coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा उम्मेदवार मनोनयन पुस २० मा

काठमाडौं – निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार माघ ९ गते हुने निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन हुनेछ। सोही दिन प्रकाशित नामावलीउपर दाबी विरोधको उजुरी दिने र १८ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नका लागि पुस २० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गर्नेछन्। मनोनयन दर्ता गरेका उम्मेदवार उपर उजुरी आह्वान गर्ने, जाँचबुझ गर्ने, उम्मेदवारी फिर्ताको समय दिने लगायतका प्रक्रिया सम्पन्न गरि पुस २२ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। अन्तिम नामावलीमा भएका उम्मेदवारलाई आयोगले पुस २५ गते निर्वाचन चिह्न प्रदान गर्नेछ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैनन्। फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभाका १९ मध्ये १८ निर्वाचित पदहरु बहुमतीय प्रणालीबाट हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा निर्वाचित सदस्य कुनै कारणले रिक्त भई निर्वाचन गर्नुपर्ने भएमा कुनै क्लस्टरको एकजना सदस्यको मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आएमा सवैभन्दा बढी मत ल्याउने विजयी हुने व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा हुन लागेको हो।

हाल राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ आठ गरि ५६ जना निर्वाचित हुने र सकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गर्ने कानुनी व्यवस्था छ। सवै प्रदेशबाट छुट्टाछुट्टै निर्वाचन गर्दा तीनजना महिला, एकजना दलित, अर्काे एक अपांगता वा अल्पसंख्यक व्यक्ति हुनैपर्ने व्यवस्था छ। प्रत्येक दुई बर्षमा सदस्यहरुको पदावधि समाप्त हुने व्यवस्थाअनुसार पहिलोपटक निर्वाचित सदस्यमध्येबाट गोलाप्रथाबाट कार्यकाल विभाजन गरिएको थियो। सोअनुसार १८ जना निर्वाचित र १ जना मनोनित गरी १९ जनाको पद रिक्त हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार रिक्त हुने १९ पदमध्ये एकना मनोनित पद हो भने १८ पदमा सबै क्लस्टर र खुला गरी एक–एकजना छन्। सोअनुसार प्रदेश १ मा महिला क्लस्टरबाट १ जना, खुलाबाट १ जना, दलित क्लस्टरबाट १ जना गरी तीनजनाको निर्वाचन हुनेछ। त्यसैगरी प्रदेश २ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना, दलित क्लस्टरबाट १ जना र खुलातर्फ १ जना गरी चार जनाको निर्वाचन हुनेछ। प्रदेश ३ मा खुलातर्फ १ जना, महिला क्लस्टरबाट १ जना गरी दुई जनाको निर्वाचन हुनेछ। गण्डकी प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुलातर्फ १ गरि दुईजनाको निर्वाचन हुनेछ। प्रदेश ५ बाट महिला क्लस्टरबाट १ जना, अपांग अल्पसंख्यक क्लस्टरबाट १ जना र खुला एकजना गरी तीन जनाको निर्वाचन हुनेछ। सुदूरपश्चिम प्रदेशबाट महिला क्लस्टरबाट १ जना र खुलातर्फ १ जना गरि २ जनाको निर्वाचित हुनेछ। कर्णाली प्रदेशमा महिला १, अपांग १ गरि दुई रिक्त पदमा निर्वाचन हुँदैछ भने मनोनिततर्फ रिक्त हुने एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ को व्यवस्था अनुसार सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघिनै निर्वाचन गराईसक्नुपर्ने व्यवस्था छ। जसअनुसार माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो। राष्ट्रियसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधी गणना हुन्छ। ऐनमा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्थाअनुसार एकतिहाइ सदस्यको पदावधि फागुन २० गते पूरा हुँदैछ।

प्रकाशित: ३ पुस २०७६ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App