८ वैशाख २०८१ शनिबार
अन्य

बाली बहार

‘ह्वेर आर यु फ्रम ?’
‘नेपालबाट ।’
उनले मुसुक्क मुस्काउँदै जिज्ञासा राखे– ‘हिन्दु ?’
‘हो’ भन्ने जवाफ दिनासाथ दुवै हात जोडेर उनले भने– ‘ओम् स्वास्त्यास्तु ।’
‘ओम् स्वास्त्यास्तु’ भन्दै मैले पनि अभिवादन फर्काएँ ।
इन्डोनेसियाको बालीमा हालैको एक बिहान समुद्र किनारामा टहलिइरहेका बेला ७० वर्षे ‘कतुत’सँग भेट भएको थियो । जेठालाई कतुत भन्छन् । हाम्रा गाउँघरमा जस्तै पहिलो, दोस्रो, तेस्रो र चौथो सन्तानलाई जेठा, माइला भनेर चिनाउने गरेजस्तै उनीहरूको पनि चलन छ ।
रातभरि समुद्रले पखालेको कञ्चन बालुवामाथि कतुत मचक–मचक पाइला सार्दै थिए । उनका पाइलाजत्तिकै मेरा पनि अघि सरिरहेका थिए ।
‘तपाईं त निकै जवान देखिनु हुन्छ ?’ कुराको पोयो बाट्दै भनेँ, ‘झलक्क देखिँदा तपाईंलाई कसैले पनि ५० भन्दा बढी आँक्दैन ।’
यो सुनेर उनी कृतार्थ भए । अझ फटाफट पाइला चाल्न थाले । ‘भगवान्को कृपा हो,’ उनले भने, ‘यसैगरी बिहान एक घन्टा आजका मितिसम्म यही किनारामा हिँडिरहेको छु ।’
केही पर पुगेर ढिला हुने भयो भन्दै उनी आएकै गन्तव्यतिर फर्किए । म भने उनीसँग विदा भएर अगाडि पुगिसकेको थिएँ । अलि अगाडि पुगेर हेर्दा उनले पनि फर्केर हेरे र हात हल्लाउँदै मुस्काएँ । म पनि मुस्काएँ उसैगरी ।
मुस्लिम बाहुल्य रहेको मुलुक इन्डोनेसियाको बाली टापुमा हिन्दुसँगको यो पहिलो साक्षात्कार भने होइन । केहीअघि पनि म त्यहाँ पुगेको थिएँ । जबजब बाली टापुको सम्झना हुन्छ, तबतब तिनले आफ्नो धर्म–संस्कृति जोगाउन गरेको अविराम प्रयासको मुक्तकण्ठले प्रशंसा गर्न मन लाग्छ ।
जनवरी २०१४ सम्मको बालीको जनसंख्या ४२ लाख २५ हजार छ । कुल जनसंख्याको ८३.५ प्रतिशत हिन्दु रहेका छन् । १० वर्षअघि हिन्दुको संख्या ९० प्रतिशतको हाराहारी रहेको बताएका थिए । अझ यो संख्या घटेर अहिले ७५ प्रतिशत भएको स्थानीय बताउँछन् । हिन्दुको जनसंख्या उचो राख्न उनीहरूले विशेष जोड दिने गरेका छन् । त्यतिमात्र होइन स्थानीय घरजग्गा खरिदमा समेत हिन्दुलाई उनीहरूको प्राथमिकता हुन्छ । तैपनि खुलापन र बजारको प्रभावले विस्तारै गैरहिन्दुको संख्या बढ्दै गएकोमा उनीहरू चिन्तित छन् ।

हामीकहाँ उखानै छ– नमरी स्वर्ग देखिन्न । संसारमा यस्ता ठाउँ पनि छन् जहाँ पुगेपछि स्वर्गै देखेको अनुभूति हुन्छ । त्यस्तो बेलामा हाम्रो उखान सच्याएर भन्न मन लाग्छ– स्वर्ग जान मर्नै पर्दैन ।
आफ्ना ठाउँलाई स्वर्ग बनाउने कि नर्क त्यो पनि हाम्रै हातमा छ । आफ्नो ठाउँलाई राम्रो बनाएपछि जिउँदै स्वर्ग पुगिहालिन्छ । ठाउँलाई खराब बनाइयो भने जिउँदै नर्क परिन्छ ।
इन्डोनेसियाको प्रशिद्ध टापु बाली पुग्ने जोसुकैले आफूलाई स्वर्गमा आइपुगेको अनुभूति गर्छन् । त्यही भएर त पर्यटकहरू बारबार त्यहाँ गइरहन चाहन्छन् । पर्यटक बाली गइरहनुमा त्यहाँ रहेका पुराना मन्दिरहरूको संरक्षण र पूजापाठलाई दिइएको निरन्तरता हो ।
हामीकहाँ नेपाल हिन्दु राष्ट्र नभएकोमा धेरैको गुनासो सुनिन्छ । तर, भएका मठमन्दिरको बेहाल छ । यहाँका परम्परा र संस्कृति मासिए पनि कसैलाई चिन्ता छैन । तिनको संरक्षण गर्ने हो भने त्यसैले हामीलाई पाल्नेमात्र होइन बलियो चिनारी पनि दिनेछन् भन्ने जिउँदोजाग्दो उदाहरण हो– बाली ।
हामीलाई हाम्रा परम्परा र संस्कृतिबारे बताउनुपर्दा लाज लाग्लाजस्तो गर्ने गरेको देखिन्छ । संस्कृत पढ्नु भनेको त झन ठूलै पाप गरेसरह छ । तर, त्यहाँका रेस्टुराँहरूमा नेपालबाट आएको थाहा पाउने स्थानीयले संस्कृतमा श्लोक लेखिमागेर अनौठैको व्यवहार देखाए । अझ कतिपयले आफूलाई वर्ण व्यवस्थाअनुसार ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रमध्ये कुनमा पर्ने हो खुलेरै बताउने गरेका छन् । यति हो, तिनले आपसमा छुवाछुतको व्यवहार गर्दैनन् । तर, पुरोहितहरूले सफेद लुगा लगाएर तन्मयपूर्वक मन्दिरमा पूजा गरेको देखिन्छ ।
धर्मो रक्षति रक्षितः अर्थात् हामीले धर्मको रक्षा ग¥यौँ भने धर्मले हाम्रो रक्षा गर्छ । बालीबासीले धर्मको रक्षा गरेका कारण अहिले तिनको रक्षा धर्मले गरिरहेको छ । बर्सेनि बालीमा घुम्न आउने पर्यटकको ताँतीले यहाँका मानिसको जीवन सुखमय बनाएको छ । पर्यटक पनि कस्ता आज्ञाकारी छन् भने पाएसम्म त्यही आउन चाहन्छन् ।
बाली घरभन्दा मन्दिर धेरै भएको ठाउँ हो भन्दा अत्युक्ति हुने छैन । त्यतिमात्र होइन घरका प्रत्येक तलामा एउटा सानो मन्दिर अवश्य देखिन्छ । त्यसैले त स्थानीय बासिन्दाहरू कहिलेकाहीँ ठट्टा गर्दै भन्छन्– हाम्रा मन्दिरहरू, कोठा, घर, गाउँ, जिल्ला हुँदै प्रान्त तहसम्मका छन् । अर्थात् मन्दिर र पूजा यिनको जीवनको अभिन्न अंग हो ।
प्रत्येकजसो होटल वा रेस्टुराँमा रामायण, देवी वा कुनै पौराणिक कथामा आधारित नृत्य देखाइन्छ । गामलाङ बाजा बजाउने स्थानीय बासिन्दाहरूको निपूणताले वातावरणलाई नै मनमोहक बनाइदिन्छ । कुनै भद्दा नृत्य नदेखाइकन पनि यी देवी देवताजस्तो देखिने मान्छेहरूले पैसा कमाइरहेका छन् । खासगरी स्कुल–कलेज जाने विद्यार्थीका निम्ति यो राम्रो आम्दानीको स्रोत बनेको छ । स्थानीय बासिन्दाले आफ्ना उत्पादन, संस्कृति र सेवामार्फत् प्रशस्त आम्दानी गर्न सकेका छन् ।
यस्तो परम्परागत हाम्रा नृत्य त कति छन् कति । हाम्रा नृत्य, नाटक र अन्य विधालाई संरक्षित गर्दै जाने र पर्यटकलाई देखाउने परम्परा बसाउने हो भने त्यसले हामीमध्ये धेरैलाई रोजगारी दिनेछ । त्यतिमात्र होइन शान्त र सौम्य सांस्कृतिक बान्कीहरूलाई पर्यटकले आफ्नो मनमा सजाएर जाने अवस्था यसले बनाउँछ ।
बाली भन्ने बित्तिकै मेरो कल्पनामा समुद्रका उत्ताल तरंग, अद्वितीय किसिमको स्थानीय गामलाङ बाजाको धुन र हँसमुख बासिन्दाका अनुहारले हृदयमा लुकामारी गर्छन् । यस्तो चित्तहरण गर्ने ठाउँ थोरै छन् दुनियाँमा । कति ठाउँमा अप्राकृतिक किसिमले तिनलाई बनाइएको छ । तर, सदियौँदेखिका पुराना मन्दिर र संस्कृतिजन्य सम्पदालाई जोगाएर राख्ने हो भने त्यसले हामीलाई संसारमा सहजै चिनाउँछ । वास्तवमा बालीले इन्डोनेसियालाई चिनाइरहेको छ भनेमा फरक पर्दैन ।
प्रायः पर्यटकहरू राजधानी जकार्ता नगई बाली वा यस्तै अन्य पर्यटकीय सहरमा जान्छन् । त्यस अर्थमा बालीले राम्रो कमाइ गरिरहेको बुझ्न सकिन्छ । ४२ लाख जनसंख्या भएको बालीले सन् २०१५ मा झण्डै त्यतिकै संख्यामा विदेशी पर्यटक भित्राएको थियो । यो संख्या आगामी तीन वर्षमा ८० लाख पु¥याउने लक्ष्यका साथ काम भइरहेको देखिन्छ । आन्तरिक पर्यटनको अवस्था पनि राम्रो छ । यसले समग्र मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ ।
बालीले एउटा प्रदेशका रूपमा इन्डानेसियालाई राजस्वमा उल्लेख्य योगदान पु¥याउँछ । त्यसको प्रतिफलस्वरूप बालीले माग गरेअनुसारको १२.७ किलोमिटर लामो समुद्रमाथि पुल बनाइदिएको रहेछ । अघिल्लो पटक देख्न नपाएको गल्फ अफ बेनोआको यो पुल माथिबाट फन्को लगाउँदा मानिसले चाहे के हुने रहेनछ भन्ने मनमा लागिरह्यो । डेनपसार अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको यो पुल २२ करोड अमेरिकी डलर लागतमा बनेको र २०१३ सेप्टेम्बर २३ मा औपचारिकरूपमा खुलेको थियो ।
यसपटक विकास गतिविधिले पनि धेरै फड्को मारेको यहाँ देख्न पाइयो । बालीस्थित डेनपसार अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नासाथ स्थानीय धुनको प्रतीक्षा गरिरहेका थिए अभ्यस्त कानहरू । अचम्म पहिलेको त्यो सानो विमानस्थल भवनको ठाउँमा अर्कै भव्यता थपिएछ । व्यस्त तर सफासुग्घर विमानस्थलको परिवर्तित स्वरूप हेर्न लायकको थियो ।
कोही किन विकास नगरी पर्खेर बस्छ र ? आखिर समयले कसैलाई कुर्दैन ।
पर्यटक आकर्षित गर्न यो मुलुकले के गरेको छैन ? पहिलो पटक बाली जाने बेलामा भिसाकै समस्या थियो। त्यो बेला काठमाडौँबाट म्यानमारस्थित इन्डोनेसियाली दूतावासलाई इमेल पठाएपछि उसले पठाइदिएको जानकारीका आधारमा बैंककस्थित दूतावासबाट भिसा लिनुपर्ने अवस्था थियो ।
भोलिपल्ट बालीका लागि बैंककबाट उड्नु छ, अघिल्लो दिन कार्यालय खुल्नासाथ भिसाका निम्ति आग्रह गर्दा कन्सुलर शाखाका कर्मचारीले निराश पार्ने किसिमको व्यवहार गरेका थिए । ‘भिसा दियौँ भने तिम्रो सुन्दर देश हेरौँला, होइन भने काठमाडौँ फर्कौंला’ भनेपछि तिनको मन पग्लिएको थियो ।
हेर्दाहेर्दै त्यो मुलुकले काठमाडौँमा कन्सुलेट अफिस खोल्यो । अघिल्लो पटक जकार्ता जाने बेलामा काठमाडौँबाटै भिसा लिनुपरेको थियो । अहिले त नेपालीलाई आगमन भिसाकै व्यवस्था गरेको हुनाले त्यो झन्झट पनि रहेन । संसारभरिबाट पर्यटक भित्राउन उसले आफ्नो भिसा नीतिमा परिवर्तन गरेको हो हालै।
पर्यटक धेरै आउँदा कसैको हात पनि खाली हुने देखिँदैन। सबैले केही न केही पेशा र व्यवसाय अपनाउँछन्। आफ्नो जनसंख्याभन्दा बढ्ता पर्यटक आएपछि त्यसले सिर्जना गर्ने कामले सबैलाई खुसी तुल्याउँछ। आखिर मानिस खुसी भएको ठाउँ स्वर्गै हुन्छ।

 

प्रकाशित: १८ असार २०७३ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App