coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक किलोमिटर कालोपत्रे दुईवर्षसम्म सुुरु भएन

दिपायलको सेती नदीदेखि एयरपोर्ट जोड्ने सडक। तस्बिरःअरूण/नागरिक

डोटी- एक किलोमिटर कालोपत्रे गर्न कति समय लाग्ला?
दुई महिना, तिन महिना वा छ महिना! धेरैमा एक वर्ष। तर दिपायलको एक सडकमा दुई वर्ष भन्दा बढी समय घर्कदा पनि काम सुुरु नै भएको छैन। दिपायल सेती नदीको पक्कीपुलदेखि एयरपोर्ट जोड्ने एक हजार एक सय मिटर सडक कालोपत्रेका लागि धनगढीको देवसिँह निर्माण सेवासँग ठेक्का स्विकृत भएर २०७४ कार्तिक २० गते सम्झौता भएको थियो। सम्झौताको कुल रकम  भ्याटसहित एक करोड ४९ लाख ३० हजार नौ सय ३२ रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले जनाएको छ।

निर्माण कम्पनीलाई २०७६ कार्तिक १९ सम्म गरी दुई वर्षको निर्माण सम्झौता अवधि थियो। त्यो सकिएको दुई महिना नाघिसकेको छ। कम्पनीले यो बिचमा कालोपत्रे सक्नु त कहाँ हो कहाँ, शुरुवातसमेत गरेको छैन।

यता समयमै योजना सम्पन्न भएर फराकिलो र सफा सडकको आश गरेका स्थानीयवासी अझै सास्ती भोग्न बाध्य छन्। ‘योजनाका लागि वर्षाै हार–गुहार गरेर धौ–धौ गरी योजना त पायौ,’ स्थानीयवासी नैनसिँह कठायतले दुखेसो पोखे,‘ठेकेदारको लापरवाहीले योजना नै जान्छ भन्ने डर लाग्दैछ।’

यता ठेकेदारलाई पटक–पटक ताकेता गर्दापनि सम्पर्कमा नआएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले जनाएको छ। ‘हामीले ३४/१४ पटक पत्राचार गरिसक्यौ,’ सव–ईन्जीनियर अभिषेक मलासीले भने,‘काम गर्छौ भन्छन्। यता म्याद गुज्रिसक्यो काम सुरु नै भएको छैन।’

ठेकेदार कम्पनीका दुईजना साझेदारबीचमा आपसी ‘लेनदेन’को विवादले काम सुचारु हुन नसकेको स्थानीयस्तरमा हल्ला छ। देवसिँह निर्माण सेवाको फर्म प्रयोग गरेर हर्क शाह र भूपेन्द्रसिँह धामीले सहकार्यमा काम गर्दछन्। ‘ठेकेदारहरुकाबीचमा लेनदेनको विवाद रहेकाले उनीहरुले यो काम लथालिङ्ग पारेका हुन भन्ने सुनिन्छ,’ स्थानीयवासी लालबहादुर कठायतले भने। यो योजनामा ३१ लाख रकम पेश्की लगिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले जनाएको छ।

यता ठेकेदार धामीले व्यवस्थापकीय समस्याका कारण काममा ढिलाई भएको बताए। उनले भने,‘केही व्यवस्थापकीय समस्याका कारण ढिलाई भयो। अब म्याद थप माग्दै छौ। म्याद थपेर तत्काल काम गर्छौ।’


 

प्रकाशित: ३ पुस २०७६ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App