coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु चुनौती’

दिक्तेलमा आयोजित अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका सहभागीहरु। तस्बिरःदमन/नागरिक

खोटाङ– खोटाङमा आयोजित कार्यक्रमका वक्ताले गाउँमा ‘रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु’ अहिलेको प्रमुख चुनौती भएको बताएका छन्। ‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ भन्ने नारासहित दिक्तेलमा बुधबार आयोजित अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका सहभागी वक्ताले विभिन्न देशबाट उल्लेख्य मात्रामा रेमीट्यान्स भित्रिने गरेपनि आयमुलक काममा लगानी गर्ने व्यवस्था नहुँदा अनुत्पादक बनिरहेको बताएका छन्।

स्वीस सरकारबाट नगरपालिकामार्फत प्राप्त भएको आर्थिक सहयोगमा बालसेवा समाज नेपालले सञ्चालन गर्दै आएको सुरक्षित आप्रवासन सामी परियोजना (सामी)ले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारले कतिपय स्थानीयको आर्थिक अवस्थामा सुधार गरेको मात्र नभई समस्या पनि सिर्जना गरेको चर्चा गरिएको छ।

होटल शुभदिनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङले परदेशमा पसिना बगाएर आर्जन गरेको रेमीट्यान्सलाई बचत गरेर उत्पादनमुलक काममा लगानी गर्नु झन् महत्वपूर्ण विषय भएको बताए। ‘श्रम गरेर धन पाउनु महत्वपूर्ण कुरा हो, त्यसलाई जोगाउनु झन् महत्वपूर्ण कुरा हो,’ समन्वय समितिका प्रमुख चाम्लिङले भने, ‘यसका लागि वैदेशिक रोजगारमा संलग्न हरेक परिवारलाई वित्तिय साक्षरता सम्बन्धी ज्ञान आवश्यक छ।’

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले हरेक वर्ष स्थानीय सरकारको वार्षिक बजेट भन्दा बढि मात्रामा भित्रिरहेको रेमीट्यान्सलाई पुनः आर्जनको क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगारमा आवद्ध परिवारलाई आग्रह गरे। ‘हाम्रो नगरपालिकामा वर्षमा हाम्रो वार्षिक बजेट भन्दा बढि रेमीट्यान्स भित्रिन्छ,’ मेयर रिजालले भने, ‘त्यस रेमीट्यान्सलाई व्यवस्थीत गर्दै लगानी गर्ने र पुनः आम्दानी लिन सकिने क्षेत्रमा सदुपयोग गर्नुपर्ने अवस्था आएको छ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले पनि रेमीट्यान्सको सदुपयोगका लागि वैदेशिक रोजगारमा आवद्ध परिवारको ध्यानाकर्षण गराए। कार्यक्रममा मैनबत्ती बालेर आप्रवासी कामदारको सम्झना गरिएको छ। कार्यक्रममा वैदेशिक रोजगारमा संलग्न परिवारका सदस्यसँग अन्तरक्रीया गरिएको थियो।

चालु आर्थिक वर्षदेखि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपीलासगढी गाउँपालिकामा बाल सेवा समाज नेपालमार्फत सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ। स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परियोजना कार्यान्वयनका लागि नगरपालिकाले बालसेवालाई छनौट गरेसँगै गत असोज २८ गते सम्झौता गरिएको परियोजनाका संयोजक ओजोनबाबु आचार्यले बताए। चालु आर्थिक वर्षबाटै हलेसी तुवाचुङ नगरपालिकाले पनि सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको छ।

परियोजनाले वैदेशिक रोजगारीमा संलग्न व्यक्ति तथा परिवारलाई निःशुल्क सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तालिम, रेमिट्यान्सको उत्पानदमुलक क्षेत्रमा लगानीको लागि सहजिकरण गर्ने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श सेवा, निःशुल्क कानुनी सेवा लगायतका सेवा प्रवाह गर्दै आएको बाल सेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलले बताईन्।

‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि बिदेश नै जाने हो भने सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नारासहित सामीले जिल्लामा सन् २०११ देखि वैदेशिक रोजगारका विषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षदेखि भने स्थानीय तह अन्तरगत कार्यक्रम सञ्चालन सुरु भएको हो।

 

प्रकाशित: २ पुस २०७६ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App