७ वैशाख २०८१ शुक्रबार
अन्य

बालबालिकामा बढ्दो डिप्रेसन

दिपेश मुर्ती पन्त
उपप्राध्यापक

ब्रेकरः मानव स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव भनेको दम, मुटुरोग, क्यान्सर, आँखाका रोगहरुको तीव्र वृद्धि त छँदै छ डिप्रेसन, एञ्जाइटी, स्लिपिङ डिसर्डर, रिसजस्ता मानसिक समस्या पनि निम्त्याएको छ ।

हामी हाम्रा पुर्खाले यसो गरे उसो गरे भनेर बखान गर्छाैँ । उनीहरुप्रति सम्मान दर्शाउँछौँ । कृतज्ञता प्रकट गर्छाैँ । संसार छाडेर गइसकेका हाम्रा पुस्ताप्रति किन कृतज्ञ हुन्छौँ त ? उनीहरुको सम्झनामा हामी किन भावविभोर बन्छौँ ? के हामी भावनामा मात्रै बगेर सम्झेका हौँ त ? पक्कै पनि हैन, सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा पुर्खाहरुले पुर्‍याएको योगदानका कारण हामीले सम्झेका हौँ । के अहिलेको पुस्ताले हामीलाई त्यसैगरी सम्झेला ?
विश्वस्तरमा चर्चामा रहेकी १६ वर्षीया स्विडिस किशोरी ग्रेटा थन्बर्गको कुरा सुन्यौँ भने हामी झस्कन्छौँ । उनका वक्तव्यमा निराशा र हाम्रो पुस्ताप्रति चरम घृणालाई स्पष्ट रुपमा महसुस गर्न सकिन्छ । उनको त्यो घृणा र आक्रोश जायज पनि छ । हाम्रा लोभ लालच, राजनीतिक र धार्मिक कारणहरुले वातावरणप्रतिको उदासीनता, मुख्र्याइँहरु नै पृथ्वीको वातावरण विनाश अर्थात् जलवायु परिवर्तनको प्रमुख कारक तत्व हुन् ।

ग्रेटाको प्रस्तुति स्पष्ट छ । उनी भन्छिन्, ‘मलाई सुन्नु पर्दैन । तपाईंहरुले बस्, वैज्ञानिकहरुद्वारा गरिएका अनुसन्धान र प्रस्तुतिका तथ्यहरुलाई हेरिदिनुस् । त्यति गर्नु भयो भने जलवायु परिवर्तनको अवस्था, दर, कारक तत्वहरु र प्रभावको बारेमा तपाईं आफैँ स्पष्ट हुनुहुनेछ ।’ उनी आफैँले पनि आफ्ना परिवारका सदस्यहरुलाई जलवायु परिवर्तन, कार्बन डाइअक्साइडको उत्सर्जनलाई न्यूनीकरण गर्न बदल्नुपर्ने जीवनशैलीलाई बुझाउन सफल भइन् ।
उनी मात्र हैन अहिले युरोपदेखि अमेरिका अस्ट्रेलियाका विद्यालयका बालबालिका तथा किशोरकिशोरीहरु स्वस्फुर्त रुपमा जलवायु परिवर्तनसम्बन्धी आन्दोलनमा सामेल छन् । यसले स्पष्टरुपमा भावी पुस्ताको हामीप्रति हेर्ने दृष्टिकोण कस्तो हुनेछ भन्ने इङ्गित गरिसकेको छ । स्विडेनकी १६ वर्षीया ग्रेटा थन्बर्ग र अस्ट्रेलियाकी १४ वर्षीय मिलोउ अर्बर्टजस्ता बालिकाहरुले भोलि उनीहरुको व्यवहार हामीप्रति कस्तो हुनेछ भन्ने कुराको जनाउ दिइसकेका छन् । फेरि त्यो उनीहरुको बाध्यता पनि हुनेछ ।

यसरी प्रदर्शनको क्रममा, छलफल र अहिलेको सामाजिक सञ्जालले उनीहरुलाई निकट ल्याइदिँदा उनीहरुले विश्वव्यापी रुपमा आफ्ना कुरालाई आदान–प्रदान गर्न सफल भएका छन् । अहिले हामीले जतिसुकै हाम्रा मुख्र्याइँ या अन्धविश्वास उनीहरुको मनमा भर्ने कोसिस गरे पनि त्यो प्रभावकारी तत्काल नै हुँदैन । उनीहरुले भविष्यमा भोग्नुपर्ने अवस्थाले उनीहरुले बाध्यकारी रुपमा त्यो खतरनाक प्रतिकूल अवस्थालाई महसुस गर्ने छन् र यसको कारक तत्व अरु कोही नभएर हामी नै हौँ भन्ने कुरामा उनीहरु स्पष्ट नै छन् ।

एकैछिन कल्पना गरौँ त, हाम्रा आफ्नै भावी पुस्ता तपाईंका उपलब्धि चाहे त्यो आर्थिक होस् या साहित्यिक होस् या संरचनागत होस् या वैज्ञानिक नै, कुनै पनि उपलब्धिका लागि उनीहरुले गर्व गर्ने छैनन्, उनीहरुले हामीलाई घृणा मात्र गर्नेछन् भने त्यस्तो अवस्थामा तपाईंलाई कस्तो महसुस हुन्छ । पक्कै पनि जो कोहीलाई पीडादायक नै हुनेछ ।
संसारभर जलवायु परिवर्तनको कुरा जोडतोडले उठिरहेको छ । जलवायुसम्बन्धी हामीलाई ज्ञान होस् या नहोस्, जलवायु परिवर्तनको असर सबैले महसुस गर्न सक्ने गरी फैलिएको छ । विकसित मुलुक, अविकसित मुलुक धनी वा गरिब कोही पनि जलवायु परिवर्तनले पार्ने असरबाट मुक्त छैनन् ।

मानव स्वास्थ्यमा यसको प्रत्यक्ष प्रभाव भनेको दम, मुटुरोग, क्यान्सर, आँखाका रोगहरुको  तीव्र वृद्धि त छँदै छ, हालसालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनहरुले जलवायु परिवर्तनका कारण बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्ने देखाएको छ ।  
सन् २०१९ मा करेन्ट साइकेट्री रिपोर्टमा प्रकाशित प्रतिवेदनले अहिले बालबालिका र किशोरकिशोरीहरुमा देखिएका विभिन्न मनोवैज्ञानिक समस्यालाई उजागर गरेको छ ।

जलवायु परिवर्तनले मानव जीवनलाई धेरै प्रभावित गरेको छ । यसका प्रत्यक्ष असरहरुमा बढ्दो समुद्रस्तर जसले सामुद्रिक किनारका मानव बस्तीहरु जोखिममा छन् । त्यस्तै हिमालयजस्ता पर्वत शृंखलाहरुमा हिमनदी पग्लने दर झन् तीव्र छ ।  जसले त्यहाँ रहेका हिमतालहरु फुट्ने खतरा बढेको छ । यसले पनि हिमालयन सुनामीलाई आमन्त्रण गरिरहेछ, जस कारण मानव बस्ती र सभ्यतालाई झनै जोखिममा पारेको छ ।
विभिन्न किसिमका शारीरिक रोग, वृक्षरेखाको उँभो सराइ, पार्थनियम वनमारा जस्ता मिचाहा वनस्पतिका कारणले भएको अन्य मौलिक वनस्पतिको विनाश जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावहरु हुन् । प्रतिवेदनका अनुसार बालबालिका र किशोरकिशोरीहरुमा बढ्दै गएका डिप्रेसन, एङ्जाइटी, स्लिपिङ डिसर्डर, रिस आदि मानसिक समस्या पनि निम्त्याएको जनाएको छ ।

मनोचिकित्सक तथा जलवायु परिवर्तन र मानसिक स्वास्थ्य विशेषज्ञ लाइज भन सस्ट्रिनले अमेरिकी युवाले सरकारको विरुद्ध गरेको अदालती उजुरीको सुनुवाइको क्रममा ‘बालक र किशोर मस्तिष्क विकासशील अवस्थामै हुने भएकाले त्यसको विकासक्रममा जलवायु परिवर्तनको गम्भीर प्रभाव पर्दछ जसले वातावरणीय तनावले मस्तिष्कको विकासक्रम या मस्तिष्क स्वयम्लाई नै असुरक्षित बनाउँछ’ भनी बताएका थिए । मनोवैज्ञानिकका अनुसार पृथ्वीको वातावरणमा आएको परिवर्तनले गर्दा सामान्य जनजीवन निकै गम्भीर ढंगले अस्तव्यस्त बनाइरहेको छ ।
केही समयअघि टाउन अफ पाराडाइज कालिफमा भएको भीषण डढेलोले धेरै बालबालिकाले आफ्नो घर स्कुलहरु गुमाए । उनीहरुले आफ्नो जन्मस्थान छोडेर एक्कासि अन्त बसाइसराइ गर्नु पर्‍यो । जसका कारण उनीहरुले एकदमै छोटो समयमा नयाँ स्थान नयाँ सम्बन्धहरु र परिस्थितिहरुको सामना गर्नु पर्‍यो । यसले उनीहरुमा डिप्रेसन एञ्जाइटीजस्ता समस्या देखिए ।

यस्तो खाले तीव्र परिवर्तनलाई चाहे वयस्क होस् या बाल या किशोर मस्तिष्कले सजिलै ग्रहण गर्न सक्दैन । हाम्रो जस्तो देशमा पनि पानीको समस्या, भूक्षय, मरुभूमीकरण, डढेलो, जङ्गली जनावरजस्तो बाँदरको अत्यधिक प्रभावजस्ता समस्याले मानिसहरु आफ्ना स्थानहरु छोड्न बाध्य भएका कुरा सर्वविदितै छ ।
जलवायु परिवर्तनले कुनै पनि शारीरिक प्रभावबिना पनि मानसिक या मनोवैज्ञानिक प्रभाव पार्ने कुरा झन् गम्भीर रहेको छ । अहिलेको अवस्थामा बालबालिका तथा किशोरकिशोरीहरु जति शिक्षित हुँदै जान्छन् या बिग्रँदो वातावरणीय अवस्थाबारे जानकार हुँदै जान्छन्, उनीहरु उति निराश र हतास देखिने अवस्था आउँछ ।
अहिलेका बाबुआमाहरु जसले बिग्रँदो वातावरणप्रति उदासिनता देखाइरहेका छन् । चाहे ती राजनीतिक कारणले हो या धार्मिक कारणले होस्  । वैज्ञानिक तथ्यहरुले जलवायु परिवर्तन र बिग्रँदो पृथ्वीको वातावरणको दर निकै डरलाग्दो र तीव्र स्तरमा बढिरहेछ भन्ने कुरा स्पष्ट पारेको छ ।

अहिलेका वयस्कहरुले भोगिरहेको भन्दा पनि गम्भीर र खतरनाक अवस्था भोलिको पुस्ताले भोग्नुपर्ने कुरा अब कसैले लुकाएर लुक्ने अवस्थामा छैन । त्यसको महसुस तत्काल या निकट भविष्यमा अहिलेका बालबालिका या किशोरकिशोरीहरुले गर्ने निश्चित छ । यो अवस्थाले उनीहरुमा चरम निराशा, अवाशाद, डर क्लेश र आफ्ना पूर्वज अर्थात हामीप्रति चरम घृणा गर्न बाध्य हुनेछन् ।
मानव सभ्यताको विकासक्रममा हाम्रा गल्ती र लोभ लालच र मुख्र्याइँले भोलिका पुस्ताहरुले दुर्दान्त कष्ट भोग्नुपर्ने र त्यही पुस्ताले हामीलाई चरम घृणा गर्नुपर्ने अवस्था आउनु कुनै पनि मानव सभ्यताका लागि उपयुक्त त पक्कै पनि हुन सक्दैन ।

यसको निराकरण सम्भव छ ?
अब यस अवस्थालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा सोच्न र कार्य गर्न निकै ढिलो भैसकेको छ । अगाडि बढ्नुबाहेक विकल्प छैन । अब हामीले धार्मिक र राजनीतिक अन्धविश्वासलाई त्यागेर जलवायु परिवर्तन मानवीय त्रुटि र अपराधले नै हो भनेर स्विकार्नुपर्ने बाहेक अब हामीसँग कुनै पनि विकल्प छैन ।
यो सत्य पनि हो सबै वैज्ञानिक तथ्यहरुले पनि यसैतर्फ स्पष्ट सङ्केत गर्छन् । वैज्ञानिक सुविधा र उपचार भने उपभोग गर्ने तर वैज्ञानिक तथ्यलाई कुनै धार्मिक अन्धविश्वास या राजनैतिक आस्थाको आधारमा स्विकार्दिन भन्ने पाखण्डबाट मुक्त हुने साहस र स्वतन्त्रता देखाउनुपर्ने बेला आइसकेको छ ।

पुँजीपति वर्गहरुले पनि अबको तात्कालिक आर्थिक उद्देश्यहरु मात्र होइन आर्थिक उद्देश्यको दिगोपनको आवश्यकतालाई पनि हेर्ने कि ?
भोलिको पुस्ताले उद्योगी घरानालाई आतंककारी दर्जा दिएर अर्को घृणाको पात्र नबनाओस् भन्नेतर्फ बेलैमा सोच्ने हो कि ? यो प्रश्नलाई मनन गर्नुपर्ने भएको छ । अब हामीले सुरु गर्नुपर्ने परिवर्तनलाई अहिले स्कुले बालबालिका र किशोरकिशोरीले आह्वान गरेका छन् । अब ढिलो नगरी लज्जाबोध नगरी यो आह्वानलाई स्वीकार गरेर उनीहरुलाई साथ दिने हाम्रो कर्तव्य हो र यो निर्विकल्प बाध्यता पनि हो । अझै पनि केही धार्मिक अन्धविश्वास, राजनीतिक आस्था र केही पुँजीपति वर्गका कुत्सित उद्देश्य प्राप्तिका लागि आफू र आफ्ना भावी पुस्तालाई बलिको बोको नबनाऊँ ।                                                                     स्रोतः विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुको सहयोगमा
 

प्रकाशित: १ पुस २०७६ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App