७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

परवेज मुशर्रफ : सैनिक शासकदेखि मुत्युदण्डको फैसलासम्म

काठमाडौं- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

बीबीसीका अनुसार उच्च अदालतका प्रधानन्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

केही दिन पहिले मुशर्रफले एक भिडियोमा आफ्नो खराव स्वास्थ्यबारे बताउँदै जाँच आयोगलाई आफ्नो अगाडि आउन र अहिलेको हालत हेर्न भनेका थिए।

संविधानको अवहेलना र गम्भिर देशद्रोहको विषयमा उनले भनेका छन्, 'यो आरोप मेरो विचारमा पुरै निराधार छ। देशद्रोहको कुरा छोड्नुस्। यो देशको लागि मैले धेरै सेवा गरेको छु। युद्ध पनि लडे र १० वर्षसम्म देशको सेवा गरे।' उनले भिडियोमा भनेक छन्, 'मेरा वकिल सलमान सफदरको न्यायलयले सुनेको छैन। मेरो विचारमा यो ज्यादती हो र मलाई न्याय मिल्ने छैन।'

के थियो मुद्दा

इस्लामावादको विशेष न्यायलयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मामलामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो।

पाकिस्तानको इतिहासमा उनी यस्तो पहिलो व्यक्ति हुन् जसको विरुद्धमा संविधानको अवहेलनाको मुद्दा चल्यो।

सन् २०१३ को चुनाव पछि पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आयो। उक्त पार्टीले सत्ता सम्हालेपछि पूर्व सैनिक राष्ट्रपति परवेज मशर्रफको विरुद्ध संविधानको अवहेलनाको मुद्दा दायर गरिएको थियो।

मुशर्रफको विरुद्ध गम्भिर देशद्रोहको सुनुवाई गर्ने विशेष न्यायालयका चार प्रमुख परिवर्तन भइसकेका छन्। मुशर्रफ एक पटक मात्र विशेष न्यायालय समक्ष प्रस्तुत भएका थिए। त्यस पछि उनी कहिल्यै अदालतमा पेश भएनन्।

यसबीच मार्च २०१६ मा उनी स्वास्थ्यको कारण देखाउँदै विदेश गए। तत्कालिन सत्ताधारी पार्टी मुस्लिम लीग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो। त्यसपछि उनलाई देश छोडेर बाहिर जाने अनुमति मिलेको थियो।

यसरी पुगेका थिए सत्तामा

जनरल परवेज मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए।

२००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफुलाई राष्ट्रपति घोषणा गरे। २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुशर्रफ पाँच वर्षको लागि राष्ट्रपति बने।

२००७ को अक्टोबर-नोभेम्वरमा मुशर्रफले पुन: राष्ट्रपतिको चुनाव जिते। तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।

२००८ अगष्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरुद्ध महाअभियोग लैजाने निर्णय गरेपछि राजीनामा दिएका थिए।

 

 

प्रकाशित: १ पुस २०७६ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App