जाजरकोट- सात वर्षदेखि घरबाट हराएकी यहाँकी एक महिलालाई सकुसल घर पुग्न सहयोग गरिएको छ। जिल्लाको बारेकोट गाउँपालिका वडा नम्वर ५ करुकाकी कल्पना थापा घरबाट बाहिरिएको सात वर्षपछि आफ्नो जन्मघर पुगेकी छिन्।
सात वर्षदेखि घरबाट हराए पनि तीन वर्षअघि मात्र भारतको तमाना शिस्टर अफ च्यारीटी अर्थात हराएका महिलाहरुको संरक्षण घरको सम्पर्कमा गएकी थिइन्। सोहि संस्थामा कार्यरत मन्जुशाको समूहले कल्पनालाई विभिन्न व्यक्ति र संस्थाको सहकार्य र सहयोग लिएर उनकै घरसम्म पुग्न सहायता गरेको छ। सदरमुकाम खलंगामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर कल्पनालाई उनका दाजु महेन्द्र थापालाई बुझाइएको छ।
बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय प्रमुख गोबिन्दवहादुर सिंह, नेपाल रेडक्रस सोसाइटी जाजरकोटका उपसभापति खम्वजंग शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमवहादुर सिंह, मानवअधिकारवादी दिनेशकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि गोपालवहादुर शाही, नागरिक अगुवा राजेन्द्रविक्रम शाह, युवा जागरण केन्द्र यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेत, बारेकोट गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य भक्तवहादुर वस्नेत लगाएतका व्यक्तिहरुलाई साक्षी राखेर उनीहरुकै जमानीमा कल्पनालाई उनका दाइ महेन्द्रलाई जिम्मा लगाइएको हो।
भारतको नयाँ दिल्लीबाट कल्पनालाई पुर्याउन तमाना शिस्टर अफ च्यारीटीको टोली जाजरकोट पुगेको थियो। तीन वर्षअघि घरबाट भागेर नयाँ दिल्ली पुगेकी कल्पनालाई भारतीय प्रहरीले भेटाएपछि उनी हराएका महिलाहरुको संरक्षण घरको सम्पर्कमा पुगेकी थिइन्।
स्मरण शक्ति कम्जोर भएकी कल्पनाले भारतमा हुँदा आमालाई भेट्ने तिब्र इच्छा राखेपछि उनलाई जाजरकोट पुर्याइएको तमाना शिस्टर अफ च्यारीटी सस्थाकी प्रतिनिधि मन्जुसाले बताइन्। उलने कल्पनालाई उनको जन्मघर पुर्याउन कारीतास नेपालको क्षेत्रिय कार्यालय नेपालगन्जका व्यवस्थापक जनक शर्माले सहयोग गरेको बताइन्।
नेपालगन्जका शर्मा र जाजरकोटमा यार्सनका कार्यक्रम संयोजक सहदेव बस्नेतले कल्पनाको घर र गाउँको खोजी गर्ने काममा ठूलो सहयोग गरेको मन्जुसाले बताइन्। भारतमा रहदा र नेपालीहरुसँग सम्पर्क हुँदा आफू जन्मेको गाउँको नामसमेत भन्न नसक्ने कल्पनालाई शर्मा र बस्नेतको सहयोगले आफ्नो परिवार र घरसम्म पुग्न सहयोग मिलेको हो।
यार्सनका कार्यक्रम संयोजक बस्नेतले धेरै खोजी र पहलपछि कल्पनाको जाजरकोटस्थित घर र परिवार पत्ता लागेको बताए। परिवारमा बुवाको मृत्यु भइसकेको र आमा दाइ र बहिनीको साथमा रहनु पर्ने कल्पनाको पारिवारिक एवम आर्थिक अवस्था निकै दयनीय रहेको स्थानीय भक्तवहादुर बस्नेतले बताए। उनले बुढी आमा र स्वास्थ्य समस्या भएकी कल्पनाको परिवारलाई दैनिक गुजारा चलाउन र उपचारको खर्च जुटाउन निकै समस्या भएको बताए।
कल्पनालाई परिवारको जिम्मा लगाउने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ओमा शाही, नेकपाका अध्यक्ष ढकवीर राना, नेपाल रेडक्रस सोसाइटी जाजरकोटका उपसभापति खम्वजंग शाह र बारेकोट गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष तिलवहादुर महतारा लगाएतले कल्पनाको सकुलसल उद्धार गर्ने काममा सहयोग गर्ने सबैलाइ धन्यबाद दिँदै आगामी दिनमा पनि यस्तै परोपकारी र मानव हितको काममा लाग्न सम्बन्धित सबैलाई आग्रह गरे।
प्रकाशित: २ पुस २०७६ १०:४४ बुधबार