coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषकका घरगोठमा कर्मचारी र व्यवसायी

लमजुङ- सदरमुकाम बेसीसहरमा भइरहेको पाँचौँ लमजुङ महोत्सवको अवसरमा सरकारी कर्मचारी र व्यवसायी कृषकको घर–गोठमा पुगेका छन्। महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य संघले कृषकको अवस्था बुझ्न जिल्ला पशु सेवा र जिल्ला कृषि विकास कार्यालय प्रमुखहरू, प्राविधिक कर्मचारीसँगै उद्योगी, व्यवसायीलाई विकट गाउँका कृषि फर्ममा पुर्‍याएको हो। 

उनीहरू जिल्लाको जिता, गहते, उदीपुर, गाउँसहर, घनपोखरा, भुलभुले, भलायखर्क, बोराङखोला, कोल्की लगायत गाउँमा सञ्चालित कृषि फर्ममा पुगे। महोत्सवअन्तर्गत कृषि प्रवर्द्धन उपसमितिको संयोजनमा मौरीपालन, कुखुरापालन, बाख्रापालन, माछापालन, अलैँचीखेती, तरकारीखेती र परम्परागत भैँसी गोठको अवलोकन गरिएको जिल्ला पशु सेवा कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. लक्ष्मण ढकालले बताए।

गाउँ भ्रमणले व्यवसायीलाई पनि उत्पादन क्षेत्रबारे जानकारी मिलेको महोत्सव कृषि प्रर्वद्धन उपसमिति संयोजक रामबाबु श्रेष्ठको भनाइ छ।

उदाहरणीय किसान

भ्रमणका क्रममा निकै राम्रो आम्दानी गरिरहेका कृषक भटिएका छन्। बेसीसहर नगरपालिका–२ उदीपुरका शिव पाण्डेले एक सय ७० घार मौरी पालेको भेटियो। उनले मह बिक्री गरेर वार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

त्यस्तै, सुन्दरबजार नगरपालिका–९ गहतेगाउँका विक्रम गुरुङले १७ वर्ष अघिदेखि व्यावसायिक मौरीपालन गर्दै आएका छन्। स्तरीय चरण क्षेत्रमा उत्पादन गरिएकाले उनको महले राम्रो मूल्य र बजार पाएको छ। मह बिक्रीबाट वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आएको उनी बताउँछन्।

काठमाडौंबाट उच्चशिक्षा हासिल गरेका जिताका रमेश पौडेल, पर्वतका भरत पोखरेल र तनहुँका राम पाण्डेले साझेदारीमा मध्यनेपाल नगरपालिका–२ जिता देउरालीमा व्यावसायिक बाख्रा फर्म सञ्चालन गरेका छन्। उनीहरुले दुई सय रोपनी जग्गा खरिद गरी एक करोड रुपैयाँ लगानीमा एक सय ३० स्थानीय खरी जातका बाख्रा पाल्न थालेका हुन्। भविष्यमा बाख्रासँगै माछापालन, तरकारीखेती गर्ने लक्ष्य रहेको फर्म सञ्चालक रमेश पौडेलले बताए।

सिम्पानीका ७४ वर्षीय मित्रलाल सुवेदीले पहिलेदेखि नै घनपोखराका लेकबेसीमा भैँसी पाल्दै आएका हुन्। उनले भैँसीका माउ, पाडापाडी र घिउ बिक्री गर्दै आएका छन्। पछिल्ला वर्षमा उनको वार्षिक आम्दानी १० लाख जति हुने मित्रलालका छोरा एकानन्द बताउँछन्।

परम्परागत भैँसीपालनबाटै घनपोखराका ४५ वर्षे तारानाथ घिमिरेले यसै वर्ष वैशाखदेखि कात्तिकसम्म घिउ बिक्री गरेर आठ लाख ४० हजार रुपैयाँ कमाइ गरे। माउ तथा पाडापाडीबाट छुट्टै आम्दानी हुने उनको भनाइ छ। त्यस्तै, भकुण्डेका गमबहादुर तामाङले स्थानीय जातका कुखुरा पाल्दै आएका छन्।

भुलभुले–९ छिनखोलाका अलैँची कृषक अजय तामाङ आफू जिल्लाभरि अलैँचीको व्यावसायिक उत्पादन र बजारीकरणमा लागिपरेको बताउँछन्।

उनी भन्छन्, 'खाडीमा होइन, झाडीमा खट्न सके वार्षिक ५–६ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ।'

गुरुङकै पहलमा थुप्रै गाउँठाउँका ओसिलो र मलिलो पाखामा अलैँचीखेती गर्न थालिएको छ। उनी हाल जिल्लास्तरीय अलैँची कृषक समूह अध्यक्ष समेत हुन्।

त्यस्तै, विकट कोल्की–२ तस्यौँका लक्ष्मण गुरुङले गाउँमै स्थानीय जातका कुखुरा पाल्दै आएका छन्।

यातायातको राम्रो सुविधा नपुगेकाले गुरुङ आफैँ डोकोमा कुखुरा बोकेर कोल्की, गौंडा, प्यारजुङ जस्ता गाउँघर पुगेर बिक्री गर्दै आएका छन्।

त्यस्तै, राइनासटार नगरपालिका–६ कैनीटारमा नवराज पौडेलले ठूला आकारका झन्डै २० पोखरी निर्माण गरी माछापालन सुरु गरेका छन्।

माछामा जिल्लालाई आत्मनिर्भर बनाएर निर्यात समेत गर्ने लक्ष्य साथ सुरु गरिएको माछापालन पहाडी जिल्लामा निकै ठूलो र नमुनायोग्य भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले बताए।

अनुगमनका क्रममा कृषकले गरेका प्रयास र कामबारे जानकारी लिनुका साथै समस्या संकलन गरी आवश्यक प्राविधिक परामर्श दिइएको कृषि तथा पशु सेवा कार्यालयका कर्मचारी बताउँछन्।  

उत्कृष्ट कृषक छनोट

अनुगमनपछि पुरस्कृत गर्ने गरी जिल्लाका व्यावसायिक मध्ये सातलाई उत्कृष्ट कृषक छनोट गरिएको छ। जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका झन्डै एक दर्जन व्यावसायिक फर्मको स्थलगत अनुगमनपछि अलैँची, तरकारी, पशुपक्षी, माछा र मौरीपालन क्षेत्रबाट उत्कृष्ट कृषक छानिएको हो। उत्कृष्ट कृषकमा अलैँचीमा भुलभुल–९ छिन्खोलाका अजय तामाङ, तरकारीमा राइनास नगरपालिका–१० तल्लोबोराङका टेकबहादुर गुरुङ र बेसीसहर–२ उदीपुरका इन्द्रबहादुर खड्का, मौरीपालनमा सुन्दरबजार नगरपालिका–२ गहतेका विक्रम गुरुङ, माछापालनमा राइनास नगरपालिका–६ कैनीटारका नवराज पौडेल, बाख्रापालनमा मध्यनेपाल नगरपालिका–२ जितास्थित चिनारी कृषिफर्म, भैँसीपालनमा सिम्पानी–४ सेग्लेका घुम्तीगोठ सञ्चालक मित्रलाल बास्तोला र स्थानीय जातका कुखुरापालनमा कोल्की–२ तस्यौँका लक्ष्मण गुरुङ छानिएका छन्। उनीहरूलाई पाँचौँ लमजुङ महोत्सवका अवसरमा सम्मान गरिने भएको छ।

प्रकाशित: २ पुस २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App