coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार आरोपित छुटाउन दबाब

राजविराज – एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका सप्तरी, शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई ससम्मान रिहा गर्नुपर्ने मागसहित बुधबारदेखि शम्भुनाथ नगरपालिका अनिश्चित कालका लागि ठप्प गरिने भएको छ। नगरपालिकाप्रमुख योगेन्द्र चौधरी, उपप्रमुख कविताकुमारी सरदार र सबै वडाध्यक्षको संयुक्त हस्ताक्षरबाट मंगलबार प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका वडाध्यक्ष साहलाई रिहा नगरिएसम्म बन्द गरिने घोषणा गरिएको हो। विज्ञप्तिमा शम्भुनाथ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका सबै वडाध्यक्षले हस्ताक्षर गरेका छन्।

वडाध्यक्ष साहमाथि पूर्वाग्रही रूपमा प्रहरीले झुठा मुद्दा लगाएको निष्कर्षसहित निःशर्त रिहाइको माग गरेको विज्ञप्तिमा उल्लेख छ। वडाध्यक्ष साहविरुद्ध प्रहरीमा उजुरी गरेकी महिलाले वडाध्यक्षलाई गैरकानुनी कामका लागि दबाब दिएको तथा वडाध्यक्षले सो गैरकानुनी काम गर्न नमानेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गरेको विज्ञप्तिमा आरोप लगाइएको छ। यद्यपि ती महिलाले वडाध्यक्ष साहलाई कस्तो प्रकारको गैरकानुनी काम गर्न दबाब दिएको भनी उल्लेख गरिएको छैन। पीडित भनिएकी महिलाले वडाध्यक्ष साहविरुद्ध उजुरी गरे पनि साहविरुद्ध कुनै ठोस सबुत प्रमाणसमेत नरहेको तथा प्रहरीले पूर्वाग्रही रूपमा जननिर्वाचित प्रतिनिधिमाथि झुठा मुद्दा लगाउने काम गरेको विज्ञप्तिमा आरोप लगाइएको छ।

गत मंसिर २५ गते वडाध्यक्ष साहसहित तीनजनालाई प्रहरीले एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरेको थियो। कुखुरा फार्ममा बोलाएर ती महिलामाथि सामूहिक बलात्कार गर्न खोजेको आरोपमा वडाध्यक्ष साहसहित उनीहरूलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। साह पक्राउ परेको भोलिपल्ट देखि नै साहलाई छुटाउन चरणबद्ध आन्दोलन हुँदै आएको छ। सोमबार मात्रै मुख्य ४ राजनीतिक दलका नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साहको रिहाइको माग गरेका थिए। नेकपाका सुखराम यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, समाजवादी पार्टी नेपालका चितरञ्जन यादव र राजपा नेपाल सप्तरीका संयोजक हरेराम यादवको संयुक्त हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिमाथि झुठा मुद्दा लगाई थुनामा राख्ने कार्यप्रति खेद प्रकट गर्दै साहमाथि रहेको मुद्दा तत्काल फिर्ता गरी उनलाई ससम्मान रिहा गर्नुपर्ने माग गरिएको थियो।

प्रकाशित: २ पुस २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App