७ वैशाख २०८१ शुक्रबार
खेल

हिमालयन शेर्पासँग पुलिसको बराबरी

पुलिसविरूद्ध बल अगाडि बढाउँदै हिमालयन शेर्पाका आशिष गुरूङ(सेताे) तस्बिर साैजन्यः एन्फा

काठमाडौं – अनुभवी खेलाडीको वर्चस्व रहेको विभागीय टोली नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआत गरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार  यती हिमालयन शेर्पासँग पुलिसले बराबरी खेल्दै अंक बाँडेको हो। तीन पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन पुलिसले अवसर सिर्जना गरे पनि फिनिस गर्न नसक्दा बराबरीमा चित्त बुझायो। लिगका अनुवभी पुलिसका खेलाडी जुमानु राई, भोला सिलवाल तथा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका रविशंकर पासवानजस्ता स्टार खेलाडी भए पनि हिमालयनविरुद्ध लोभलाग्दो प्रदर्शन भने गर्न सकेन।

यता, विदेशी खेलाडी बिनाको हिमालयनले भने पुलिसविरुद्ध केही उत्कृष्ट आक्रमण बुन्दै दबाब सिर्जना गरेको थियो। तर, हिमालयनले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा बलियो टोली पुलिसविरुद्ध शतप्रतिशत अंक निकाल्ने अवसर गुमाउन पुग्यो। बराबरीसँगै हिमालयन शेर्पा र पुलिसले अंकतालिकामा १÷१ अंक जोड्न सफल भएका हुन्।

यसअघि रेलिगेसनबिनाको लिगमा हिमालयनले तालिकाको साँतौं स्थानमा रहेर लिग टुंग्याउँदा पुलिस छैटौं स्थानमा थियो। मंगलबार खेलको छैटौं मिनेटमै हिमालयनका विश्वास श्रेष्ठ पुलिसका गोलकिपर शत्रुघ्न चौधरीसँग वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके। शत्रुघ्नको फितलो प्रहार पेनाल्टी बक्स रहेका विश्वासले भेटाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

विश्वासको प्रहार फ्रेममा पनि पर्न सकेन। १२औं मिनेटमा पुलिसको काउन्टर अट्याकमा जुमानु गोल गर्न असफल भए। हिमालयनका गोलकिपर किशोर गिरि अगाडि बढेको अवस्थामा पेनाल्टी एरियानजिकैबाट जुमानुले ओभरहेड प्रहार गरे पनि बलले जाली चुम्न सकेन। ३०औं मिनेटमा पनि सुमन लामाले पेनाल्टी क्षेत्रबाट गरेको अर्को प्रहार हिमालयन गोलकिपर किशोरले विफल बनाए।

त्यसकोे दुई मिनेटपछि नै रवि पासवानको पासमा जुमानु गोल गर्न चुके। ३६औं मिनेटमा हिमालयनका रवि थापामगरको प्रहारलाई पुलिसका गोलकिपर शत्रुघ्नले सहजै आफ्नो नियन्त्रणमा लिए। पहिलो हाफमा दुवै टोलीबाट गोलका लागि प्रयास भए पनि सफल हुन सकेनन्। ४९औं मिनेटमा हिमालयनका बिसोन गुरुङको महत्वाकांक्षी लामो सट प्रहारले दिशा लिन सकेन।

७०औं मिनेटमा विश्वास श्रेष्ठको कर्नर प्रहारमा पुलिसका गोलकिपरले पन्च गर्दै आफ्नो टोलीको संकट टारिदिए। त्यसको एक मिनेटपछि जुमानुको स्थानमा अर्का अनुभवी खेलाडी भोला सिलवाल मैदानमा प्रवेश गरेका थिए। भोलाले ९१औं मिनेटमा गोलको अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पुलिसले बराबरीमै चित्त बुझायो। उक्त खेलमा हिमालयनका आशिष गुरुङ म्यान अफ दी म्याच घोषित भए।

लिगअन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले सरस्वती युथ क्लबमाथि ४–० को फराकिलो जित निकाल्यो। यस सिजन राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटी सरस्वतीविरुद्ध सहजै हाबी हुँदै जित निकाल्यो। त्यो जितसँगै एनआरटीले तीन अंक बटुल्यो। गत संस्करण रेलिगेसनबिनाको लिगको पुछारमा रहँदा एनआरटी –२ अंकमा थियो।

त्यो ऋणात्मक समीकरणका कारण एनआरटीले लिगतालिकामा एक अंक मात्र पाउनेछ। एनआरटीको जितमा सन्तोष तामाङले दुई तथा दुई विदेशी खेलाडी जुनियर ओन्गुयने र जोर्डन जुनियर एनडेम्बाले १/१ गोल गरेका थिए। ओन्गुयनेले खेलको ४०औं मिनेटमा गोल गर्दै एनआरटीलाइई अग्रता दिलाएका थिए।

त्यो गोलबाट नै पहिलो हाफमा एनआरटीले १–० को अग्रता लियो। दोस्रो हाफमा भने एनआरटीले तीन गोल थप्यो। ६९औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए। अन्तिम १० मिनेट बाँकी छँदा झनै आक्रामक बनेको एनआरटीले दुई गोल ग-यो। ८१औं मिनेटमा सरोजले व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटी ३–० ले अगाडि रह्यो।

खेलको ९०औं मिनेटमा यानिक वओनाको गोलबाट एनआरटीले सरस्वतीमाथि रबाफिलो जित निकाल्दै यस सिजनको लिगमा सानदार सुरुआत ग-यो। साथै एनआरटीले सरस्वतीसँग गत संस्करणको लिगमा बेहोरेको हारको बदलासमेत लियो। गत संस्करणको लिगमा एनआरटीले सरस्वतीसँग २–१ को हार बेहोरेको थियो। एनआरटीका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भए।

एनआरटीको जितमा सन्तोष तामाङले दुई तथा दुई विदेशी खेलाडी जुनियर ओन्गुयने र जोर्डन जुनियर एनडेम्बाले १–१ गोल गरेका थिए।

प्रकाशित: २ पुस २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App