coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अडान नछाड्न असन्तुष्टको दबाब

काठमाडौं – नेपाली कांग्रेसका संस्थापन र इतर पक्षबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनको विषय पेचिलो बन्न पुगेको छ। संघको नेतृत्व र कार्यसमिति गठनका विषयमा संस्थापन र इतर समूह आ–आफ्नो अडानमा कायै रहँदा बुधबार दुई पक्षबीच सहमति जुट्न नसकेको हो।

संघको केन्द्रीय समिति गठनका साथै पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा भइरहेका प्रयासका विषयमा आन्तरिक छलफलमा जुटेका हुन्। नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा असन्तुष्ट पक्षीय नेताहरू छलफमै व्यस्त रहेपछि उनीहरूकै आग्रहमा बुधबार दिउँसाको लागि सारिएको केन्द्रीय समिति बैठक दुई दिनका लागि फेरि सरेको छ। ‘उहाँहरू(असन्तुष्ट पक्ष)ले आन्तरिक छलफलमा रहेकाले बैठक सार्न आग्रह गर्नुभयो,’ संस्थापन पक्षका एक नेताले भने, ‘सहमतिका लागि भइरहेको प्रयासलाई बल पु-याउन बैठक स्थगित गरेका छौं।’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित उपस्थित संस्थापनइतरको भेलामा प्रकाशमान सिंहसहित वार्ता टोलीका सदस्यहरूले पार्टी उपसभापतिसमेत रहेका संस्थापन पक्षबाट वार्तामा खटिएका विमलेन्द्र निधिसँग भएको सहमति प्रयासको जानकारी गराएका थिए। उनीहरूले नेपाल विद्यार्थी संघ बाहेक अन्य विषयमा सैद्धान्तिक सहमति नजिक पुगेको जानकारी गराए पनि सहभागी नेताहरूले १४ औं महाधिवेशनको सुनिश्चिता हुनेगरी कामकाजी कार्यतालिका ल्याउन जोड दिनुपर्ने सुझाएका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले समयमै महाधिवेशन गराउनेमा इतर समूहले अझै अशंका व्यक्ति गरेका छन्।

पार्टीको विभाग थप गर्नेमा वार्ता टोली सहमतिमा पुगेपनि सिटौलासहितका नेताहरूले संशोधित विधानको व्यवस्था विपरित संख्या बढाउन नहुने धारणा राखेको सहभागी एक नेताले जानकारी दिए। पार्टीको महाधिवेशन प्रभावित गर्न सभापति देउवाले विभागको संख्या बढाएर गठन गर्न खोजेको आरोप लगाउँदै असन्तुष्ट पक्षीय नेताहरूले अब विभाग गठनको औचित्य नै नभएको तर्क गरेका छन्। ‘होइन बनाएरै छाड्ने हो भने नरमगरम मिलाएर गठन गर्नुपर्छ,’ सहभागीको वार्ता टोलीलाई भनेका थिए, ‘सकेसम्म २८ नै विभाग बनाउनुपर्छ।’

पार्टीका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमध्य एकको नेतृत्व दाबी गर्न वार्ता टोलीलाई सहभागीले सुझाएका छन्। संस्थापन पक्षले तरुण दलको महासचिव मात्र हटाउन नहुने खाजेको भन्दै इतर समूहले त्यसलाई नमान्न सुझाएका छन्। ‘कि तरुण दलको सबै नयाँ समिति गठन गर्नुप¥यो होइन भने एउटालाई मात्र हटाउने कुरा ठिक होइन,’ सहभागी एक नेताले भने, ‘अब विधानअनुसारको पूर्ण कार्यसमिति गठन गर्नुपर्छ।’

अझै दुई पक्षबीच नेपाल विद्यार्थी संघको कार्यसमिति गठनमा सहमति जुट्न सकेको छैन। संस्थापन पक्षले राजीव ढुंगानाको नेतृत्वमा एक महामन्त्रीसहित बहुत सदस्य आफ्नो पक्षमा राख्ने प्रस्ताव गर्दै आएको छ। पार्टीभित्रका अन्य गुट र समूहलाई पनि एक÷एक महामन्त्री दिएर चार बनाउने संस्थापनको पक्षको प्रस्तावमा इतर समूहले असहमति जनाउँदै आएका छन्। अध्यक्ष संस्थापन पक्षले नै राख्ने भए पनि एक महामन्त्रीसहितको सदस्य आफ्नो पक्षले पाउनु पर्ने अडानमा छ। ‘संघको सबैभन्दा ठूलो पक्षलाई सहमतिको क्रममा अन्तिममा राखिएको छ,’ एक नेताले भने, ‘त्यसले गर्दा जुट्दै गएको सहमतिमा पनि समस्या आउने संकेत देखिन थालेको छ।’

एक वर्ष कार्यकाल थप गरेर २०७७ फागुनको मध्यमा १४औं महाधिवेशन गर्ने, पार्टीका विभागहरू थप गर्नेसहितका विषयमा समझदारीमा पुगेका दुवै पक्ष मिल्न बाँकी रहेका विषयमा बिहीबार सहमतिमा पुग्ने अपेक्षामा छन्।

प्रकाशित: ३ पुस २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App