८ वैशाख २०८१ शनिबार
राजनीति

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रसासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा शुक्रबार दिनभर तनावग्रस्त तम्घासकाे जिप्रका परिसर।

गुल्मी– जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र  प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

झडपमा नेकपा मालेकी सांसद कमला विकसहित करिब २५ जना प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएको संघर्ष समितिका सदस्य पदम पाण्डेयले जानकारी दिए। झडपमा परी गम्भिर घाइते भएका नेपाल तरुणदल रेसुङ्गाका नगर सभापति अध्यक्ष कृष्ण पाण्डेलाई थप उपचारको लागी पाल्पा पठाइएको छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो। झडपका कारण तम्घास अहिले पनि तवानग्रस्त छ।

झडपमा बिद्यार्थी नेता श्रीराम महत, शोभाखर गिरी, व्यवसायी रामप्रसाद बञ्जाडे, नयाँ शक्ति नेपालका जिल्ला सचिव जनक पन्त, झविन्द्र विक, किशोर मरासिनी, राम प्रसाद पोख्रेल, नेतृ मैना भण्डारी, गोविन्द बराल, बिनोद भुसाल, शुसिल अधिकारी, कमल पन्थी कुलानन्द भण्डारीलगायत घाइते छन्।

त्यस्तै, प्रहरी तर्फका प्रहरी नायव निरीक्षक युवराज रेग्मी, प्रहरी हवल्दार लालबहादुर गाहा, जवान राजकिशोर बाउन, तुल बहादुर गुरुंग, कृष्ण रानासहित ७ जना घाइते भएका छन्। घाइतेको टाउको, हात, खुट्टामा चोट लागेको छ। घाइते सवैको रेसुङ्गा अस्पताल र तम्घास अस्पतालमा उपचार भैरहेको छ।

आक्रोशित प्रदर्शनकारीले दुईवटा सवारी साधनमा आगजनी गरेका छन्। जिल्ला विकास समितिका बा १ झ ६६८१ नम्बरकोे गाडी र ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी गरेका हुन्।

प्रहरीले आफूहरुमाथि दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, एसपी भोला रावलको सरुवा माग गरेका छन्। प्रदर्शनकारीलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव एवम् गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले जतजनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलनमा दमन गरी उत्तेजना नफैलाउन आग्रह गरे। उनले रेसुंगा डाँडाको शिर झुके पनि बढिघाट खोला सुके पनि आफ्नो नरोकिने बताए।

आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद कमला विकले सरकारको कदम र प्रहरी दमन बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइन् । शान्तिपुर्ण अबस्थामा धर्नामा बसीरहेको बेला प्रहरी प्रशासनबाट भएको दमनले आफनो ध्यानकर्षण भएको बताइन्। पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा मंसिर १४ गतेबाट जारी आन्दोलन शुक्रबार १७ दिन पनि जारी रह्यो।  
जिल्लाका ४५ वटा सरकारी कार्यालयमा एकै साथ ताला लगाइएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्टले बताए। शुक्रबार साँझ बिज्ञप्ती जारी गर्दै परिचालन कमिटीले प्रहरी दमनको विरोध गरेको छ। आन्दोलनमा घाइते भएकाहरुको स्वास्थ्य उपचार गर्न भरत चन्दको संयोजकत्वमा समिति बनाइएको छ।

शनिबार पुस २ गते पनि बिशाल प्रर्दशन गर्ने कमिटीले निर्णय गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले आन्दोलनकारी एकाएक उत्तेजित भएर प्रहरीमाथि ढुंगा प्रहार गरेकाले आत्मारक्षाका लागि केही सेल अश्रुग्यास चलाउनु परेको बताए। उनले प्रहरीतर्फ पनि ७ जना घाइते भएको बताए।  

 

प्रकाशित: १ पुस २०७३ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App