८ वैशाख २०८१ शनिबार
अन्य

बुढ्यौलीको बोझ

२०७२ सालको हिँउद। चिसो निकै बढेको छ। बिहानै म बाटोको धारामा पानी थापिरहेको छु । अलि माथिबाट लौरो टेकेर ख्वाङ्ख्वाङ् खोक्दै नरबहादुर श्रेष्ठ तलतिर झरेको देख्छु। उनका पाइला बल्लतल्ल सरेका छन् । अनुहार चिसोले फुलेको छ । उनी मेरोनजिक आएपछि सोध्छु, ‘बा, बिहानै तपाईं टाढै ?’ सासैले भन्छन्, ‘हस्पताल हिँडेको बाबु !’ यत्ति भन्न पनि उनलाई निकै गाह्रो भएको छ । ‘हस्पताल’ सायद ‘अस्पताल’ र ‘हस्पिटल’ शब्दको वर्णशंकर रूप होला । गाउँघरमा अचेल ‘हस्पताल’ शब्द खुबै चलेको छ । नरबहादुरले पनि चलेको त्यही शब्द भने । यो शब्दले नेपाली शब्दकोशको नयाँ संस्करणहरूमा प्रवेश पाएको छ÷छैन, थाहा छैन । तर, गाउँघरको जनजिब्रो र प्रचलनमा आइसक्यो ।
    मेरो उद्देश्य शब्दमा बहस गर्ने होइन । पुनः म सोध्छु उनलाई, ‘साथी को छ त ? बूढो मान्छे, अप्ठेरो बाटो छ । कसरी पुग्नुहुन्छ हस्पताल ?’ मेरो प्रश्नलाई लिएर उनी व्यंग्य गर्छन्, ‘साथी त जन्मँदै काटेर गाडे। को हुनु साथी ? भगवान् छन् नि !’ ‘साथी’ भनेर सालनाललाई संकेत गरेका हुन् पक्कै बूढाले । अशक्तको एकमात्र सहारा उही कथित भगवान् रहेछन् । उनले पनि कतै नदेखिएका भगवान् पुकारे । भगवान् कहाँ छन् ? के गर्छन् ? न मलाई थाह छ, न उनलाई नै ! वास्तवमा कसैलाई पनि थाहा छैन, भगवान् कहाँ के गर्दैछन् । मानिस मन्दिर गएर भगवान्को पूजा गर्छ । घरको पूजाकोठामा फोटो सजाउँछ । तर, बेइमान भगवान् कहिल्यै मानिसको मर्का बुझ्न आउँदैनन् । बुढ्यौली सहज बनाउन त्यो भगवान् भनाउँदो किन समीप आउँदैन हँ ? भगवान् बूढो नै हुँदैन रे नि त ! ‘भगवान् बूढो भएर मरे रे ! भनेर कुनै धर्मकथामा मैले पढे÷सुनेकै छैन । भगवान्लाई त रोग पनि लाग्दैन रे !
    कुप्रो परेका नरबहादुर लौराको सहारामा तलतिर झरे । लौरो पनि भनेको ठाउँमा पु¥याउने तागत उनमा थिएन । म उनलाई हेरिरहेँ । छिट्टै कालले निम्तो नपठाए मैले पनि यस्तै बुढ्यौलीमा पुग्नैपर्छ, समयको नियति न हो सबैमाथि त्यो आइपर्छ नै । बुढ्यौलीको गह्रुँगो बोझ नउचाली सुख्खै छैन कसैलाई । उनलाई हेर्दै मन तम्तम्याइलो भइरहन्छ । नरबहादुर लौराको सहाराले ओरालोमा बस्दै–उठ्दै तल झर्छन् । उनी मेरा आँखाबाट ओझल पर्छन् । म आफ्नो काममा लाग्छु । ओरालोमा बूढालाई जे पनि हुन सक्छ भन्ने चिन्ता पनि छ मभित्र ।
    नरबहादुर ८५ पुगिसके । उनकी श्रीमती ८० मा हिँड्दैछिन् । छोरा–बुहारीसँग नबसी छुट्टै छन् उनीहरू । सकीनसकी आपैm पकाउँछन्, खान्छन् । दुई–चारवटा बाख्रा पनि पालेका छन् । तिनै बाख्रालाई डालेघाँस झार्न रूख चढेका नरबहादुर सोभैm भुइँमा बजारिएछन् । बूढो शरीरका हड्डीमा कहाँ के भयो, निकै दिन थलिए उनी । ठीक नभएपछि उनको छोराले प्रहरी अस्पताल लगे जँचाउन । त्यहाँ महिना दिन बस्दा पनि ठीक भएन । उनलाई पट्टाई पनि लागेछ । एकदिन डाक्टरलाई भनेछन्, ‘तिम्रो ओखति तिमी नै खाऊ ।’ त्यसपछि एकदिन उनी घर फर्केछन् ।
    भूकम्पपछि पनि नरबहादुरले भग्न घर छाडेका छैनन् । घरमै भेट्न जाँदा उनले भनेथे, ‘किचे यै घरले किचोस् । मैले बनाएको घर । यै घरले किचेर मर्न लेखेको रैछ भने मरौँला । अब कता जानु ?’
    नरबहादुरका ५ भाइ छोरामध्ये ३ जना गाउँमै छन् । उनीहरू छुट्टै छन् । आफ्नै काममा व्यस्त हुन्छन् । भ्याउँदा बा–आमाको घरतिर आएर सञ्चोबिसञ्चो त सोध्छन्, काम पनि गरिदिन्छन् । तर, सधैँ हेरविचार गर्न भ्याउँदैनन् । डाँडामाथिको उमेरमा पनि उनलाई घाँस झार्न रूख चढ्नुपर्ने बाध्यता छ । सकीनसकी खेती पनि गर्नुपर्ने । नरबहादुरमात्रै कहाँ हुन् र ! गाउँघरतिर हिँड्दा देख्छु– न रोग भन्न पाएका छन् । न बुढ्यौली । आँखामा बादल लागेर नदेख्दा पनि काम गर्नुपरेको छ । नगरी सुख्खै छैन । बूढी आमाहरू मैलो फरिया लतार्दै काममा हिँडेको देख्छु । अब गाह्रो छ है बूढाबूढीलाई । तिनले कसरी काल पर्खेलान् ! आफ्नै बुढ्यौली कल्पेर मन भारी हुन्छ । एउटा उखान छ नि ! ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि ।’
    
   उता, सर्भेयर सुनील यादव घरको फोटो खिच्दैछन् । म पद्मबहादुरको परिवारको विवरण लिँदैछु । पदमबहादुर घरमाथि करेसामा लम्पसार परेका रहेछन् । ‘हँ हँ’ गरेको सुन्छु । पेट मिचीमिची गुन्द्रीमा लडीबुडी गर्दैछन् । शूलको व्यथा हो रे । कहिले मर्ने कहिले बौरिने हुन्छ रे यसमा ! आँखा कमजोर भएका रहेछन् । एकदमै ढिलो ठम्याउने । कानले एकतिहाइ पनि नसुन्ने । भूकम्पको पुरानो राहत कार्डमा घरमूलीको नाम पद्मबहादुरको नै रहेछ । मैले पद्मबहादुरलाई सोधेँ, ‘बा, तपाईंको परिवारमा कति जना, कोको हुनुहुन्छ ? सबै नाम भन्न सक्नुहुन्छ ?’ उनले सासैले भने, ‘खै, बाबु ! निकै जना छौँ । मलाई सबैको नाम आउँदैन ।’
    उनकी बूढी कुप्रिँदै त्यहीँ आइपुगिन् । उनीतिर फर्केर मैले सोधेँ, ‘आमा, तपाईंलाई सबैको नाम आउँछ त ?’ उनले भनिन्, ‘म पनि सबैको नाम पु¥याउन सक्दैन होला । पख् बाबु, म पल्ला घरकी कान्छीलाई बोलाएर ल्याउँछु ।’ मैले भनेँ, ‘एकछिन् पर्खनुस् आमा । तपाईंहरूलाई आएजतिको नाम लेखौँ अनि नआएको अरूलाई सोधौँला ।’    
    केन्द्रीय तथ्यांक विभागले दिएको भूकम्पपीडित परिचय निस्सामा पद्मबहादुर तामाङको नाम थर, जिल्ला, गाविस, वडा नं., टोल, घरधनी क्रमसंख्या, घर क्रमसंख्या, परिवार क्रमसंख्या लेखिसकेपछि सोधेँ, ‘बा, तपाईंसँग मोबाइल छ ?’ उनले अँध्यारो मुख पारेर भने, ‘कहाँ हुनु बाबु ? हामीलाई कसले दिन्छ र ? दिए पनि कसरी चलाउनु ? जान्दिनँ म त ।’ मोबाइल नम्बर लेख्नुपर्ने ठाउँ मैले खाली राखेँ ।
    काम छिटो गर्न र सर्भेयरलाई सजिलोका लागि म परिवारका सदस्यहरूको विवरण कापीमै टिपिदिन्थेँ । पछि उनी ट्याब्लेटमा लेख्थे । मैले सोधिटोपलेँ, ‘बा, तपार्इंलाई सही गर्न आउँछ ?’ उनले ‘अँ हँ’ को मुन्टो हल्लाए । फेरि भनेँ, ‘हात यता दिनुस् त ।’ उनी पेट मिच्दै उठ्न खोजे । मैले फेरि भनेँ, ‘पर्दैन बा तपाईं उठ्नु । सुतेरै पनि मिल्छ ।’ मैले उनका दुवै हातका बूढीऔँलाको ल्याप्चे लगाइदिएँ ।
    पद्मबहादुरका दुवै जनाको ज्येष्ठ नागरिक भत्ता आउँदो रहेछ । त्यही भत्ताबाटै उनीहरूको जीवन चलेको रहेछ । मैले सोधेँ, ‘बा, सरकारले भूकम्पपीडितलाई दिएको १५ र १० हजार पाउनुभयो ?’ उनले भने, ‘पाएँ बाबु पाएँ ।’ सोधेँ, ‘के गर्नु भयो त त्यो पैसा ?’
    मेरो प्रश्नले उनलाई तिर नै हानेछ । कचेराले भरिएका आँखामा अनायास आँसु देखियो । भने, ‘मैले दिन मानिनँ । बुहारीले खोसेर लगी । मलाई लछारपटार पारी लडाइदिएर लगी बाबु । भत्तामा पनि आँखा गाड्छे । ‘बूढाबूढीलाई के गर्नु पैसा’ भन्छे । हाम्रो कोही छैन बाबु सहारा । भत्ता नआए त हामी मरिसक्थ्यौँ होला ।’
     बूढाका कुरा सुनेर मलाई आपैm ढलुँला जस्तो भयो । छातिभित्र कताकता गहिरोगरी तीखो केही वस्तुले घोचेजस्तो भयो । ओ हो ! यो समाजको गति ! साँच्चै कता जाँदैछ हाम्रो समाज ? कर्तव्य, नैतिकता, इमानदारी भन्ने चिज अब कतै बाँकी छैन ? मेरा पनि बुढ्यौलीका दिन सुरु भए । ‘लौ गाह्रो छ है समय कटाउन’ यस्तै सोच बलियोगरी मनमा आए ।  
    बुढ्यौलीको बोझ उचाली नसक्नु हुँदोरहेछ । म पनि एकछिन आफ्नै बुढ्यौलीको कल्पना गर्छु । रोगले ग्रस्त, मैला लुगा, चाउरिएको अनुहार ! सबैको बोझ । धत्तेरी जिन्दगी ! परिवार, श्रीमती, आफन्त सबै भ्रमजस्तो लाग्ने । केके न गरेँ भन्यो, जस्ताको तस्तै । कहाँकहाँ पुगेँ भन्यो, उही आहालको भ्यागुतो ! म सोच्छु, दीर्घरोगी बूढा पदमबहादुर र उनकी श्रीमतीले कति दिन काल पर्खेर बस्नु ! बल गरेर पनि नहुने । म पनि त भोलिको पद्मबहादुर हुँ । मेरो मन चिरिएर आयो । त्यही चिराभित्र आफ्नो अनुहार पद्मबहादुरहरूको जस्तो पाउँछु । कुप्रो शरीर, सेतो कपाल, फोहोर कपडा ! कुकुर भुकेजस्तो खोकाइको आवाज । मेरा पनि पद्मबहादुर हुने दिन टाढा छैनन् । नरबहादुर हुने दिन नजिकिँदै छन् ।           
              त्यस्तै उमेरकी अर्की वृद्धा स्याँस्याँ गर्दै त्यहीँ आइन् । मेरो मन कताकता पुगेको थियो । फर्कियो । मैले बूढालाई सोधेँ, ‘वहाँ आमाचैँ को नि ?’ पद्मबहादुरले भने, ‘ऊ पनि मेरै बूढी हो बाबु ।’ लौ, एउटै उमेरका ३ बूढाबूढीमात्र एउटै परिवारमा ! सोधेँ, ‘आमाको पनि वृद्धभत्ता आउँछ ?’ उनले भनिन्, ‘आउँछ नि ! यी हेर्नुस् न पट्टा ।’ उनले ज्येष्ठ नागरिक भत्ताको परिचयपत्र मेरोसामु थपक्क राखिदिइन् । बूढाको घरमा त महिनाको ३ हजार पो आउँदो रहेछ ।
    जेठ १५ गते । मुलुकको नयाँ बजेट आयो । बजेटको पक्ष–विपक्षमा लेख्नु वा बोल्नु मेरो सरोकारबाहिरको कुरा भयो । तर, यतिचाहिँ सोच्ने मेरो अधिकार छ– आफ्नो भत्ता दोब्बर भएको सुन्दा नरबहादुर र पद्मबहादुरहरू कति खुसी भए होलान् । उनीहरूजस्तै वृद्धवृद्धालाई सम्झिएँ निकैबेर । अब यो साउनबाट त पद्मबहादुरको परिवारमा ६ हजार पो आउँछ ! दुष्ट बुहारीहरूले आँखा नगाडून् ।
    भूकम्प लगत संकलनमा देखेको बूढाबूढीको अवस्था नेपाली समाजको प्रतिनिधि दृश्य हो । बूढाबूढीका लागि अबका दिन अवश्य पनि सहज छैनन् । २५ प्रतिशत घरमा बूढाबूढी मात्रै छन् । २५ प्रतिशत बूढाबूढी छुट्टै बसेका छन् । तराईतिर यो अवस्था छैन रे । एकदिन इन्जिनियर सुनीलले भने, ‘सर, पहाडमा मलाई एउटै कुरामा दुःख लाग्यो । यसरी बा–आमालाई एक्लै राख्न नहुने । हाम्रोतिर त बा–आमालाई यसो ग¥यो भने ठूलो पाप लाग्छ भन्छन् ।’ मैले उनलाई थप केही भन्न सकिनँ ।

 

प्रकाशित: १८ असार २०७३ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App