८ वैशाख २०८१ शनिबार
राजनीति

छत्रदेव गाउँपालिकाको हिउँदे अधिवेशन

छत्रदेव गाउँपालिकाले गरेको हिउँदे अधिवेशन।

अर्घाखाँची- जिल्लाको छत्रदेव गाउँपालिकामा हिउँदे अधिवेशनको चटारो थियो। गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत आठ वटै वडाका वडाअध्यक्षहरु दौरा सुरुवालमा सज्जित थिए।
एउटा कुनामा सेतो दौरा–सुरुवाल र कालो कोटमा मर्यादापालक पनि राखिएको थियो। अधिवेशनको सुरुमै पालिका अध्यक्ष लेखनाथ पोख्रेलले पालिकाको सातौं गाउँसभा सुरु भएको उद्घोष गरे। हेर्दा र सुन्दा ठ्याक्कै संघिय संसदको झल्को आउने गरी क्रियाकलापहरु भईरहेका थिए। संसद भवनभित्रै भएको अनुभुती गराउँदै उनले सभाका सदस्य ज्यूहरु भन्दै सम्बोधन सुरु गरे।

संघिय संसदको झल्को त्यहींसम्म मात्र सिमित भएन। सभामुखको भूमिकामा रहेका पालिका अध्यक्ष पोख्रेलले आर्थिक ऐन–२०७६ (पहिलो संशोधन) विधेयक पास गर्दा ‘हुन्छ भन्नेले हुन्छ भन्नुहोला, हुन्न भन्नेले हुन्न भन्नुहोला’ भन्दै ध्वनी मतबाट विधेयक पास गराए।

गाउँसभाले अघिल्लो आर्थिक वर्षमा बचत भएको रकम विभिन्न क्षेत्रगत विषयहरुमा विनियोजन गरेको छ। गत आर्थिक वर्ष २०७५/२०७६ को असार मसान्तसम्ममा बचत हुन आएको ८९ लाख २ हजार पाँच सय ३८ रुपैयाँबाट १६ वटा योजना छनौट गरेको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिए।

केही महत्वपूर्ण योजना छुटेको भन्दै विधेयक समितिका पाँच जना सदस्यले धारणा राखेका थिए। ति धारणाहरुलाई समेत समेट्दै आगामी कार्यक्रममा छुटेका योजना समावेश गर्ने अध्यक्ष पोख्रेलले बताए। प्राविधिक शिक्षा तर्फ बाली विज्ञानमा ४० जना विद्यार्थीलाई निशुल्क पठनपाठन गराउन पहिलो चरणमा २० लाख र खानेपानी क्षेत्रमा करिब ५० लाख बजेट विनियोजन गरिएको पनी उनले जानकारी गराए।

गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले संघिय सरकारले हिउँदे अधिवेशन डाकिसकेको अवस्थामा स्थानीयतहहरुले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताईन्। छत्रदेवको सिको अरु स्थानीय तहले गर्न सक्नेगरी आफूहरुले मेहनत गरिरहेको उनको भनाई छ। प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले सरकारको निती बमोजिम ७२ घंटा अगावै सूचना जारी गरेर अधिवेशन गरिएको बताए। अधिवेशनमा ८ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो।

जिल्लाका अन्य स्थानीय तहले भने हिउँदे अधिवेशन गर्ने कुनै सुरसार गरेका छैनन्।

 

प्रकाशित: २ पुस २०७६ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App