८ वैशाख २०८१ शनिबार
समाज

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

यहाँको कमलामाई नगरपालिका ३ जलकन्यास्थित हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि बनेका घरहरु। तस्बिर:अनिल/नागरिक

सिन्धुली- यहाँको साविकको जलकन्या गाविसको हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि मुहारै फेरिएको देखिन्छ। विगत पाँच वर्ष अगाडीसम्म जस्ताको छानो भएको घर देख्न मुस्किल पर्ने यस टोलमा अहिले ९० प्रतिशत बढी घर जस्ताले टल्किएका छन्। २०७२ सालको भूकम्प अगाडी वर्षेनी आगलागीको त्रासमा बसेको यस गाउँमा भूकम्पपछि बनेका प्रत्येक घरमा जस्ता लागेसँगै आगलागी हुनबाट पनि जोगिने आशा जागेको स्थानीय बताउँछन्।

निलो जस्ताको छानो, घरको वाल(गाह्रो) मा पाँच स्थानमा रड सिमेन्टको बन्धन अनि ढुङगा माटोको जडान। भूकम्पपछिको घरको दृश्य जलकन्याको यो गाँउमा मात्रै होइन धेरै स्थानमा यस्तै छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ल्याएको नियमलाई ध्यान दिएर बनाइएको भूकम्प प्रतिरोधी घर बलियो मात्रै होइन फुसको छाना हटाउने दरिलो माध्यमनै बनेको छ।

प्राधिकरणले उपलब्ध गराएको आवास अनुदान वापतको रकमले बनेका घरहरुमा अनिवार्य जस्तापाता लगाउने तथा ढलान गर्नुपर्ने प्राबधान राखेसँगै जिल्लाका सर्यौ बस्ती फेरिएका छन्। आर्थिक अवस्था दरिलो हुनेदेखि कमजोर भएकालेसमेत निलो जस्ताको छानोनै राखेर घर बनाएपछि बस्तीको मुहार फेरिन थालेको हो।

आडगढी मझुवा सडक खण्ड अन्र्तगत पर्ने कमलामाई नगरपालिका ३ जलकन्यामा धेरै घर पुनर्निर्माण भइसक्यो। पुनर्निर्माणको अन्त्यतिर पुगिसकेको यस वडामा सबैका एकै किसिमका घर देखिन्छन्। को धनी को गरिब पुनर्निर्माण योजना अन्र्तगत सरकारले दिएको तीन लाख अनुदानबाट बनेका घर धेरैका एउटै किसिमका छन्। सामान्य तया पहाडी क्षेत्र त्यसमा पनि महाभारत क्षेत्रमा ढुङगामाटोको घरको विकल्प पनि छैन।

त्यहिँ ढुङगा माटो जडान घर एकै किसिमले बन्दा स्थानीयनै दङग छन्। धेरैले दुई कोठाको लोडबेरिङ घर निर्माण गरेका छन् भने केहि लाभग्राहीले मात्रै तीन कोठा बनाएका छन्। गाउँमा पक्कि र पिल्लरसहितका घर बनाउने औलामै गन्न सकिने छन्। बाँकी भूकम्प पिडितका भने सबै एकै प्रकारले घर बनेका छन्। पुनर्निर्माणपछि गाउँको सबल पक्ष एकै किसिमका घर बनेका छन्, गोलञ्जोर गाउँपालिका २ का डकर्मी राम स्याङतानले भने, हाम्रो टोलिले तीन वर्षदेखि निरन्तर लाभग्राहीका घर निर्माण गरिरहेका छौ, सबैले एकै प्रकारका घर बनाएका छन्।

फुसको छानो हटाएर जस्तापाताको छानो सबैले बनाएको देख्दा गाउँनै उज्यालिएको देखिन्छ। उनले पुनर्निर्माणपछि धनी गरिब एकै किसिमको देखिने घर बनेको भन्दै खुसी व्यक्त गरे। गत २०७२ साल बैशाखमा गएको भूकम्पबाट सिन्धुलीका साविक २५ गाविसमा बढी असर पुगेको छ। सुनकोसी आसपास तथा महाभारत क्षेत्रमा भूकम्पबाट बढी क्षति पुगेको थियो। यि क्षेत्रमा हाल धमाधम घर बनिरहेका छन्। बनेका घर अधिकांश जस्ताको छानो लगाइएको घर बनेको स्थानीय बताउँछन्।

सदरमुकाम र राजमार्ग आसपासका केहि स्थानबाहेक धेरै गाउँमा लोडबेरिङ सिस्टममा घर बनेका छन्। जिल्लामा हालसम्म ५५ प्रतिशत बढीले नयाँ घर निर्माण कार्य सम्पन्न गरि आवास अनुदान बापतको रकम पुरै लिएका छन्, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार कार्यालयका प्रमुख सुर्यप्रकाश विष्टले जानकारी दिए।

भूकम्पले घरबारविहीन बनाएको ५५ महिना बढी बित्दा जिल्लाका २० हजार ५ सय ९० जनाले घर निर्माण गरि तेस्रो किस्ता बापतको रकम लिएको कार्यालय प्रमुख बिष्टको भनाई छ। गाँउमा प्राविधिक इन्जिनियर पुगेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्राविधिक सहयोग पुर्‍याएपछि प्राविधिकको सल्लाह अनुसार बनेका घरले गाउँको बस्तीनै एकाम्मे जस्तै भएको जनप्रतिििनधिहरु बताउँछन्।

हाम्रो वडामा धेरै घर निर्माण भइसकेका छन्, कमलामाई नगरपालिका ३ का वडाअध्यक्ष खड्ग चौलागाईले भने–‘भूकम्पपछि बनेका प्राय घर सबै एकै प्रकारका छन्।’ भूकम्पपछि गाउँनै ध्वास्त भएको यहाँको गोलञ्जोर गाउँपालिकास्थित राताटारका स्थानीयले आलोपालो गरेर सामूहिक घर निर्माण गरेका छन्। उनिहरुले सिप भएका तथा सिप नभएकाले आफुले जे जानेको छ सोही काम गर्ने भन्दै सामूहिक घर बनाई एकै प्रकारका घर निर्माण गरेको स्थानीय बताउँछन्।

 

 

प्रकाशित: २ पुस २०७६ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App