि यहाँ छन्।

आफ्नै नियात्रा सँगालो 'अन्नपूर्णाका बिम्बहरू' को एक नियात्रा सम्झन्छु। लेखेको थिएँ– 'आँखामा नअटेका सौन्दर्यहरू' शीर्षक यात्रा वर्णन। वास्तवमा अन्नपूर्णा पाटोका प्राकृतिक छटालाई हेरेर अघाउँदैनन् आँखा! चारैतिर सौन्दर्यमय प्रकृतिले आँखामा स्पर्श गर्न आउँछन्। तिनलाई हेर्न आँखाले भ्याउँदैन। आँखामा ती सुन्दर दृश्य अट्न सक्दैनन्। सुन्दरता पिउने 'तत्परता' आँखाकै हुँदोरहेछ। सुन्दरता ग्रहण गर्ने 'आतुरता' पनि आँखाकै हुँदोरहेछ। यही त हो मृगतृष्णा आँखाको!

आँखाले संसार घुमाउँछ, संसार हिँडाउँछ। आँखा भएकैले हामी चनाखो भइरहन्छौँ। आँखा नभए एकै ठाउँमा चुपचाप। एकै स्थानमा गुटुमटु। हिँड्नु न देख्नु! पढ्नु न गुन्नु! अन्धो हुन्छौँ र एक्लो बन्छौँ हामी।

तसर्थ आँखामै छ 'जीवन्त जीवन'। आँखामै छ सबै 'आकर्षण' र 'विकर्षण' पनि। जवानी जीवन र पूर्णताका सम्पूर्ण 'प्राप्तिहरू'। खुसीका रमाइला 'पलहरू'। आँखा सामुन्ने घटित छन् सबै। विछोडका नरमाइला 'घटना' र 'घाउहरू'।

आँखा नभए जीवन अधुरो र अपुरो। खल्लो, निरश र अलिनो बन्छ। आँखा नभए 'स्वर्ग' न 'पृथ्वी'। रंगीन संसारको के अर्थ? 'पलास' न 'गुराँस'। आँखा भएकैले इन्द्रेणी रङको पनि बेग्लै महŒव छ। रङले मगमगाउँदो सुगन्ध आँखालाई दिन्छ। आँखाले रङको इज्जत गर्छ। अन्यथा श्याम–श्वेत संसार! आकर्षित हुँदैन आँखा त्यहाँ।

दुई आँखा, चार हुँदा के हुन्छ? कस्तो अनुभव हुन्छ? कसैले पनि बिर्सिन सक्दैन जवानी जीवनका पुराना दिनहरू। आँखासँग जम्काभेट भएका 'क्षणहरू'। प्रेम सम्बन्धका 'सुरुआती' दिनहरू। समय सुलुत्तै 'चिप्लिएका पलहरू'। समयलाई रोक्न नसकिएका 'क्षणहरू'। मन परेको मान्छेको अनुहारलाई हेर्ने मायालु आँखाहरू। 'आँखाको निद्रा' लुटी लाने निष्ठुरी! आँखा लठ्याउने गरी आँखी‰यालबाट हेर्ने 'चोर आँखा'। तर, ती वास्तवमा सच्चा प्रेमका 'आह्वान' हुन्। ती चोखो मायाका 'उच्छ्वास' हुन् । प्रेममा समर्पित 'संलाप' हुन् । आआफ्नै 'प्रलाप' र 'प्रार्थना' हुन्। 'प्रतिवद्धता' र 'कटिवद्धता' हुन् ।

आँखाले हेर्ने अनेक दृश्यहरू। जस्तो आँखा त्यस्तै अनुभूति! 'फूलको आँखामा फूलै संसार' गीतको भाव जस्तै। राम्रो आँखाले राम्रै देख्छ। नराम्रो आँखाले वा नकारात्मक दृष्टिले असल पनि खराब हुन्छ। हुन त आँखाको मृगतृष्णा सुन्दरताको आस्वादन हो। त्यसैले प्रेम र प्रकृतिमा दृष्टिगोचर बढी हुन्छ। त्यस्तै पद, पैसा र परीमा मृगतृष्णा आँखाकै अधिक हुन्छ। यसले विश्वमै अनेक वितण्डा मच्चाएको छ।

हेराइको मृगतृष्णाले व्यक्ति र समाजसँगै राज्य नै 'प्रभावित' र 'प्रताडित' हुने रहेछ। जस्तैः ठूला राष्ट्रले सानालाई हेर्ने दृष्टिकोण! छिमेकी भारतले नेपाललाई हेर्ने आँखा अनुदार र संकुचित छ। त्यस्तै, भारत–पाकिस्तानको कास्मिरमाथि हेराइ। मित्रवत् मुलुकहरू दुष्मनी हेराइमा सत्तोसराप गरिहेछन्। वास्तवमा हेराइले मित्रतामा आघात पार्दोरहेछ। २०७२ सालको भारतीय हेपाहा हेराइले नाकाबन्दीको कठिनाइ हामीले भोग्यौँ। हेराइको उदारताले उचो बन्छ सम्बन्ध। र, फड्को मार्छ विकासको गतिले। यसमा आँखाको मृगतृष्णा मनोमानी हुँदैन। बरु प्रेम, सद्भाव र सहयोगी हुन्छ।

सच्चा मानिस 'आँखामा' बस्न चाहन्छ, 'आशनमा' होइन। त्यस्तो मानिस आँखामा 'बिलाउँछ' तर 'बिझाउँदैन' कहिल्यै। त्यसैले दृष्टि ओझेलिए पनि ती आँखामा रहिरहन्छन्। अनि मृत्युपर्यन्त सम्झनामा बाँचिरहन्छन्। त्यसैले आँखामा 'आस्था' र 'आराधना' छ। 'सद्भाव' र 'शुभेच्छा' छ। 'आँसुको दह' छ। जीवनप्रतिको 'मोह' त्यत्तिकै छ। आँखामा एक थोपा आँसु रहेसम्म त्यो रहिरहन्छ।

आँखाबाट आउने आँसुको संवेदना कति मार्मिक छ! तर मान्छेपिच्छे 'आँसुको अर्थ' फरक हुने रहेछ। आँखाले झार्ने 'एक थोपा आँसु' नुनिलो हुन्छ। तर, त्यसको मूल्य ठूलो छ। त्यो अनमोल छ। त्यसैले 'अनमोल आँसु' भनिन्छ। त्यही नुनिलो आँसुले पीडा र व्यथा ओकलेको हुन्छ।

आँखा कदाचित रुँदैन कहिल्यै। आँखा कदाचित आँसुले रु‰दैन। आँखा किन रुँदैन? आँसुले नै आँखा रसाइरहन्छ सधैँ। समयले सताएर परिस्थितिले रुवाउँछ आँखालाई। जस्तैः भूकम्पको पीडाले थोपरेको चोट एकातिर। त्यही चोटले कोपरेर चिथोरेको घाउ अर्कोतिर। आहतको बेला राहत नपाएको दुखेसो आफैसँग। बास, गाँस, घर न त परिवार! बिल्लिबाठ भएको आपत्–विपत्का दुःखदायी दिनहरू। आँखाबाट साउन बर्साएर थाकेका सम्झना आलै छन्। आँखाले हेर्न नसकेका दृश्य पनि आँखैमा छन्। आँखाले देख्न नचाहेका दृश्य पनि देख्नुपरेका छन्।

प्रकाशित: २ पुस २०७३ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App