coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डेष्टिनेशन लोहाकिल-सुकेपोखरी ( फोटो फिचर )

पाँचथरको लोहाकीलदेखि देखिएको सूर्योदयको दृष्य, लोहाकिलबाट देखिएको हिमाली दृष्य। तस्बिरःगिरिराज/नागरिक

पाँचथर- मंगलबार बिहानै पाँचथरको लोहाकिल डाँडामा बाक्लो उपस्थीति थियो। सबेरै उठेर हिउँ परेको वन क्षेत्र र डाँडाहरु छिचोलेर पुगेकाहरुको प्रतिक्षा सूर्योदयको दृष्यमा थियो। यो स्थानबाट सूर्योदयको अनुपम दृष्य देखिने सुनेकाहरु स्थानीयबासीलाई लिएर त्यहाँ पुगेका थिए। स्थानीयस्तरबाट प्रचार तथा विकास नभए पनि आर्कषक देखिने भनेर गुनासोहरु आहिरहेका बेला एक टोली त्यहाँ पुगेको थियो।

चिसोको प्रभाह नगरी बसेका आन्तरीक पर्यटकले बिहान ६ बजेर ३० मिनेटमा सूर्योदय देख्न पाए। योसँग हिमाल, डाँडाहरु खुल्न थाले। सूर्योदयको साच्चै आकर्षक दृष्य देखेको भन्दै उनीहरु खुसी देखिन्थे। सूर्योदयको दृष्य देखियो। विभिन्न ठाँउमा पुगेर यसअघि यो दृष्य हेरेकाहरुले यहाँबाट तुलनात्मक रुपमा राम्रो दृष्य देखेको अनुभव सुनाए।
‘दार्जिलीङको टाइगरहिल लगायतका विभिन्न ठाँउबाट सूर्योदयको दृष्य हेरेको थिए। तर त्यहाँ भन्दा यहाँबाट राम्रो देखियो।

एकातिर सूर्योदयको दृष्य, अर्को तर्फ हिमाली श्रृखला। यहाँ भन्दा मनमोहक र आनन्ददायी कहाँ हुन्छ र?’ सहभागी नेकपाका नेता हर्क नेम्बाङ मिक्सोले भने ‘यो क्षेत्रमा पूर्वाधारको विकास र प्रचारको आवश्यकता देखियो। सूर्योदयको सुन्दर दृष्य देखिने लोहाकिलसँग अन्य गन्तव्यहरु समेत रहेकाले एकिकृत विकासमा जोड दिनु पर्छ।’

लोहाकिलमा पदमार्ग समेत बनाइएको छ। डाँडामा बसेर सूर्योदय हेर्न आक्कलझुक्कल मानिसहरु आउने गरेको सुकेपोखरीका फौजमान राईले बताए। यहाँ लोहाकिल, सुकेपोखरी, नाकढुंगा, पाटेनागी, महादेवस्थान तथा इलामको कुहिभिर जस्ता गन्तव्य छन्। लेकाली क्षेत्रमा पर्ने यि ठाउँहरुको एकिकृत विकास गर्न सके पर्यटकहरुको आवागमन बढ्ने देखिन्छ। प्राकृतिक रुपमा यो क्षेत्र सुन्दर मानिन्छ।

यो क्षेत्रको पर्यटन विकासका लागि चर्चा चलेको धेरै भएपनि ठोस काम हुन सकेको छैन। मेची राजमार्गको नजिक पर्ने यि ठाउँहरुको एकिकृत रुपमा पर्यटन विकास गर्न सके आन्तरीक र वाह्य पर्यटक पर्याप्त आउने सम्भावना भएपनि पर्याप्त पर्यटन विकासको काम हुन नसकेको स्थानीय सुरेश राई बताउँछन्। नयाँ वर्ष, चाडपर्वको अवसर तथा वनभोजका लागि आन्तरीक पर्यटकहरु यो क्षेत्रमा पुग्ने गरेपनि पर्याप्त पूर्वाधारसहितको विकास र प्रचार हुन सकेको छैन।

हिउँदको सिजनमा यो क्षेत्रमा हिँउ पर्दा खेल्नेको भिड लाग्छ। गुराँसको सिजनमा विभिन्न प्रजातीका गुरासको ठूलो वन क्षेत्र छ। कञ्चजंगा, कुम्भकर्ण, सगरमाथा, मकालु लगायतका हिमश्रृखला देखिन्छ। लोहाकिल सूर्योदयको महत्पूर्ण ठाउँ हो। नागढुंगा र महादेव गुफा धार्मिक रुपमा महत्पूर्ण स्थान हुन्। दुई दिनसम्म लेकाली आनन्द लिदै रमाउन सकिने भएकाले यो क्षेत्रको विकास गर्नुपर्ने स्थानीयको माग रहेको छ।

मेची राजमार्गदेखि नजिक भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ। सुकेपोखरीसम्म सडक स्तरोन्नती, सकेतबोर्ड, होमस्टेको विकास, भ्यू पोईन्ट, शौचालय जस्ता निर्माणका काम आवश्यक छ। स्काईब्रेटर नकुदेका पहाडका डाँडाहरु निक्कै आकर्षक र लोभ लाग्दा छन्। भ्रमण वर्ष चलिरहदा यस तर्फ ध्यान दिनु आवश्यक रहेको चर्चा हुने गरेको छ।


 

 

प्रकाशित: १ पुस २०७६ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App