८ वैशाख २०८१ शनिबार
समाज

वृद्धले अझै पाएनन् भत्ता, वडा अध्यक्षलाई नै छैन सार्वजनिक सुनुवाईको खबर

गुनासो सुनाउदै मर्चवारवासी

भैरहवा- रुपन्देहीको विकट क्षेत्र मानिने मर्चवार क्षेत्रका वासिन्दाले गुनासै गुनासो गरेका छन्। विकट क्षेत्रको रुपमा रहेको मर्चवारी गाउँपालिकाका स्थानीयदेखि वडा अध्यक्षलेसमेत सार्वजनिक सुनुवाईमा गुनासो गरेका छन्।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा गाउँपालिकाका जिम्मेवार पदाधिकारीले नै गुनासै गुनासो गरेका हुन्। वडा नम्बर १ का वडा अध्यक्ष मुकेश यादवले सार्वजनिक सुनुवाई जस्तो गम्भिर विषयमा कार्यक्रम सुरु भएको भन्दै आधा घण्टा अघि मात्र जानकारी आएको गुनासो गरे।

यस्तै अन्य वडाको तुलनामा वडा नम्बर १ ठूलो रहे पनि समानुपातिक रुपमा बजेट नपाएको, गाउँपालिकाले वडासँग समन्वय नै नगरि वडामा सम्पन्न भएको योजनाहरुको भुक्तानी गरेको लगायतका गुनासा राख्दै सबैलाई समेटेर अगाडी बढ्न उनले गाउँपालिकालाई आग्रह गरेका थिए।

त्यस्तै मर्चवारी वडा नम्बर ५ का वडा अध्यक्ष सुनिलकुमार कलवारले जेष्ठ नागरिकको भरण पोषणको आधार रहेको सामाजिक सुरक्षा भत्ता मर्चवारी गाउँपालिकाले अझैसम्म वितरण नगरेको भन्दै गुनासो गरे। ‘दुई महिना बितिसक्दा पनि सामाजिक सुरक्षा बितरण भएको छैन, यसै बिचमा कतिपयको मृत्यु भएको, कतिपय ब्यग्र रुपमा पर्खाइमा छन्।’ कलवारले भने। मासिक रुपमा पाउनु पर्ने भत्ता प्रत्येक चौमासिक रुपमा पाउदै आएका उनिहरु मंसिर महिना सकिनै लाग्दा पनि यस आर्थिक वर्षको भत्ता पाएका छैनन्।

यस्तै कार्यक्रममा सहभागी स्थानीय शशिदयाल चौधरी, वासुदेव यादवलगायतले गाउँपालिकाले विद्यालयमा प्रयाप्त बजेट दिन नसकेको, मागेको सूचना नपाईएको लगायतको गुनासो गरे।

रुपन्देहीका प्राय स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरण हुँदै आए पनि मर्चवारको गाउँपालिकामा अझै पनि हातहातै बितरण हुने गरेको छ। अहिले बैँकिङ्ग प्रणालीमा लैजान खोजेको कारण भत्ता बितरणमा केही बिलम्ब भएको गाउँपालिकाको भनाइ छ। यस विषयमा गाउँपालिका अध्यक्ष केशबनन्द बनियाले केही प्राविधिक कुराहरु नमिलेको कारण अहिले भत्ता बितरण गर्न नसकिएको स्विकार गर्दै यसलाई चाडै बितरण गरिने आश्वसन दिए।

मर्चवारी गाउँपालिकामा चालु आर्थिक वर्षमा चालु तर्फ २७ प्रतिशत खर्च भएको छ भने पुँजिगत तर्फ मात्र १ प्रतिशत खर्च हुन सकेको छ। आर्थिक वर्षको ५ महिना सकिनै लाग्दा पुँजिगत कामले गति लिन नसकेको बताउदै प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खातीले अबको दिनमा बिभिन्न योजनालाई तिब्रता दिनेमा जोड दिए।

 

प्रकाशित: १ पुस २०७६ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App