८ वैशाख २०८१ शनिबार
समाज

रक्सीले थलिए राउटे

पेट र मृगौलाको समस्या देखीएपछि उपचार गराउँदै राउटे युवा कपिल। तस्बिरः गोविन्द/नागरिक

दैलेख- दैलेखको गुरासँ गाउँपालिका –४ सत्ताचौरस्थित डाँडामा रहेको राउटे बस्तीमा रहेका राउटेहरु रक्सीकै लतले थलिएका छन्। अहिले बस्तीमा रहेका ७ जना राउटेहरु रक्सीको लतले थलिएका हुन्। उनीहरुमा मानशपटल गुमाएको जस्तो गर्ने, शरिर कमजोर हुने, आखाँ पहेलो, ज्वरो, रुकाखोकीले थलिएका हुन्।

थलिनेमा २२ वर्षदेखि ६० वर्षसम्मका रहेका छन्। २६ वर्षका बलालबहादुर शाहीदेखि ६० वर्षका कान्थाराम शाहीसम्म रक्सीले थलिएका हुन्। १० वर्षको उमेरदेखि नै राउटे बच्चालाई जाँड खुवाउन सिकाइन्छ। कतिपय रक्सीले राउटेहरु होस् गुमाएजस्तो गरेर हिड्ने गरेका छन्। राउटे बस्ती नजिकै उनीहरुलाई सस्तो खालका रक्सीहरु बेच्नका लागि लक्षित गरेर पसलसमेत राखिएको छ। चिसोले अन्य राउटेहरु पनि बिरामी भएका छन्।

बिरामी हुनेमा वृद्धहरु र सुत्केरी नवजात शिशुहरु रहेका छन्। अहिले राउटे बस्तीमा १० जना राउटे महिला छन्। सुत्केरी महिलाहरु पोषिलो खानेकुराबाट बञ्चित छन्। प्राय राउटेहरु सुक्का खानेकुरा, मदिरा बढी खाने गर्दछन्। मंसिर २७ गते सामाजिक विकास मन्त्रालयबाट उनीहरुलाई २५ केजी चामल, ५० किलो दाल, १ पोका नुन र तेल दिइएको छ। राउटे बस्तीमा ४६ घर छन्। १ सय ५१ जना राउटे संख्या रहेको छ। राउटे उत्थानका लागि कार्यक्रमहरु बस्तीमा लागू भए पनि रक्सीको लतमा झनझन पर्न थालेपछि सरोकारवालाहरु चिन्तित छन्।

विभिन्न खाले कार्यक्रम बस्तीमा लागू भए पनि रक्सी खाने दरमा कमि नआएको, झन् बढी रहेको राउटेकी भान्जी नामले परिचित राउटे उत्थानमा लागेकी सत्यदेवी खड्काले बताइन्। ‘पहिले पुरुषहरु मात्रै रक्सी खान्थे।’ खड्काले भनिन्ः अहिले महिलाहरु पनि रक्सीको तलमा फसे, १० वर्षका बच्चादेखि नै जाँड खुवाउन सिकाइयो। अब, उनीहरुलाई बचाउन सबै लाग्नु परो।’ उनीहरुका लागि सामाजिक विकास शाखा दैलेखबाट ३० लाख, सामाजिक विकास मन्त्रालयबाट २० लाख र क्षेत्रिय शिक्षा निर्देशनालायबाट ३० लाख रकम राउटे उत्थानका नाममा विनियोजन भएको छ।

उपचारपछि फर्किए कपिल
बिरामी भएर थलिएका राउटे युवा कपिल शाही हप्तादिनदेखि लामो उपचारपछि बस्तीमै फर्किएका छन्। मृगौलामा समस्या देखीएपछि पेट, आँखा सुनिएको थियो। एउटा मृगौलाले काम नगरेको अर्को मृर्गाला आंशिक काम गरेको डाक्टरहरुले बताएको उपचारमा पुगेका दानसिंह राउटेले बताए। उपचारपछि अहिले निको भएको छ।

६ हप्तापछि फलोअपका लागि काठमाडौं बोलाएको कपिलसँगै उपचारमा काठमाडौं पुगेकी राउटेसँग काम गरेकी अभियान्ता सत्यदेवी खड्काले बताइन्। डाक्टरले प्रदेश अस्पतालमा डाक्टरहरुकै निगरानीमा औषधी गर्न सुझाव दिएका छन्। उपचारपछि बस्तीमा पुगेका कपिललाई अन्य साथीहरुले रक्सीले स्वागत गर्न पुगेका थिए। तर, कपिलले आफुले अब, रक्सी खाए नबाच्ने भन्दै छोडेको घोषणा गरेका थिए। उपचारपछि आफुलाई ठिक हुँदै गएकाले अब, रक्सी नखाने कपिलले बताए।

 

 

प्रकाशित: २ पुस २०७६ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App