खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ वर्ष लगाएर निर्माण गरिएको बहुउद्देश्यीय कबर्ड हल उद्घाटन गरिएको छ। विभिन्न खेलकुद सम्बन्धी गतिविधि सञ्चालनका लागि दिक्तेलको माटिकोरेमा निर्माण गरिएको ८१ फिट लम्वाई, ५७ फिट चौडाई र ३५ फिट उचाई भएको प्याराफिटसहितको कबर्ड हल मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका हुन्।
भलिबल, व्याडमिन्टन, सितोरियो कराते, बास्केट बल, टेबल टेनिस लगायतका खेल सञ्चालनका लागि आवश्यक स्थान व्यवस्थापनका लागि तत्कालिन डिएसपी (हाल एसपी) टेकबहादुर तामाङको पहलमा २०६७ सालदेखि निर्माण सुरु गरिएको कर्डहलले यस वर्ष पूर्णता पाएको हो। तत्कालिन जिल्ला बिकास समितिमार्फत एसबिएलएल कार्यक्रमबाट प्राप्त १० लाख, चन्दा संकलन तथा श्रमदानबाट निर्माण सुरु गरिएको कबर्ड हलको बाँकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड ८ लाख अनुदानमा पुरा गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताए। एसबिएलएल, चन्दा संकलन तथा श्रमदानबाट तत्कालिन समयमा करिब ४५ लाख बराबरको काम भएपछि आर्थिक अभावमा कबर्ड हलको काम अलपत्र परेको थियो।
सुरक्षाकर्मी, खेलाडी लगायतको श्रमदानबाट निर्माण सुरु गरिएको कबर्ड हल ७ वर्षसम्म अलपत्र परेपछि २०७४ साल बैसाखमा भएको जिल्ला खेलकुद बिकास समिति, निर्माण उपभोक्ता समिति, खेलकुद सम्बद्ध संघसंगठन र खेलाडीको भेलाले आवश्यक रकम जुटाएर बाँकी काम पूरा गर्ने निर्णय गरे अनुशार कबर्ड हलको कामले पुःन निरन्तरता पाएको थियो। एसबीएलएलबाट प्राप्त हुने भनिएको ३० लाख मध्ये २० लाख रकम प्राप्त नहुँदा कबर्ड हल निर्माणको काम लामो समयसम्म अलपत्र परेको थियो।
तयार भएको बन्द कबर्ड हललाई खेलकुदका राष्ट्रिय प्रतियोगीतादेखि सभा, सम्मेलन, गोष्ठी गर्नमा पनि प्रयोग गर्न सकिने जनाइएको छ। उद्घाटन लगत्तै कबर्ड हलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु गरिएको छ।
प्रकाशित: १ पुस २०७६ १४:१४ मंगलबार