८ वैशाख २०८१ शनिबार
समाज

छोरीलाई बैंक खाता कार्यक्रम सुरु

कालिकोटको खाडाचक्र नगरपालिकामा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्बिर : नागरिक

सुर्खेत – कणाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गरेको छ। कालिकोटको खाडाचक्र नगरपालिका–१ की डेढ महिनाकी जमुना सुनार र सोही नगरपालिका २ की साढे तीन महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सो कार्यक्रम उद्घाटन गरेका हुन्।

प्रदेश सरकारले चालू आवको साउनयता जन्मेका छोरीहरूको बैंक खाता खोलेर २० वर्षसम्म रकम जम्मा गर्न सो कार्यक्रम ल्याएको बताएको छ। कार्यक्रममा मुख्यमन्त्री शाहीले छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका साथै छोरी जन्मँदा गर्व गर्ने समाज निर्माणका लागि यस्तो कार्यक्रम ल्याएको बताए। मानव विकास सूचकांकको पुछारमा रहेको कालिकोटबाट अभियानको सुरुआत गरिएको बताउँदै उनले यस कार्यक्रमले कर्णालीमा विद्यमान गरिबीको अन्त्य गर्ने दाबीसमेत गरे।

‘छोरा–छोरीबीच हुने भेदभाव, बालविवाह अन्त्य र छोरीलाई माध्यमिक शिक्षासम्मको अध्ययन ग्यारेन्टीका लागि छोरीको बैंक खाता खोल्ने कार्यक्रम लागू गरेका हौं,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा जन्मेका छोरीहरूको सुरक्षा, शिक्षा, भेदभाव र विद्यमान गरिबीको अन्त्यका लागि कार्यक्रम महŒवपूर्ण हुने अपेक्षा लिएका छौं।’ कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँ सरकारले छोरीको बैंक खातामा जम्मा गरिदिनेछ।

प्रदेश सरकारले एक अभिभावकका बढीमा दुई छोरीसम्मलाई यो कार्यक्रममा समेट्ने योजना बनाएको छ। ‘संरक्षणको आवश्यकता भएकाहरूको हकमा सीमा निर्धारण गरिएको छैन,’ मुख्यमन्त्री शाहीले भने, ‘अरूको हकमा बढीमा दुई छोरीसम्मलाई यो कार्यक्रममा समेट्नेछौं।’ उनले अभिभावकको मृत्यु भएका र आर्थिक कठिनाइले विद्यालय जान नपाएका बाहेकका हकमा छोरी २० वर्ष नपुग्दासम्म खातामा जम्मा भएको पैसा झिक्न नपाइने बताए। ‘खातामा जम्मा भएको रकम भुक्तानीका लागि खातावालले २० वर्ष उमेर पूरा भएको र माध्यमिक शिक्षा पूरा गरेको प्रमाणपत्रसहितको निवेदन सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्छ,’ उनले भने, ‘यसले पनि छोरीमाथिको विभेद हट्ने विश्वास मैले लिएको छु।’

प्रकाशित: २ पुस २०७६ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App