coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मालपोत, नापीका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मंगलबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा कर्मचारीसमेतको मिलेमतोमा मुरलीभञ्ज्याङको कित्ता नम्बर ७७९ को जग्गामा अमरावती सामुदायिक वनको जग्गा घुसाई ठूलो धनराशि खर्च गरी उक्त कित्ताको क्षेत्रफल पाँच दोब्बर बढाएको आरोप लागेको छ।

‘राष्ट्रसेवक कर्मचारी र जग्गाधनीको मिलेमतोमा, पदको दुरूपयोग गरी बदनियतपूर्वक सरकारी स्रेस्ता सच्याएर नक्सा बढाई सार्वजनिक सम्पत्ति हानि–नोक्सानी भएको,’ अख्तियारको आरोप–पत्रमा उल्लेख छ। मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नासुद्वय शम्भुनारायण राजभण्डारी, अनन्तराज सत्याल, नापीका तत्कालीन सर्भेक्षक विश्वकुमार बस्नेत, अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध नौ लाख चार हजार पाँच सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीविरुद्ध दुई आनाको जग्गामा आठ आनाको फाइदा लिएकोमा नौ लाख चार हजार पाँच सय रुपैयाँ माग दाबी गरिएको छ। नापीका सर्भेक्षक विश्वकुमार बस्नेत, जग्गाधनी अशोक अधिकारीको हकमा रसिदबिना तीन लाख ५० हजार रुपैयाँ घुस लिएको माग दाबी लिई आरोप–पत्र दर्ता गरिएको छ।
त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नायव सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतमविरुद्ध ४० हजार रुपैयाँको माग दाबीसहित आरोप–पत्र दर्ता गरिएको छ। सेवाग्राहीको मोही लगत कट्टा गर्ने क्रममा ४० हजार घुस मागेकाले अख्तियारले घुससहित पक्राउ गरी गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रकाशित: २ पुस २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App